कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

किन घोचपेचमै उत्रिए दाहाल र पोखरेल ?

नेकपामा वैचारिक कार्यदिशाको विवाद

काठमाडौँ — एकताको झन्डै एक वर्ष पुगिसक्दा पनि वैचारिक दिशा तय गर्न नसकेको भन्दै नेकपाभित्र विवाद बढेको छ । नेताहरूबीचको विवाद बुधबार सार्वजनिक मञ्चबाटै छताछुल्ल भएको छ । आउँदो शुक्रबार एकता दिवस मनाउने तयारीमा रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच बुधबार युवासंघको मञ्चमा चलेको घोचपेचले आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ ।

किन घोचपेचमै उत्रिए दाहाल र पोखरेल ?

नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतले पार्टीको कार्यशैली र वैचारिक कार्यदिशामाथि यसअघि नै पटकपटक प्रश्न उठाएका थिए ।


पार्टी सञ्चालन शैलीप्रति आन्तरिक रूपमा असहमति राख्दै आएका उपप्रधानमन्त्री पोखरेलले बुधबार सार्वजनिक मञ्चबाटै वैचारिक रूपमा पार्टी स्पष्ट नहुने हो भने तासको महलझैं ढल्न सक्ने चेतावनी दिए ।


‘विचारमा स्पष्ट नभएको कम्युनिस्ट पार्टीले दुनियाँमा दुर्भाग्यको स्थिति भोग्नुपर्‍यो, हामी त्यो दुर्भाग्य भोग्न चाहन्नौं, हामीले विचारमा स्पष्ट भएको कम्युनिस्ट पार्टी चाहेका हौं,’ उनले भने, ‘हामीले संसारभर देख्यौं, कम्युनिस्ट पार्टीेहरूले ठूल्ठूला बलले राज्यसत्ता कब्जा गरे । शासनसत्ता सञ्चालन गरे । कुनै पनि पुँजीवादीको एउटा पनि गोली नलागी तासको महलझैं ढले । हाम्रो कम्युनिस्ट पार्टी कुनै हालतमा त्यस्तो हुनुहुन्न । हामी सबैले खबरदारी गर्नुपर्ने जरुरी छ ।’


पोखरेलले पार्टी तजबिजी हिसाबले चल्न थालेको बताएका थिए । ‘तजबिजी हिसाबले चल्ने पार्टी अघि बढ्न सक्दैन,’ उनले भने, ‘हामी त नेता भइरहौंला तर आन्दोलन कसरी अघि बढ्छ, कसरी नेतृत्व हुन्छ भन्ने प्रश्नको हल हुन जरुरी छ । विचार, संगठन र नेतृत्वको प्रश्नमा सोलोडोल कुरा गर्न मन पराउँछौं, भइहाल्छ नि, चलाउँछौं, चलिहाल्छ नि भन्छौं । यसरी हुँदैन ।’


उनले सुखी नेपाली समृद्ध नेपाल निर्माणको लक्ष्य बोकेर हिँड्ने तर त्यसका लागि जाने राजनीतिका वैचारिक बाटो के हो भन्ने स्पष्ट नहुँदा कहीं पनि नपुगिने तर्क गरे । ‘वैचारिक रूपमा स्पष्ट भइएन भने न हाँस न कुखुराको चाल हुन्छ,’ उनले भने ।


वैचारिक रूपमा स्पष्ट नभएको पार्टीले कार्यभार पूरा गर्न नसक्ने उल्लेख गर्दै पोखरेलले झन्डै आधा घण्टा निकै आक्रामक अभिव्यक्ति दिएपछि अध्यक्ष दाहालले झन्डै १५ मिनेटसम्म त्यसको जवाफ दिए । वैचारिक आधारबिनै पार्टी एकता भयो र कुनै राजनीतिक दिशा छैन भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । ‘हामीले यो सिद्धान्त, यो विचार भनेर धेरै माथापच्ची गरेको भए पार्टी एकता हुने थिएन, यो सरकार बन्ने थिएन । त्यसैले यो एकतामा नेतृत्व र विचार दुवैको भूमिका थियो,’ दाहालले भने, ‘विचारको कुनै भूमिका थिएन भन्ने ठानियो भने गलत हुन्छ ।’


दाहालले एकताकै जगमा विचार निर्माण भइरहेकाले यसलाई जडसूत्रवादी ढंगले नबुझ्न आग्रह गरे । तत्कालीन एमालेले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तको वकालत गर्ने नेता पोखरेललाई कटाक्ष गर्दै दाहालले विचार भन्ने कुरा कुनै अमूर्त नभएको बताए ।


‘माक्र्सवाद विचार दोहोर्‍याइरहने कुरान र बालबलजस्तो होइन,’ दाहालले भने, ‘यसलाई निरन्तर विकास गर्नुपर्छ । अनि मात्र त्यसले मानवजातिको विकास गर्छ ।’ एउटै मात्र विचार सही भनिरहेको भए अहिलेको अवस्थामै नआउने उल्लेख गर्दै उनले निरन्तरतामा क्रमभंगता गरेको दाबी गरे ।


उनले कम्युनिस्ट पार्टीभित्र विचार शुद्धताको नाममा जडसूत्रवादी प्रवृत्ति हुर्केको विगत सम्झाए । दाहालले एमाले छुट्टै दल रहेका बेला आफूले त्यसका नेताहरूलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको प्रसंग पनि कोट्याए । माधव नेपाल, झलनाथ खनाल र दुवै पटक केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफ्नै भूमिका रहेको दाबी गर्दै उनले त्यसलाई ख्याल गर्न आग्रह गरे । पूर्वएमाले पृष्ठभूमिका युवाको बाहुल्य रहेको मञ्चमा दाहालले बाँकी जीवन पनि कुनै न कुनै त्याग र क्रमभंगता गरेर बिताउन चाहेको बताए ।


झन्डै तीन घण्टा चलेको कार्यक्रममा मुख्य वैचारिक विवाद दाहाल र पोखरेलबीच भए पनि पार्टी अस्पष्ट रहेको विषयमा वरिष्ठ नेता माधव नेपालले पनि कुरा उठाए । ‘समृद्धिको यात्रा, समाजवादको लक्ष्य भनेर हिँडेका छौं । हामीले परिकल्पनाको समाजवाद के हो, कस्तो हो,’ नेपालले भने, ‘समृद्धि भनेको टाटाबाठा र मुट्ठीभरका व्यक्तिका लागि मात्र होइन, त्यसभित्र रोजगारी, गाँसबास, कपास र सम्मानका विषयहरू जोडिएको हुनुपर्छ ।’ यसमा जोड्ने काम कति गर्न सकियो भन्ने समीक्षा हुनुपर्ने नेपालको धारणा थियो ।


‘राजनीतिक वैचारिक कार्यदिशाका बारेमा आवश्यक छलफल गर्नुपर्छ,’ नेपालले भने, ‘जनताको दु:खकष्टमा साथ दिएनौं भने जनताले हामीलाई मन पराउँदैनन् ।’ उनले अर्काले भनेको सुन्ने बानी हटेको उल्लेख गर्दै बोल्ने कम, सुन्ने बढी गर्न नेतृत्वलाई सचेत गराए ।


अर्का वरिष्ठ नेता झलनाथ खनालले दुवै पार्टीले तय गरेको इतिहासको जगमा अब नयाँ वैचारिक बहस अघि बढाउनुपर्ने बताए । उनले समाजवादी क्रान्तिका लागि बहस केन्द्रित हुनुपर्ने धारणा राखे ।

प्रकाशित : जेष्ठ २, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?