अन्तरजातीय बिहेपछि मुसहर समुदायले पानी पाएन  

धाकधम्की दिने क्रम नरोकिएपछि केटाका बुबाआमाले घर छाडे 
विनु तिम्सिना

विराटनगर — मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव -मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु । 

मोरङ, बुढिगंगाको ऋषिदेव समुदायले खानेपानीबाट वञ्चित गराएको भन्दै उजुरी गरेपछि सोमबार इलाका प्रहरी कार्यालय नेमुवामा छलफल गरिँदै । तस्बिरः विनु/कान्तिपुर

सनी र सिर्जनाबीच प्रेमसम्बन्ध रहेको हल्ला पहिलेदेखि नै थियो । एसईई परीक्षा सकिएकै दिन चैत १८ मा दुवैले गाउँ छाडे, सम्पर्कविहीन भए । लगत्तै थापा परिवारले छोरी फिर्ता ल्याउन भन्दै धम्क्याउन थाल्यो ।

थापा परिवारले ऋषिदेव बस्तीमा रहेको खानेपानीको सामूहिक टयुबवेल उखेलेर फालिदियो । नयाँ टयुबवेल नगाड्न पनि धम्क्याइयो । अहिले ऋषिदेव समुदाय पिउने पानीका लागि गुहार माग्दै हिँडिरहेका छन् । कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि सनीका बाबु ठाकुर र आमा सुगावती ऋषिदेवले घर छाडेका छन् । छोरा खोज्न भनेर उनीहरू हिँडेपछि घर खाली छ ।

थापा परिवारको निजी जमिनमा लगभग १० घर ऋषिदेव समुदायको छाप्रा छन् । उनीहरूका थुप्रै पुस्ता त्यहीँ बसेका थिए । त्यहाँ सनीका आफन्तका चार घर छन् । धेरै वर्षपहिले वडा समितिले गाडिदिएको सार्वजनिक टयुबवेलबाट उनीहरूले पानी पिउँदै आएका थिए । सनी र सिर्जनाको बिहेलाई बहाना बनाएर आफूहरूलाई विस्थापन गर्न खोजिएको मुसहर परिवारको गुनासो छ ।
मुसहर समुदायले अर्काे बस्तीबाट पानी ल्याउने गरेकामा त्यहाँ पनि टयुबवेल बिगि्रएको छ । 'अर्को टयुबवेल गाडा फेरि थापा परिवारका सदस्यले उखेलिदिए । अहिले खानेपानीका लागि हामीले धेरै दुःख पाउनुपरेको छ,' स्थानीय खकरी ऋषिदेवले भनिन् ।

खकरीले पानी खान पाउँ भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । 'खानेपानी पनि नपाउने गरी हामिले के अपराध गरेका छौं ? गरिब भन्दैमा हाम्रो खानेपानीको स्रोत नै बन्द गरिदिने ?' उनले भनिन् । बूढीगंगा वार्ड नम्बर २ का अध्यक्ष रेवती नारायण चौधरीका अनुसार थापा परिवारको दबाबमा मुसहरहरूले खुलेर समस्या राख्न डराइरहेका छन् ।

सनी र सिर्जनाले विवाह गरेलगत्तै थापा परिवारले आफ्नो छोरा खोजेर ल्याउन दबाब दिएको सनीका मामा दीपनारायण ऋषिदेवले बताए । 'दुई जनाले भागेर विवाह गरे, अहिले बेपत्ता छन् । हामिलाई भने थापा परिवारको निकै दबाब आइरहेको छ,' उनले भने 'आक्रमण पनि गरे ।' वडा अध्यक्ष चौधरीले पनि मुसहर समुदायमाथि पटकपटक कुटपिट भएको बताए ।

तीन साताअघि झडप हुँदा थापा परिवारका ६ जना र ऋषिदेव परिवारका पाँचजना घाइते भएको स्थानीयले बताए । गाउँमा एक रात छलफल बोलाएर थापा परिवारका घाइतेको उपचार खर्च मुसहर परिवारलाई बेहोर्न लगाइयो । घाइते भएका मुसहर परिवारको न उपचार गरियो न त खर्च नै दिइयो । 'आक्रमण गर्न थापा परिवार आएका थिए । हामीले प्रतिकार मात्र गरेका थियौं । उल्टै हामीलाई १३ हजार रुपैयाँ तिराइयो,' दीपनारायणले भने ।

सोमबार इलाका प्रहरी कार्यालय नेमुवामा छलफल भए पनि निष्कर्ष निस्किएन । इलाका प्रहरी कार्यालय नेमुवाका प्रहरी नायब निरीक्षक मनोज अधिकारीले जिल्ला प्रहरी कार्यालयले घटना छानबिन गरिरहको जनाउँदै आफूले छलफलको समन्वयमात्र गरेको बताए । मुसहर परिवारले भने प्रहरीले सुरक्षा नदिएको र समयमा उजुरी नसुनेको गुनासो गरेका छन् । 'सानो जातको केटाले मगरकी छोरी भगायो भनेर कुटपिट र पानीको स्रोत बन्द गरिनु गलत छ भनेर मेरै पहलमा प्रहरीमा छलफल बोलाइएको हो,' वडाध्यक्ष चौधरीले भने ।

