कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मन्त्रीले कर्मचारीलाई थर्काउँदै भने, ‘थुन्दिम् ?’

राजु चाैधरी

काठमाडौँ — समाचार संकलनका क्रममा म मन्त्रालय पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको चर्काे आवाज आयो ।

मन्त्रीले कर्मचारीलाई थर्काउँदै भने, ‘थुन्दिम् ?’

मिति :२०७६ जेठ १

स्थान:उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

समय:दिउँसो ३ बजे


सहसचिव नवराज ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ म । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको चर्काे आवाज आयो । तत्काल त्यहाँ पुगें । केही कर्मचारीले निजी सचिवले घूस खाएर सरुवा गरेको आरोप लगाइरहेका थिए । उनीहरूले उद्योग विभागमा सरुवा गर्नुपर्नेको नाम काटेको आरोप लगाए । आधिकारिक ट्रेड युनियनका शोभाकार रेग्मी र विश्वबन्धु रेग्मीले घूस खाएरै उद्योग विभागमा सरुवा नगरिएको आरोप लगाइरहेका बेला अरू कर्मचारी पनि टेबल ठोकेर चर्को स्वर गरिरहेका थिए । यत्तिकैमा मन्त्री यादव जंगिँदै बाहिर निस्के ।


मन्त्री यादव : किन बबाल गरेको ? झगडा गर्ने को हो ?


कर्मचारी : हैन मन्त्रीज्यू, बबाल गरेकँ होइनौं हामीले ।


मन्त्री : यहाँ नेतागिरी गर्ने होइन । कर्मचारी हो भने कर्मचारीजस्तै काम गर्ने ।


स्वकीय सचिव सन्तोष बिष्ट : उहाँले (आचार्यतिर देखाउँदै) पैसा खाएको के प्रमाण छ ? भन्नू त ।


मन्त्री : पैसा खाएको भए प्रमाण जुटाउनुस् अहिल्यै । ढोका बन्द गरिहाल्नु त । प्रमाण ल्याएपछि मात्रै ढोका खोल्नू, नभए यहीं थुन्नू ।


(बाहिर निस्कन खोजेका कर्मचारीलाई मन्त्रीले कठालोमा समातेर भित्र ताने ।)

कर्मचारी : किन ढोका बन्द गर्ने हामीलाई ?


(कोठाभित्र चर्काचर्की/होहल्ला झनै बढ्यो । ‘ठोक/ठोक’ भन्ने आवाज सुनियो ।)


मन्त्री : हात हाल्ने ? मेरो कर्मचारीमाथि हात हाल्ने ?


कर्मचारी : मन्त्रीज्यू । उहाँले हात हाल्नुभएको छैन, हामी हजुरसँग कुरा गर्न पछि आउँछौं (बाहिर निस्कन खोज्दै) ।


कोठाबाट आवाज आउँछ : नराम्रो काम गरेबापत हटाएको कर्मचारीलाई उद्योग विभागमा लगियो । गृहले घूस खायो भनेर हटाइएको मान्छेलाई त्यहाँ उच्च मूल्यांकन गरेर पठाइयो ।

(अर्का पीए यज्ञ खरेलले मन्त्रीलाई कार्यकक्षमा जान भने)

मन्त्री : तिमी बीचमा किन ? तिम्लाई पिटम् ?


फेरि मन्त्रीको स्वर : यो मन्त्रालयमा कसले घूस खाएको छ ? प्रमाण नभएसम्म थुन्छु । नेतागिरी गर्ने हो भने ठीक ठाउँमा (राजनीतिमै) आउनुपर्‍यो ।


(ढोका बन्द गर्ने/खोल्ने क्रम भई नै रहेको थियो । मन्त्री यादवले फेरि ढोका बन्द गर्न भनेसँगै कर्मचारीहरू प्रमाण ल्याउँछौं भन्दै भागाभाग गरे ।)


निजी सचिव आचार्यले तलबाट प्रस्ताव आए पनि निजी सचिवले नाम काटेको आरोप लगाइएको तर्क गरे । ‘सरुवाबारे असन्तुष्ट भएको सुनेका थिएँ, नाम काट्नु भयो भनेर आरोप लगाए,’ उनले भने, ‘सरुवा हुन नदिएको, नाम काटेको आरोपमा आधिकारिक ट्रेड युनियनका साथीहरू चर्काचर्की गरे ।’


मन्त्रालयका अनुसार दुवै कर्मचारी मन्त्रालयकै हुन् । हाल ती कर्मचारीलाई वाणिज्य विभागमा सरुवा गरिएको छ । स्रोतका अनुसार उनीहरूले सुरुमा उद्योग सचिव यमकुमारी खतिवडासँग भेटेका थिए । खतिवडाले आफ्नो कुनै हात नभएको बताएपछि मन्त्रीसँग भेट्न चाहेका थिए । मन्त्रीसँग पनि भेट हुन नसकेपछि निजी सचिव आचार्यसँग विवाद भएको हो । मन्त्रालयका कर्मचारी प्रशासन शाखा उपसचिव दुर्गाप्रसाद भुसालले सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएकालाई रिक्त रहेको स्थानमा खटाएको बताए ।


मन्त्री यादवले कांग्रेसका कर्मचारीहरू उद्योग विभागमा जान खोजेको र पदस्थापना नपर्दा विरोध गरेको बताए । ‘निजी सचिवलाई धम्काउने, टेबल ठटाउने, कालोमोसो दल्छु भन्ने गरेका थिए,’ उनले कान्तिपुरसित भने, ‘म गएर तपाईंहरू बबाल नमच्चाउनुस्, घूस खाएका छन् भने प्रमाण ल्याउनुस्, यहाँ नेतागिरी गर्ने होइन, प्रमाण ल्याए कारबाही गर्छु तर प्रमाण चाहिन्छ भनें । त्यसपश्चात् उनीहरू हिँडे ।’


उनले ती कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘कर्मचारी संगठनमा भएकाहरू मन्त्रालयमा आएर दादागिरी गर्ने काम भइरहेको छ, त्यो मेरो मन्त्रालयमा चल्दैन,’ उनले भने, ‘जुनसुकै पक्ष होस् काम गर्नुपर्छ ।’


गृह मन्त्रालयबाट हटाइएका उपसचिव विनोद खड्कालाई उद्योग मन्त्रालयले आर्थिक चलखेल गरी उद्योग विभागमा पदस्थापन गरेको, शाखा अधिकृत आर्जन राईलाई अध्ययन बिदा सकेको वर्ष दिन नपुग्दै उद्योग विभागमा सरुवा गरेको भन्दै कर्मचारीहरूले विरोध जनाएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?