विश्वविद्यालयमा राष्ट्रपतिलाई कुलपति बनाउन सुझाव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वविद्यालयमा राष्ट्रपतिलाई कुलपति बनाउन सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको मापदण्ड तयार पार्न गठित कार्यदलले राष्ट्रपति र उपराष्ट्रपतिलाई कुलपति बनाउन सिफारिस गरेको छ । 

शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालको संयोजकत्वमा गठित कार्यदलले ठूला विश्वविद्यालयमा राष्ट्रपति र साना विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपतिलाई कुलपति बनाउन सरकारलाई सुुझाव दिएको हो । विषयगत मन्त्रालयका मन्त्रीलाई सहकुलपति बनाउन सिफारिस गरिएको छ । हाल विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था छ । ‘प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले विश्वविद्यालयलाई पर्याप्त समय दिन सक्दैनन् । त्यसैले राष्ट्रपति र उपराष्ट्रपतिलाई कुलपति बनाउन सुझाव दिएका हौं,’ कार्यदलका एक सदस्यले भने ।

कार्यदलले त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान र खुला विश्वविद्यालयमा राष्ट्रपति र अन्य विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपराष्ट्रपतिलाई कुलपति बनाउन प्रस्ताव गरेको हो । विश्वविद्यालयमा शिक्षामन्त्री र प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीलाई सहकुलपति बनाउन सिफारिस गरिएको छ ।


कार्यदलले उपकुलपति, सेवा अयोगका अध्यक्ष, रेक्टर, रजिस्ट्रार डिन, कार्यकारी निर्देशक र क्याम्पस प्रमुखलगायत पदाधिकारी प्रतिस्पर्धाबाट चयन गर्न सिफारिस गरेको छ । विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप लाग्दै आएको छ । उपकुलपति नियुक्तिका लागि ७ सदस्यीय सर्च कमिटी बनाएर सार्वजनिक रूपमा दरखास्त आहवान गर्नुपर्ने कार्यदलको सुझाव छ ।


दरखास्त दिनेमध्ये उत्कृष्ट ३ जनाको नाम उक्त कमिटीले सिफारिस गर्ने व्यवस्था गर्न सुझाव दिइएको छ । कुलपतिले विश्वविद्यालय अनुदान आयोग अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय सर्च कमिटी गठन गर्नुपर्ने सुझाव छ । उपकुलपति बन्न चाहने व्यक्तिले सर्च कमिटीलाई कार्ययोजना पेस गर्नुपर्ने भनिएको छ ।


कार्ययोजनालाई विज्ञ समूहले मूल्यांकन गरी उपकुलपतिमा नियुक्तिका लागि सिफारिस गर्ने मापदण्डको आवश्यकता कार्यदलले औंल्याएको छ । ‘कार्यदलले सिफारिस गरेको मापदण्ड र आधारमा पारदर्शी, योग्य र राजनीतिक हस्तक्षेपमुक्त पदाधिकारी नियुक्त हुन सक्छन्,’ प्रतिवेदनमा भनिएको छ । सेवा आयोगको अध्यक्ष चयनका लागि पनि उपकुलपति छनोटको जस्तै मापदण्ड तय गर्न सिफारिस गरिएको छ ।


शैक्षिक योग्यता, प्रँध्यापन अनुभव, ज्येष्ठता, व्यवस्थापकीय कार्य अनुभव, प्रँज्ञिक अनुसन्धान र कार्ययोजना प्रस्तावलाई उपकुलपतिसहित पदाधिकारी नियुक्तिको मापदण्ड तय गरिनुपर्ने सुझाव छ । रेक्टर र रजिस्ट्रार नियुक्तिमा उपकुलपतिको संयोजकत्वमा छुट्टाछुट्टै सर्च कमिटी गठन गरेर सिफारिस गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सर्च कमिटीले सिफारिस गरेका ३ मध्ये एक जनालाई कुलपतिले रेक्टर र रजिस्ट्रार नियुक्त गर्न सक्ने सुझाव छ । प्रतिवेदनमा ती पदाधिकारीको न्यूनतम योग्यतासमेत तोकिएको छ । डिन, कार्यकारी निर्देशक, स्कुल, संकाय, संस्थान, प्रमुखसमेत सर्च कमिटीको सिफारिसका आधारमा मात्र नियुक्ति गर्नुपर्ने व्यवस्था गर्न भनिएको छ ।


कार्यदलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंह, अधिवक्ता इन्द्रप्रसाद अर्याल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारी मधुर बस्नेत, शिक्षा मन्त्रालयका कानुन उपसचिव शंकरबहादुर केसी, विश्वविद्यालय अनुदान आयोगबाट डुलराज चिमरिया र शिक्षा मन्त्रालयका उपसचिव उपसचिव विष्णुप्रसाद मिश्र सदस्य थिए । कार्यदलले सिफारिस गरेअनुसार पदाधिकारी नियुक्तिका लागि विश्वविद्यालय र प्रतिष्ठानहरूको ऐन संशोधन गर्नुपर्नेछ ।


