रोकिएन लाइसेन्स वितरणमा अनियमितता

कान्तिपुर संवाददाता

इटहरी — विदेशको लाइसेन्स 'नेपालीकरण' गरेवाफत यातायात व्यवस्था कार्यालय इटहरीका एक कर्मचारीले सेवाग्राहीबाट अतिरिक्त रकम लिएको खुलेको छ । 

लाइसेन्स नेपालीकरण गर्दा अनियमितता भएको भन्दै केही समय कडाइ गरिएको थियो। तर पछिल्लो समय लाइसेन्स नेपालीकरण गर्ने काम जारी छ।

कार्यालयका एक कर्मचारीले आवश्यक कागजातसहित प्रक्रिया पूरा गर्दा पनि रकम लिएको खुलेको हो। गतसाता एक सेवाग्राहीबाट कार्यालयका नायब सुब्बा डिल्लीराम नेपालले ३० हजार रुपैया लिएर विदेशी लाइसेन्सको नेपालीकरण गरेको कार्यालयकै एक कर्मचारीले बताए। रकम लिएलगत्तै केही सेवाग्राही र उपस्थित अन्यले हल्लीखल्ली गरेका थिए। केहीले भिडियोसमेत खिच्न थालेपछि नेपाल कार्यालयबाट निस्केर भागेका थिए।

भागेर केही परसम्म पुगेपछि उनलाई फिर्ता ल्याएर कार्यालय प्रमुख भीम गौतमको कार्यकक्षमा छलफल गरिएको थियो। त्यहीँ घटनाबारे हल्ला नगर्न भन्दै 'लेनदेन' मा कुरा गुपचुप बनाइएको कार्यालय स्रोतले जानकारी दिएको छ।

नायब सुब्बा नेपाल प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भइसके पनि यातायात कार्यालयमै बस्दै आएका थिए। उक्त प्रकरणपछि भने कार्यालय प्रमुख गौतमको सल्लाहमा तत्काल रवानापत्र बुझेर सरुवा भएको कार्यालय गएका छन्। मन्त्रालयका अनुसार वैशाख २६ गते हाजिर भएर उनी एक साताको विदामा बसेका छन्।

कार्यालय प्रमुख गौतमले उक्त प्रकरणबारेको प्रतिक्रियामा 'खासै केही नभएको' बताए। 'त्यस्तो खास केही भएको होइन,' उनले भने, 'कुरा मिलिसक्यो।' यसबारे उनले विस्तृतमा बताउन चाहेनन्। नायब सुब्बा नेपाल पटकपटकको प्रयासमा पनि सम्पर्कमा आउन चाहेनन्।

कार्यालयका कर्मचारी वाषिर्क रुपमा कति लाइसेन्स जारी भयो भन्ने तथ्यांक दिन समेत चाहँदैनन्। 'पत्र लेखेर ल्याउन' भन्दै उनीहरुले तथ्यांक दिन समय लाग्ने बताउने गरेका छन्।

उक्त कार्यालयमा केही सातायता करिब ६० वटा विदेशी लाइसेन्सको नेपालीकरण गरिएको कार्यालय स्रोतले जनाएको छ। सामान्य प्रक्रिया पूरा गरेपछि गरिदिनुपर्ने यो काम कर्मचारीले केही दिन झुलाएर पछि रकम लिएरमात्रै गरिदिने गरेका छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार विदेशको लाइसेन्स नेपालीकरण गर्न कुनै बेग्लै शुल्क लाग्दैन। विदेशको लाइसेन्स प्रमाणित गर्ने केही आवश्यक कागजात भए सहजै उक्त काम हुने उनले बताए। 'प्रक्रिया पूरा गरेपछि सहजै नेपालीकरण हुन्छ' उनले भने, 'कुनै अतिरिक्त रकम लाग्दैन।'

सधैं विवादमा
यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र लाइसेन्स अतिरिक्त रकम लिएर मात्र दिने गरिएको पटक पटक सार्वजनिक भएको छ।

कार्यालयका कतिपय कर्मचारीले लाइसेन्सका लागि लिइने परीक्षामा असफल भए पनि रकम लिएर लाइसेन्स बनाइदिने गरेका छन्। यातायात कार्यालयका कर्मचारीले दलालहरुमार्फत रकम लिएर लाइसेन्स बनाइदिने गरेको स्रोत बताउँछ। 'लिखित र ट्रायलमा फेल भएकालाई समेत लाइसेन्स दिने गरिन्छ,' स्रोतले भन्यो, 'प्रक्रिया पूरा गर्नका लागिमात्र परीक्षामा सहभागी गराउने गरिन्छ।'

स्रोतका अनुसार नयाँ लाइसेन्स बनाइ दिएबाफत प्रतिव्यक्ति १२ देखि ३० हजारसम्म असुल्ने गरिएको छ। मोटरसाइकलको १२ देखि १५ हजार, हल्का र हेभी सवारीको २० देखि ३० हजार रुपैयाँ लिने गरिएको छ।

