कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अन्तरदेशीय प्रसारण लाइन अध्ययन अन्तिम चरणमा 

रसुवा — रसुवा–रातमाटे (गल्छी)– रसुवागढी–केरुङ जोडने ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । 

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको छ । यसअन्तर्गत टावर संख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउनुपर्ने ठाउँलगायतको काम सकिएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए ।


‘टावर स्पोटिङ र सबस्टेसनको डिजाइन गर्ने काम सुरु भएको छ,’ उनले भने, ‘असार १२ सम्म सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आइसक्छ ।’


टावर स्पोटिङमा टावर रहने स्थान, भौगोलिक अवस्था, उचाइ, टावरको एंगललगायत अध्ययन हुन्छ । सम्भाव्यता अध्ययन सकिएपछि चीनको स्टेट ग्रिड अफ चाइना र नेपाल विद्युत् प्राधिकरणले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने सहमति छ ।


प्रसारण लाइनको केही भाग लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्न अनिवार्य छ । त्यसका लागि वातावरण प्रभाव मूल्यांकन (ईआईए) को काम पनि अघि बढाइएको आयोजनाले बताएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो प्रसारण लाइन निर्माण गर्ने उल्लेख छ । नुवाकोटको रातमाटेदेखि, रसुवागढीसम्म प्रसारण लाइनको दूरी ७० किलोमिटर छ । फोर सर्किटको प्रसारण लाइनमा ११२ वटा टावर रहने छ । नेपालतर्फ नुवाकोटको रातमाटे र चीनतर्फ तिब्बतको जिलोङ काउन्टीमा सबस्टेसन रहनेछ ।


जिलोङ रसुवागढी नाकाबाट करिब ७९ किलोमिटर टाढा छ । नेपालतर्फ ४०० केभी र तिब्बततर्फ ५०० केभी प्रसारण लाइन निर्माण हुन्छ । यसको क्षमता ५ हजार मेगावाटभन्दा माथि हुन्छ । यो चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन हो ।


प्रकाशित : जेष्ठ १, २०७६ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?