१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

असारमा सक्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोकियो

सरकारले बजेट भुक्तानी दिएन, उपमहानगरपालिकाले गिटी बालुवा दिएनन्
माधव ढुंगाना

भैरहवा — राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । गिटी-बालुवा अभाव र ठेकेदार कम्पनीले कामबापतको भुक्तानी नपाएपछि निर्माणको काम रोकिएको हो । बुटवल उपमहानगरपालिकाले मूल्य बढाउन भन्दै ठेकेदार कम्पनीलाई गिटी बालुवा लान नदिएपछि असारमा सक्ने भनिएको विमानस्थलको काम रोकिएको हो । 

असारमा सक्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोकियो

सरकारी ढिलाइले ठेकेदारलाई उपलब्ध गराउनु पर्ने खर्चको भुक्तानी हुन सकेको छैन । विमानस्थल निर्माण तीव्र गतिमा भइरहेका बेला अवरोध सिर्जना भएको हो । बुटवल उपमहानगरपालिकाले सम्झौताअनुरूप नदीजन्य निर्माण सामग्री (गिटी-बालुवा) उपलब्ध गराएको छैन । त्यसले काम अवरुद्ध बनेको हो । गौरवका आयोजनासित पछिल्लोपटक गरेको सम्झौता उपमहानगरले पालना गरेको छैन । उपमहानगरले गिटी-बालुवाको दर तीन गुणासम्म वृद्धि गरेको छ । मुख्य चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सनले मजदुरलाई ज्याला तिर्न नसकेको जनाएको छ ।


आयोजना प्रमुख प्रवेश अधिकारीले अन्तिम चरणमा पुगेको धावनमार्गको पिच कार्य आइतबारदेखि रोकिएको बताए । 'गिटी-बालुवाको अभाव र ठेकेदारले पाउनुपर्ने भुक्तानी रोकिंदा आयोजना अवरुद्ध भयो,' उनले भने, 'ठेकेदालाई उपलब्ध गराउन एक महिनाअघि आयोजनाले सिफारिस गरेर बिल पठाए पनि एसियाली विकास बैंक (एडीबी) समक्ष पुग्न सकेको छैन ।' उनले नगरपालिकाले सम्झौताअनुसार गिटी बालुवा नदिएको बताए । 'बुटवल उपमहानगरपालिकालाई सम्झौताअनुसार गिटी-बालुवा उपलब्ध गराएर निर्माणमा बाधा नपुर्‍याउन बारम्बार पत्राचार गर्दा पनि बेवास्ता गर्‍यो, अहिले काम रोकियो' उनले भने, 'राष्ट्रिय गौरवको काममा यस्तो नगरेको भए हुने थियो ।'


सिद्धार्थ उद्योग संघका पूर्वअध्यक्ष ओमकार गौचनले बुटवल महानगरपालिकाले गिटी बालुवा ल्याउन नदिई विकासमा अवरोध पुर्‍याएको बताए । 'यो मनपरितन्त्र भयो । बुटवल नगरपालिकोको यो गैरजिम्मेवार काम हो' उनले भने, 'नगरपालिकाले सम्झौता गरिसके पनि यसरी अन्तिम अवस्थामा गिटी बालुवा नदिनु विकासविरोधी काम हो । उनले यो विषयलाई लिएर प्रदेश सरकारसँग डेलिगेशन जाने जानकारी दिए ।


उनका अनुसार धावनमार्गको तीन तहको पिच निर्माण सकिएको छ । अन्तिम चरणको पिच पनि २ हजार ५ सय मिटर भइसकेको थियो । धावनमार्ग ३ हजार मिटर लामो छ । पिच गर्ने उपकरणमा इन्धन भर्नका लागि आवश्यक खर्च ठेकेदारले जुटाउन नसक्दा काम रोकिएको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले पेस गरेको पछिल्लो बिल परामर्शदाताले चेकजाँच गरेपछि आयोजनासमक्ष पेस भएको थियो । करिब १० करोड रुपैयाँ भुक्तानी माग गर्दै उक्त बिल राष्ट्रिय गौरवको आयोजना कार्यालयमा पेस गरेको थियो । आयोजनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो । पर्यटन मन्त्रालयबाट बिल अघि बढेको छैन । यहाँ कार्यरत मजदुरले विगत दुई महिनादेखि ज्याला पाउन सकेका छैनन् ।


राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले ठेकेदारलाई उपलब्ध गराउनु पर्ने खर्चको पछिल्लो बिल पर्यटन मन्त्रालयमा रोकिएको र त्यहाँबाट अगाडि नबढेकाले समस्या आएको बताए । 'पर्यटन मन्त्रालयले के कारणले बिल रोकेको हो ? थाहा छैन,' उनले भने, 'काम होस् भन्ने चाहनाभन्दा काम रोकेर हिरो बन्ने प्रवृत्तिले समस्यामाथि समस्या थपिने गरेको छ ।' बुटवल उपमहानगरपालिका र पर्यटन मन्त्रालयले आयोजनाको काममा सहजीकरण नगरेको उनले आरोप लगाए । ठेकेदारलाई दिनुपर्ने खर्चको बिल यसअघि पनि लामो समयसम्म रोक्ने काम भएको उनले दाबी गरे । 'ठेकेदारका हातखुट्टा बाँधेर दौडिन लगाएर हुँदैन,' उनले भने, 'ठेकेदारलाई भनसुन र थामथुम पार्दै यहाँसम्म काम पुर्‍याइएको हो ।'


पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले मन्त्रालयले भुक्तानीको प्रक्रिया अघि बढाइसकेको जनाए । 'मन्त्रालयबाट बिल रिलिज भएर निकासाका लागि अर्थ मन्त्रालयमा पुगिसकेको छ,' उनले भने, 'अर्थ मन्त्रालयबाट निकासा भएर नागरिक उड्डयन प्राधिकरणमा पुगेको हुनुपर्छ ।'


उपमहानगरको अवरोध

बुटवल उपमहानगरपालिकालाई सम्झौताअनुसार गिटी-बालुवा उपलब्ध गराएर निर्माणमा बाधा नपुर्‍याउन बारम्बार पत्राचार गर्दासमेत सुनुवाइ नभएको आयोजना प्रमुख अधिकारीले बताए । 'अघिल्लो जिल्ला दररेटका आधारमा निर्माण कार्यको स्टिमेट गरिएको छ,' उनले भने, 'अहिले हामीलाई चाहिएका बेला बजारको चलनचल्तीको भाउमा खरिद गर भन्न मिल्दैन ।' नदीजन्य निर्माण सामग्रीको अभावबारेमा सम्बन्धित नगरपालिका, अर्थसमिति, राष्ट्रिय गौरवका आयोजना, सम्बन्धित मन्त्रालय, विभाग, प्रधानमन्त्री कार्यालय र मुख्यमन्त्रीलाई जानकारी गराएको उनले बताए । सम्झौताअनुरूप यस्ता सामग्री तत्काल ढुवानी नभए आयोजनाको काम दसैं-तिहारसम्म रोकिने आयोजना प्रमुख अधिकारीले बताए ।


सम्झौताअनुसार गिटी-बालुवा ढुवानी भएमा वर्षभरि काम गर्न पुग्ने थियो । जेठ मसान्तबाट असोज १५ सम्म खोलामा उत्खनन् गर्न पाइँदैन । बुटवल उपमहानगरसँग ०७६ जेठ मसान्तसम्म तिनाउबाट गिटी-बालुवा उत्खनन् गर्ने सम्झौता छ । त्यसका लागि स्वसाम कन्स्ट्रक्सनले ३७ लाख रुपैयाँ राजस्व उपमहानगरको खातामा जम्मा गरिसकेको छ ।


सम्झौताअनुसार निर्माण सामग्री निकाल्न तोकिएको स्थलमा पुग्दा उपमहानगरपालिकाले रोक लगाएपछि समस्या थपिएको स्वसाम कन्स्ट्रक्सन प्रालिका संचालक सुनिल रायमाझीले बताए । सम्झौता गर्दा पृष्ठ २ मा पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको उनले जनाए । नदीबाट ढुवानी गर्दा कुन नम्बरका गाडीबाट गर्ने भनेर नम्बरसमेत उल्लेख गरिएको छ ।


बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आयोजनालाई उपलब्ध गराउने भनी सम्झौता गरिएको मूल्य चलनचल्तीभन्दा कम भएको बताए । नगर कार्यपालिका बैठकले बढाउने निर्णय गरेको उनले बताए । सिद्धार्थनगर नगरपालिका क्षेत्रमा गिटी-बालुवा उत्खनन गर्न मिल्ने खोला छैनन् । तिलोत्तमा नगरपालिकाले सम्झौता अनुसारको गिटी-बालुवा यसअघि नै उपलब्ध गराइसकेको जनाएको छ । 'अन्तर्राष्ट्रिय विमानस्थललाई दिनुपर्ने परिमाणको सामग्री उपलब्ध गराइसकिएको छ,' तिलोत्तमाका मेयर वासुदेव घिमिरेले भने ।


बुटवल उपमहानगरका मेयर शिव सुवेदीले सम्झौता अनुसारको परिमाणको सामग्री लिन पहिलो पक्ष चिनियाँ ठेकेदार आउनुपर्ने बताए । 'कुन प्रयोजनका लागि हो, त्यसबारेमा पूरै खुलाएर पहिलो पक्ष आउनुपर्छ । बिचौलिया होइन,' सुवेदीले भने, 'सप्लायर्सको नाममा आउनु हुँदैन ।' स्वसाम कम्पनीले उपमहानगरपालिकासँग प्रतिफुट ६ रुपैयाँमा गिटी-बालुवा खरिद गर्छ । उक्त कम्पनीले चिनियाँ ठेकेदारलाई प्रतिफुट २४ रुपैयाँ दरमा बिक्री गर्ने गरेको सुवेदीले दाबी गरे ।


ठेकेदार कम्पनीलाई नदीजन्य सामग्री उपलब्ध गराउने जिम्मा 'स्वसाम कन्स्ट्रक्सन प्रालि'ले लिएको छ । बुटवल उपमहानगरपालिकाले गत चैत ८ गते स्वसामसित १७ हजार २ सय २८ घन मिटर गिटी-बालुवा उपलब्ध गराउने सम्झौता गरेको थियो । बुटवल-११ स्थित तिनाउ किनारबाट प्रतिफुट ६ रुपैयाँमा १३ प्रतिशत भ्याट लाग्ने गरी उपलब्ध गराउन राजी थियो । उत्खननका लागि कार्यादेश दिइसकेको उपमहानगरपालिकाले गिटी-बालुवाको दर प्रतिफुट १५ रुपैयाँ कायम गरेर अवरोध पुर्‍याएको छ । निर्माण सामग्री नभएपछि १२ किमिको पेरिफेरी र अन्य साना सडक, विमानस्थलअगाडिको पार्किङ क्षेत्र, विमानस्थल प्रवेशद्वार र टर्मिनल भवन अगाडिका सम्पूर्ण पार्किङ क्षेत्र र नाला निर्माण कार्य रोकिएका छन् ।


डेढ महिनाभित्र सकिने

बिमानस्थलको काममा कुनै अवरोध नभए अबको डेढ महिनाािभत्र निर्माण सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । उनले करिब ७२ प्रतिशत काम पुरा भइसकेको बताए । 'अबक करिब १८ प्रतिशतका काम उपकरण जडानको हो' उनले भने, 'धावनमार्गको ९५ प्रतिशत ट्याक्सी वेको ७५ प्रतिशत काम सकियो ।' उनले जहाज पार्किङ ढलानको काम पुरा भइसकेको जनाए ।


बिमानस्थलको टर्मिनल भवनमा छाना हाल्ने र टर्मिनल भवनको फिनिसिङ काम भइरहेको आयोजनाले जनाएको छ । आठ तलाको कन्ट्रोल टावरमध्ये अन्तिम तलाको काम भइरहेको अधिकारीले बताए । विमानस्थल वरिपरिको तारबार लगाउने र नालीको काम अन्तिम चरणमा छ । गिटी वालुवा रोकिएपछि धावनमार्गको वरिपरि सडक निर्माण र टर्मिन भवन अगाडिको सडक र गाडी पार्किङ क्षेत्र गिटी बालुवाका कारण रोकिएको छ ।


'गिटी बालुवाको काम र समयमा बजेट निकासी भए डेढ महिना भित्र काम सकिन्छ' अधिकारीले भने ।

प्रकाशित : वैशाख ३१, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?