प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाइएको संयोजक लम्सालले जानकारी दिए । सरकारले संसद्मा लगेको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा भने सबै विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान छ । राष्ट्रिय सभाबाट पारित भइसकेको उक्त विधेयक प्रतिनिधिसभामा छलफल हुन बाँकी छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

कामीरिता भन्छन् - '२५ पटक आरोहण गरेर मात्रै विश्राम'

कामीरिताको कीर्तिमान, सर्वोच्च शिखरमा २३ औं पटक
सुरज कुँवर

काठमाडौँ — सोलुखुम्बुको थामेका ४९ वर्षीय कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै बुधबार २३ औं पटक सगरमाथा चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएका छन् । गत वर्ष जेठ २ गते बुधबारकै दिन उनले २२ औं पटक सगरमाथा आरोहण गरेका थिए । 

‘कामीरिता बुधबार बिहान ७:५० मा सगरमाथा चुचुरामा पुगेका हुन्,’ आधार शिविरबाट सम्पर्क अधिकृत मीरा आचार्यले कान्तिपुरसँग भनिन् । कामीरिता मंगलबार साँझ ८ बजे ८ हजार मिटर उचाइमा रहेको साउथकोलबाट चुचुराका लागि हिँडेका थिए । करिब १२ घण्टापछि उनी बिहान चुचुरामा पाइला राख्न सफल भएका हुन् ।

उनका साथमा निमा वाङदी शेर्पा पनि रहेको सम्पर्क अधिकृत आचार्यले बताइन् । ८८४८ मिटर उचाइको चुचुरोबाट उनी बुधबार दिउँसो ६ हजार २ सय मिटरको दोस्रो शिविरमा ओर्लिसकेको उनी आबद्ध नेपाली कम्पनी सेभेन समिट टे«क्सका अध्यक्ष मिग्मा शेर्पाले बताए । ‘उनी आधार शिविरमा फर्केर फेरि २४ औं पटक आरोहण गर्ने मुडमा छन्,’ अध्यक्ष मिग्माले कान्तिपुरसँग भने, ‘यसबारे बिहीबार टुंगो लगाउँछौं ।’

६६ वर्षअघि न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक आरोहण गरेको सगरमाथामा यस सिजनका लागि मंगलबार दिउँसो मात्रै चुचुरोसम्म डोरी टाँग्दै बाटो बनाइएको थियो । बुधबार कामीरितासहित १४ चिनियाँ र १० नेपाली शेर्पा चुचुरामा पुग्न सफल भएको कम्पनीका अध्यक्ष मिग्माले बताए ।
कामीरितालाई सेभेन समिटले दुई वर्षका लागि वार्षिक ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ ।

‘यो रकममध्ये मैले सगरमाथा आरोहणका लागि २० हजार डलर (२२ लाख ५१ हजार हाराहारी) र बाँकी १० हजार (११ लाख २५ हजार रुपैयाँ) मनास्लु हिमाल अरोहण गरेबापत लिन्छु,’ सगरमाथातर्फ लाग्नुअघि कामीरिताले कान्तिपुरसँग भनेका थिए । उनका अनुसार दुई वर्षको समय अबको हिउँदयाममा सकिँदै छ ।

उनी यो कम्पनीमा अनुबन्ध हुनुअघि अमेरिकी कम्पनी अल्पाइन एसेन्टसँग आबद्ध थिए । कामीरितापछी सर्वाधिक सगरमाथा आरोहण गर्नेमा सोलुखुम्बुकै आप्पा शेर्पा, फुर्वातासी शेर्पा र ङिमा नुरु शेर्पा छन् । उनीहरूले २१ पटक चुचुरामा पाइला राखिसकेका छन् । सन् २०११ मा २१ औं पटकको कीर्तिमानी राखेर आप्पाले आरोहणबाट विश्राम लिइसकेका छन् । उनीपछि २०१३ मा फुर्वातासी आप्पाकै हाराहारीमा पुगेका थिए ।

२४ वर्षको उमेर छँदा २०५१ सालमा पहिलो पटक सगरमाथा आरोहण गरेका कामीरिताले २५ पटक आरोहण गरेर मात्रै विश्राम लिने सार्वजनिक गरेका छन् । एक पटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चुचुरामा पुगेका कामीरिताले २२ पटक नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा चुचुरामा पाइला राखेका हुन् । कामीरिता चाबहिल सरस्वतीनगरमा पत्नी, छोरा र छोरीका साथ बस्दै आएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×