आवश्यक प्रक्रिया र मापदण्ड पूरा नगरेकालाई समेत आर्थिक लेनदेनमा लाइसेन्स दिइने गरेको सरोकारवालाले बताए। नेपाल यातायात मजदुर संघ सुनसरीका अध्यक्ष राजेश श्रेष्ठका अनुसार बिचौलियाले नक्कली लाइसेन्स वितरण गर्ने गरेको समेत पाइएको छ। 'कागजपत्र लिएर गए पनि बिचौलिया बिना कामै हुँदैन। सीधै जाँदा समस्या हुन्छ,' उनले भने, 'त्यसैले बिचौलियाको प्रयोग बढी हुने गरेको छ।'

नेपाल यातायात मजदुर संघ केन्द्रका सल्लाहकार कमल राईले लाइसेन्स वितरणमा देखावटी रुपमा मात्र यातायात कार्यालयले कडाई गरेको आरोप लगाए।

'लाइसेन्स वितरणमा सामान्य कागजपत्र मिलाउनेदेखि कर्मचारीको समेत सेटिङ हुन्छ' नाम उल्लेख नगर्ने सर्तमा एक भ्यान चालकले भने, 'देखाउनका लागि मात्र कडाई गरिएको होे।' उनले २० हजार रुपैयाँ बुझाएर मात्र आफुले लाइसेन्स निकाल्न सकेको बताए।

कर्मचारी मिलेर रकम लिइ काम गर्ने अनि बाँडिचुँडी गर्ने गरेको विभिन्न प्रकरणका बेला सार्वजनिक हुने गरेको छ। यसरी सल्लाहमा मिल्ने कर्मचारी अन्यत्र सरुवा भएको लामो समयसम्म पनि थामथुम पारेर कार्यालयमै बस्ने गरेका छन्। नमिल्नेहरुको भने छोटै समयमा सरुवा हुने गरेको कार्यालयका एक पूर्वकर्मचारीले बताए।

अख्तियारमा उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका उपसचिव ज्ञानेन्द्र ढकालले लाइसेन्स वितरणमा अनियमितता हुने गरेको विषयमा उजुरी आएको बताए। 'लाइसेन्स वितरणमा अनियमितता भएको विषयमा उजुरी आएको छ' उनले भने, 'यसबारे हामी अनुसन्धान गरिरहेका छौं।'

लाइसेन्स वितरणमा अनियमितता भएकोबारे गुनासो व्यापक भएपछि प्रदेश सरकारले पनि चासो देखाएको थियो। केहीअघि प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले 'पैसा खाएर लाइसेन्स बाँड्ने काम तत्काल रोकिनुपर्ने' बताएका थिए।

करोडौं गैरकानुनी आर्जन
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध गत साता विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले अधिकारीमाथि ५ करोड १० लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको छ।

करिब ७ वर्ष यातायात कार्यालय इटहरीमा कार्यरत रहँदा उनले ८८ लाख रुपैयाँ वैध आर्जन गरेको र अरू आर्जनको स्रोत नभेटिएको अख्तियारको दाबी छ। उनले आफ्नो आर्जनबाट जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, विभिन्न बैंकमा रकम राख्नेलगायत काम गरेको अख्तियारको छानबिनबाट खुलेको थियो।

अख्तियारले अधिकारीमाथि ६१ करोड रुपैयाँ अनियमितता गरेको भनी २०७४ असार ४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दाको अनुसन्धान सुरु भएपछि फरार रहेका उनी चार महिनापछि कात्तिक २० गते राजधानीमा पक्राउ परेका थिए।

उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अख्तियारको दाबी थियो। २०७०/७२ को अवधिमा राजस्व दाखिला नगरेको आरोपमा अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको हो।

त्यतिबेला अख्तियारले तीनजना उपसचिव, दुई अधिकृत र तीन लेखापाल गरी ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अधिकारीले बयानका क्रममा आफू एक्लैले अनियमितता नगरेको बताएका थिए।

प्रकाशित : जेष्ठ २, २०७६ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

झुण्डिएकाे अवस्थामा किशोरीकाे शव फेला

कान्तिपुर संवाददाता

बैतडी — मेलौली नगरपालिका ७ मा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । मेलौली ७ बनालीकी १९ वर्षीया सावित्री चन्दको शव घर नजिकै रुखमा झुण्डिएको अवस्थामा बुधबार साझँ फेला परेको प्रहरीले जनाएको छ । 

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा १२ कक्षा अध्ययनरत ती छात्राको मृत्युको कारण खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ 'घटनाबारे अनुसन्धान भइरहेको छ, अहिले केही भन्न सकिने अवस्था छैन,' जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए।

मृतक किशाेरीको कोठामा भेटिएकाे सामानका आधारमा मेलौली-१ का प्रशान्त क्षेत्रीलाई पक्राउ गरिएको छ ।

किशाेरीकाे काेठामा प्रशान्तको पर्स फेला परेको आधारमा अनुसन्धानका लागि पक्राउ गरेकाे गिरीले बताए बताए। 'पर्समा नागरिकता, फोटो र १० हजार नगद पनि रहेको छ। त्यही आधारमा अनुसन्धानका लागि प्रशान्तलाई पक्राउ गरेका हौं,' प्रहरी नायब उपरीक्षक गिरीले भने।

प्रकाशित : जेष्ठ २, २०७६ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्