कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोसेली ‘युरिया’

आनन्द गौतम

ताप्लेजङ — फुङलिङ नगरपालिका ९, हाङदेवाका वैकुण्ठ न्यौपानेले झापा चारआलीमा रहेकी छोरीलाई फोनबाट युरिया मल पठाइदिन आग्रह गरे । ‘दाजु बिर्तामोडमा आएको छ, यो पटक तिमीले सधैं पठाएजस्तो आँप, अंगुर पर्दैन, भेट्यौ भने युरिया मलचाहिँ एक बोरा पठाइदेऊ,’ उनले भने ।

छोरीले पनि कृषि सामग्री संस्थानबाट आफ्नै बालीमा लगाउन निकालेको १ बोरा पठाइदिइन् । वैकुण्ठ भन्छन्, ‘अहिले यो सबैभन्दा उत्तम कोसेली भइदियो ।’ वैकुण्ठकै जस्तो आफन्तले तराईबाट पहाड उक्लनेले यति बेला चिनी, चिउराको साटो १०/१५ केजी मल कोसेलीका रूपमा बोकेर आउन थालेका छन् ।


मगाउनेले पनि त्यसै गर्न थाले । छिमेकी चन्द्र कालिकोटेले जिल्लामा नपाएपछि आफूले त्यसैगरी मगाएको तर आइनपुगेको सुनाए । मकै गोड्ने बेला मलको हाहाकार भएपछि पहाडमा बस्ने आफन्तको कोसेलीका रूपमा पहिलो रोजाइ युरिया मल भएको छ । यतिबेला मकैलाई मल दिने बेला भएको छ । दोस्रो पटक मकै धमाधम गोड्ने बेला भएको । मकै उम्रिएको एक महिनापछि पहिलो पटक गोठे मल लगाएर गोडिन्छ ।


त्यसको डेढदेखि २ महिनापछि रासायनिक मल लगाएर र मकैको बोटको फेदलाई माटोले छोपिन्छ । ताप्लेजुङ, पाँचथर, तेह्रथुमलगायत पहाडी जिल्लाका किसानले मकैमा धान चमर निस्किएपछि मल लगाउँछन् । त्यतिबेला घोगा लाग्न सुरु भएको हुन्छ । मलको सहायताले राम्रो दाना लाग्ने बुझाइ किसानको छ ।


यो बेला मल लगाउन नसके मकै पहेंलो हुने र राम्रो दाना नलाग्ने हुन्छ । ताप्लेजुङलाई वार्षिक कम्तीमा ७ सयदेखि १ हजार टनसम्म युरिया मल आवश्यक पर्छ । कृषि सामग्री संस्थान झापा बिर्तामोडका अनुसार यो वर्ष बल्ल २१ टन मल निकासा भएको छ ।


अनुदानको मल नभएकाले कम मात्रै दिन सकिएको संस्थानले जनाएको छ । मल आयात भने कृषि सहकारी संस्थाले गर्छन् । कृषि ज्ञान केन्द्रको सिफारिसमा सहकारीले भित्र्याउने गरेका हुन् ।


यसअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मलको व्यवस्थापन गर्दै आएको थियो । कृषिले पनि सहकारीमार्फत कृषकसम्म पुर्‍याउँथ्यो । पहाडमा गहुँ, मकै र चैते धानमा रासायनिक मल लगाइन्छ । हिउँदे धानमा भने यहाँका किसानले रासायनिक मल लगाउँदैनन । मुख्य गरी मकैमा अधिकांशले प्रयोग गर्छन् ।


कञ्चनजंघा सहकारी संस्थाका अध्यक्ष चन्द्र यवागुका अनुसार प्रतिकिसान १० देखि १५ किलोसम्म मल वितरण गरिएको छ । गत वर्ष ५ सय बोरा मल ल्याएको सहकारीले यो वर्ष जम्मा ५० बोरा मात्रै ल्याएको उनले बताए । संस्थानमा मल नपाएपछि साल्ट ट्रेडिङ कम्पनीबाट ल्याएको उनले बताए । मल पर्याप्त नभएको भन्दै झापाबाटै नदिए पनि सहकारी ल्याउन नसकेका हुन् ।


ग्रामीण क्षेत्रमा पनि पुर्‍याउने उद्देश्यले कृषि ज्ञान केन्द्रले सहकारी भने गाउँगाउँकालाई पनि छनोट गरेको छ । अबको १५ दिन पनि मल नपाए मकै सबै फाँडा हुने फुङलिङ नगरपालिका ३ का रुद्र बराल बताउँछन् । ६० रोपनीमा मकैबाली लगाएका बरालले अहिलेसम्म १२ किलो पाएको बताए । पर्याप्त नभएकाले दिनहुँ सदरमुकाम आएर मल सोधखोज गरिरहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?