१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भीरको बाटो अटो...

विप्लव महर्जन

सल्यान — हातमा ‘प्लस टु’ को प्रमाणपत्र बोकेर निर्मला कार्की जागिरका लागि धेरै ठाउँ धाइन् । कतै पाइनन् । त्यसपछि रोजिन्, स्वरोजगारको विकल्प छ । उनले ऋण लिएर अटोरिक्सा किनिन् । अहिले सामान्य जागिरेभन्दा राम्रो कमाइ गरिरहेकी छन् । कामले राम्रो दाम दियो, उनी खुसी छन् ।

२० वर्षीया निर्मलाले १ वर्षदेखि सल्लीबजार क्षेत्रमा अटो चलाइरहेकी छन् । जिल्लामा अटोचालक महिला छैनन् । अटो चलाएर दैनिक सरदर ४ हजार कमाउँछिन् । इन्धन, मर्मतखर्च, ऋणको किस्ता र घरखर्च कटाएर करिब हजार रुपैयाँ बचत हुने गरेको उनले बताइन् । ‘सुरुमा त छोरीले पनि अटो चलाउने हो ?’ भन्दै जिस्काउँथे, कतिपयले होच्याएर बोल्थे,’ उनले भनिन्, ‘अचेल त सबै बानी परिसके, मलाई पनि यसमै रमाइलो लाग्न थालिसक्यो ।’


सुरुमा उनलाई अटो चलाउन लाज लाग्थ्यो । पुरुषहरू वरिपरि झुम्मिएर हेर्दा त झन् सकस हुन्थ्यो । त्यसमाथि कतिपय महिलाले समेत उनलाई जिस्काउँदै भन्थे, ‘हेर त यो केटीले अटो चलाएकी !’ आजभोलि उनलाई सामान्य लाग्छन् । ‘आपूmले जानेको सीप गरी खानलाई के को लाज ?’ उनले भनिन्, ‘हिजो जिस्काउनेहरू अहिले मेरो अटोमा यात्रासमेत गर्छन् ।’ जाजरकोटको अटो सल्यानमा ल्याएको भन्दै केही व्यक्तिले विरोध गरे पनि अहिले समस्या नरहेको उनले बताइन् ।


निर्मलाले लिएको ४ लाख रुपैयाँ ऋण आधा तिरिसकिन् । बाँकी १ वर्षभित्र तिरिसक्ने उनको योजना छ । बिहानदेखि बेलुकीसम्म अटो चलाउनुपर्दा केही गाह्रो भए पनि बेरोजगार बस्नुपरेको छैन । उच्च शिक्षा अध्ययनको धोको पनि मनमै मरेको उनले सुनाइन् । ‘पढ्ने मन त कसको पो हुँदैन र ?’ उनले भनिन्, ‘जागिर पाइएन, घरपरिवारको जिम्मेवारी आफैंमाथि छ, कसरी पढ्नु ?’

जाजरकोटकी निर्मलाको विवाह भएको छैन । बुवा-आमा र दुई भाइबहिनी उनकै कमाइमा आश्रित छन् ।


नेपालगन्ज गएर अटो ड्राइभिङ सिकेकी उनले सुरुमा जाजरकोटमै अटो चलाइन् । सुरक्षाका कारण भन्दै त्यहाँ अटो चलाउन स्थानीय प्रशासनले रोक लगायो । उनको कार्यक्षेत्र बन्यो- सल्यानको सल्लीबजार । ‘यहाँ सडक पनि रामो छ, यात्रु पनि पाइन्छन्,’ उनले भनिन्, ‘आम्दानी पनि राम्रै भइरहेको छ ।’ यात्रु पाइए जाजरकोट, सल्यानको खलंगा र सुर्खेतसमेत पुग्ने गरेको उनले सुनाइन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?