टयुबवेल आफ्नो जग्गा भएकाले अब राख्न नदिने थापा परिवारको भनाइ छ । 'हामीलाई टयुबवेल हटाएको आरोप लागेको छ तर त्यो सत्य छैन,' सिर्जनाका आफन्त धीरेन्द्र थापाले भने, 'त्यो जग्गामा हामीले उद्योग स्थापना गर्न लागेकाले बस्ती र टयुबवेल हटाउने अवस्था आएको हो ।'

सिर्जनाका बुबा रामु थापाले छोरी फिर्ता ल्याइदिन आग्रह गर्दा नमानेपछि समस्या भएको बताए । 'हामीबीच दाजुभाइको सम्बन्ध थियो, दुवै घरमा आउनेजाने थियो,' उनले भने, 'मेरो छोरी भगाएर लगेपछि खोजेर ल्याउन भन्यौं तर यिनीहरू मान्दैनन् ।' थापा परिवारले ऋषिदेव परिवारलाई छोरी बेचिदिएको आरोप लगाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्

फेसबुक स्टाटसका कारण पत्रकारमाथि अनुसन्धान

विनु तिम्सिना

विराटनगर — झापाको कन्काई नदीको पुलमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तुका विषयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेको भन्दै ईलाका प्रहरी कार्यालय उर्लाबारीले पत्रकार किशोर श्रेष्ठलाई आइतबार दिनभर प्रहरी कार्यालयमा राखेर अपरान्ह ४ बजे छाडेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको पुलमा कागजले बेरिएको अवस्थामा प्रेसर कुकर फेला परेको विषयमा उर्लाबारीका पत्रकार किशोर श्रेष्ठले शुक्रबार राति करिब ११ बजे एउटा स्टाटस लेखेका थिए।उनको फेसबुक स्टाटसमा, 'गोर्खा नेपाल जनमुक्ति मोर्चा नामको पार्टीले प्रदेश एकको जुनसुकै ठाउँमा बम राख्नसक्ने जानकारीसहित केही तस्बिर मलाई म्यासेजमा पठाएको रहेछ। उद्देश्य ग्रेटर नेपालको निर्माण भनिएको छ। आएको जानकारीलाई जस्ताको त्यस्तै राखेको छु, प्रशासनले खोजेको खण्डमा म्यासेज आएको डिटेल बुझाउने छु।' प्रहरीले उनलाई आइतबार बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म इलाका प्रहरी कार्यालय उर्लावारीमा सोधपुछ लागि भन्दै राेखेको थियो ।

आफूले नचिनेको व्यक्तिले फोन गरेको र बम राख्दैछु भन्दै अन्तर्वार्ता लिइदिन भने पनि आफूले नमानेको उनले बताए। फोन गर्ने व्यक्तिले जुनसुकै दिन बम राख्ने कुरा गरेपछि रातको समयमा समाचार लेख्ने या के गर्ने भनेर दोधार भएकाले जानकारीका लागि फेसबुकमा लेखेको उनले बताए।

'नचिनेको व्यक्तिले मिसकल गरेको रहेछ, मैले नै कल ब्याक गरेको थिएँ, फोनमा उनले बम राख्छौँ हाम्रो अन्तरवार्ता लिइदिनुपर्याे भने तर मैले मानिँन,' पत्रकार श्रेष्ठले भने, 'पछि उसले फेसबुकको म्यासेन्जरमा फोटो सहित बम राख्ने भनेर म्यासेज पठायो मैले यही विषय प्रशासन र अरुलाई पनि जानकारी होस भनेर फेसबुकमा राखेको हो तर साथीहरुको सल्लाहमा चाडै हटाएको थिएँ।'

पत्रकार किशोर श्रेष्ठले फेसबुकमा लेखेको स्टाटस।
शुक्रबार निकै राति भइसकेकाले शनिबार आफू उर्लाबारी प्रहरीमा जाने तयरी गरिरहेकै बेला प्रहरीले बोलाएको उनले बताए। शनिबार नै गएर आफूसमक्ष आएका सबै जानकारीहरु प्रहरीलाई गराउँदासमेत आज पुनः किन बोलाइएको बारे थाहा नभएको उनले बताए।

श्रेष्ठले शंकास्पद स्टाटस फेसबुकमा लेखेको र आइतबार बिहानै बम फेला परेपछि उनलाई अनुसन्धानका लागि बोलाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले बताए।प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको नभइ सोधपुछका लागि मात्रै बोलाएको र पुनः जुनसुकै बेला पनि बोलाउन सकिने गरि छाडिएको उनले जानकारी दिए ।

यसैबीच नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईँटेलले पछिल्लो समय प्रहरी प्रशासनले अनावश्यक रुपमा पत्रकारहरुलाई दुःख दिइरहेको बताए। पत्रकार श्रेष्ठलाई शनिबार नै सोधपुछ गरिरहेको अवस्थामा आइतबार फेरि बोलाएर सोधपुछ गर्नु र दिनभरी प्रहरी कार्यालयमा राख्नु अनावश्यक दुःख दिने नियत भएको उनले बताए। पत्रकार र प्रेस स्वतन्त्रताप्रति राज्य निर्मम भइरहेको भन्दै उनले अनावश्यक दुःख दिने श्रृंखला बन्द गर्न आग्रह गरे।

प्रकाशित : वैशाख २९, २०७६ १५:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्