कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उद्योगको जग्गामा घरटहरा

उदयपुर — त्रियुगा नगरपालिका ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको जग्गा अतिक्रमण गरी बनाइएका दर्जन बढी घर, टहरा मंगलबार भत्काइएको छ । 

भूमाफियाले उद्योगको जग्गा कब्जा गर्ने उद्देश्यले सर्वसाधारण प्रयोग गरी घरटहरा बनाउन लगाएका हुन् । अतिक्रमण गरिएको जग्गा सगरमाथा लोकमार्गको आसपासमा छ । उद्योग ०४५ सालमा स्थापना भएको हो । उद्योगले प्लान्ट निर्माणका लागि अहिले अतिक्रमणको भएको क्षेत्र खरिद गरेको थियो । उद्योगको प्लान्ट अहिले भएको स्थानमा निर्माण भई सञ्चालन भएपछि उक्त जग्गा खाली थियो ।


मुलुकका विभिन्न स्थानमा सरकारी, ऐलानी र गुठीको जमिन अतिक्रमण भइरहेको अवस्थामा उदयपुर सिमेन्टको पनि अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप छ । उद्योगको जमिन अतिक्रमण गरी टहरा बनाउन सुरु गरेको नायब महाप्रबन्धक महेश काफ्ले बताउँछन् ।


‘दुई टहरा र अन्य अंशबन्डा गरी बाँस गाडिएका छन्,’ काफ्लेले भने, ‘स्थानीय प्रहरी प्रशासनको सहयोगमा अतिक्रमण गरी बनाइएको टहरा हटाइएको छ ।’ लोकर्मागसँग जोडिएको उद्योगको जमिन महँगो भएकाले पनि अतिक्रमण हुने खतरा कायमै रहेको उनको भनाइ छ । सोेमबार रातिदेखि नै दुई दर्जन बढी सर्वसाधारणले जग्गा ओगटेका थिए ।


वर्षौंदेखि संरक्षणमा रहेको उद्योगको जग्गामा एक-एक घर टहरा बनाउन सुरु भएको निमित्त महाप्रबन्धक नवलकिशोर साह बताउँछन् । ‘जग्गा कब्जा गर्ने उद्देश्यले बनाउन सुरु गरिएको घर टहरा र ओगटेको क्षेत्रको बास हटाइएको छ,’ उनले भने, ‘स्थानीय प्रशासनको सहयोगमा टहरा हटाइएको छ ।’ टहरा बनाएर कब्जा गर्न खोज्ने व्यक्ति र समूहको खोजी भइरहेको उनले बताए ।


सरकारी स्वामित्वमा सञ्चालनमा रहेको सिमेन्ट उद्योगको जग्गा अतिक्रमण गर्ने उद्देश्यले कब्जा गर्न खोजिएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बताए । ‘जग्गा अतिक्रमण गर्न बनाएको टहरा र बास गाडेर बाँडफाँड गरिएको क्षेत्रमा खाली गरिएको छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?