कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नेपालिक्सको खुलासाप्रति सञ्चारमन्त्रीको रोष

चितवन — सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडियाले व्यक्तिको प्रतिष्ठामा आघात पु¥याउने गरी समाचार प्रकाशन गरेको टिप्पणी गरेका छन् । सौराहामा मंगलबार नेपाल टेलिकमको एफटीटीएच सेवा उद्घाटन कार्यक्रममा उनले पत्रकारले समाचारमा आरोप मात्र लगाउने तर पुष्टि नगर्ने गरेको बताए । 

नेपालिक्सको खुलासाप्रति सञ्चारमन्त्रीको रोष

मन्त्री बाँस्कोटाले पत्रकारितामा बेथिति बढेको दाबी गर्दै खोज पत्रकारिता केन्द्रका पछिल्ला समाचारप्रति रोष प्रकट गरे । ‘विक्लिक्सको संसार हल्लाउने रिपोर्ट आयो । नेपालमा पनि नेपालिक्स जारी भयो । प्रतिष्ठित औद्योगिक, व्यापारिक घरानालाई डामियो । स्विस खातामा पैसा छ भनियो,’ उनले भने, ‘यी समाचार सही नभएर व्यक्तिको प्रतिष्ठाका आघात पुर्‍याउने गरी आएका थिए ।’ उनले थपे, ‘डामिएकाहरूले स्विस खातामा पैसा छैन भने, लेख्नेहरूले खण्डन गर्ने आँट गरेनन् । थप पुष्टिको प्रयास पनि गरेनन् ।’


मन्त्री बाँस्कोटाले मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गर्दै भने, ‘लोकतान्त्रिक मुलुक अमेरिकामा पत्रकारलाई एक करोडसम्म जरिवाना हुन्छ । आतंकवादलाई संरक्षण गरेर लेखे मृत्युदण्डसमेत हुँदो रहेछ ।’


उनले नेपालमा शान्ति, सुशासन, समृद्धि, राजनीतिक स्थिरतालाई भत्काउन केही तत्त्व सक्रिय भएको दाबी पनि गरे । राज्य, शान्ति र न्यायलाई चुनौती दिने कुरामा कानुन सक्रिय हुनैपर्ने सञ्चारमन्त्री बाँस्कोटाले जिकिर गरे । मिडिया काउन्सिल विधेयकका सन्दर्भमा उनले भने, ‘संविधानभन्दा बाहिर कुनै कानुन बन्दैन । प्रायोजित आन्दोलनको कुनै ओखती हुँदैन । केही साथीहरू कुरै नबुझीकन दौडिएका छन् । अहिले कुरै नबुझी हिँड्दा पछि लाज लाग्ला,’ उनले भने ।


सरकारले मिडियालाई नियमन गर्न लागेको र नियमनले उत्तरदायी बनाउने मन्त्री बाँस्कोटाको तर्क थियो । ‘वकिल हुन बार काउन्सिल र चिकित्सक हुन मेडिकल काउन्सिलको परीक्षा पास गर्नुपर्छ । पत्रकार र नेता हुन केही गर्नै नपर्ने, यस्सो भिरेर हिँडेपछि पत्रकार भइने †’ उनले भने, ‘हामीले तपाईं आफैं स्वनियमन गर्नुहोस् भनेका छौं । नागरिकले कम्प्लेन गर्छन्, हामीले छापेको समाचारले के राम्रो भयो, के नराम्रो भयो हेर्नुस् भनेका छौं ।’


समानुपातिक विज्ञापन नीति, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका विषय र विदेशी च्यानलमा क्लिन फिडको नीति बनाउन लागेका कारण विरोध बढेको उनको भनाइ थियो । ‘क्लिन फिड लागू भए हाम्रो देशको झन्डै ६–७ अर्ब जोगिँदो रहेछ । क्लिन फिडको फाइदा उठाएकाहरू विरोधमा लाग्ने नै भए । हल्लाबाट प्रभावित भइँदैन,’ उनले भने ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?