कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दोहोरो नागरिकताबारे छानबिन सुरु

विराटनगर — भारत र नेपाल दुवै देशको नागरिकता लिने सुनसरीको इनरुवाका छगनलाल शर्माका विषयमा प्रशासनले छानबिन सुरु गरेको छ । 

दोहोरो नागरिकताबारे छानबिन सुरु

व्यापारी शर्माले दोहोरो नागरिकता लिएको समाचार प्रकाशन भएपछि सुनसरी प्रशासनले छानबिन सुरु गरेको हो । छगनलाललाई झिकाउन जिल्ला प्रशासन कार्यालयले सोमबार पत्र पठाइसकेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।


दोहोरो नागरिकताका विषयमा अनुसन्धान भइरहेको बताउँदै उनले शर्माको बयानपछि परराष्ट्र मन्त्रालयमार्फत भारतमा देखिएका कागजपत्र झिकाइने जानकारी दिए ।


‘कान्तिपुरमा समाचार आएपछि हामीले थाहा पायौं,’ प्रजिअ उप्रेतीले भने, ‘छगनलाललाई झिकाउन पत्र काटिसकेका छौं । यस विषयमा उनको बयान लिइसकेपछि आवश्यक कारबाही गर्छाैं ।’ इनरुवा बजारमा सुरज फेन्सी स्टोर नामक कपडा पसल चलाएर बसेका शर्माले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएको देखिन्छ ।


नेपालको नागरिकता नम्बर ६२५६/२७१९ रहेका उनको भारतको निर्वाचन आयोगको वेबसाइटमा ०३३०५१९ नम्बरको मतदाता परिचयपत्र भेटिएपछि उनले दोहोरो नागरिकता राखेको खुलेको हो ।


छगनलालविरुद्ध यसअघि पनि विभिन्न चरण उजुरी परेका थिए । डकुमेन्ट नम्बर डीडी ७४००५२६८५ एनपीबाट सन् २०१७ जुलाई महिनाको २३ तारिखमा गृह मन्त्रालयमा र डीडी ७४००५२६५४ एनपी नम्बरबाट सतर्कता केन्द्रमा समेत छगनलालको दोहोरो नागरिकता विषयमा उजुरी परेको छ ।


त्यस्तै, उनको दोहोरो नागरिकताका विषयमा २०७४ साउन ८ गते ९५१ दर्ता नम्बरको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा पनि उजुरी दर्ता भएको छ । त्यस्तै, अख्तियारको इटहरीस्थित कार्यालयमा पनि १६५ दर्ता नम्बरको उजुरी २०७४ साउन ९ गते नै परेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले भने त्यसबेला उजुरी लिन नमानेको स्रोतले बतायो ।


दर्ता भएका उजुरीउपर पनि अहिलेसम्म कुनै कारबाही नभएको पाइएको छ । अख्तियारको इटहरीस्थित कार्यालयमा छगनलालको दोहोरो नागरिकताका विषयमा उजुरी आएको र त्यसबारे फाइल गृह मन्त्रालय पठाइएको प्रवक्ता ज्ञानेन्द्र ढकालले बताए । कार्यालयको तर्फबाट आवश्यक कारबाही टुंग्याएर थप कारबाहीका लागि लागि २०७५ साउनमा गृह मन्त्रालय पठाइसकेको जानकारी उनले दिए ।


२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका शर्माले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ । उनले सन् २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको देखिएको छ । नेपालमा १६७१९७१ नम्बर मतदाता परिचयपत्र लिएका उनले इनरुवाको भगवती माविमा रहेको निर्वाचन केन्द्रबाट समेत मतदान गरेको देखिएको छ ।


भारतीय नागरिकले कुनै पनि अवस्थामा वंशजको नागरिकता भने नपाउने प्रजिअ उप्रेतीले बताए । ‘जिल्ला प्रशासन कार्यालयले वंशज र वैवाहिक अंगीकृत नागरिकता मात्रै वितरण गर्छ । अंगीकृत नागरिकता गृह मन्त्रालयले नै वितरण गर्छ तर यसका लागि धेरै प्रक्रिया छन्, जोकोहीले सजिलै लिन सक्दैनन्,’ उनले भने, ‘छगनलालका विषयमा अनुसन्धान भइरहेको छ ।’


छगनलालका तीन जना छोरा र उनीहरूका श्रीमतीको समेत दोहोरो नागरिकता लिएका छन् । नेपाल नागरिकता ऐनमा दोहोरो नागरिकता लिनेलाई ५ वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवानाको व्यवस्था छ ।


एक पक्राउ

मोरङ - नेपाल र भारतको दोहोरो नागरिकता लिएका विराटनगर ९ का ३६ वर्षीय विमलेस साहलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर ३ खार्जी ढाटमा सवारी जाँच गर्ने क्रममा साहको पर्सबाट नेपाली सवारीचालक अनुमतिपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए । साहको ०२-५०४१९९ नम्बरको सवारीचालक अनुमति पत्रसँगै भारतको विहार राज्य, अररिया जिल्ला मनिकपुर बुर्जा चोक वडा ८ उल्लेख भएको आधार कार्ड बरामद भएको हो ।


विराटनगरमा खाद्यान्न सप्लायर्स रहेका साहले २०५५ भदौ १९ मा जिल्ला प्रशासन कार्यालय मोरङबाट ३७४७३ नम्बरको नागरिकता लिएको पाइएको छ । प्रहरी नायब उपरीक्षक श्रेष्ठले साहको परिवारिक पृष्ठभूमिलगायत विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए ।


प्रकाशित : जेष्ठ २, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?