अनि उनी निःशब्द भइन्

जनकराज सापकोटा

काठमाडौँ — त्यतिबेला उनी साउदी अरबमा थिए । काठमाडौंमा ७ वषर्ीया छोरी र सानो छोरा स्याहारेर डेरामा बस्दै आएकी श्रीमतीले जे खबर सुनाइन्, त्यसले उनलाई काममा अडिइरहन दिएन । खबर डरलाग्दो सपनाजस्तै थियो । 

अनि उनी निःशब्द भइन्

त्यसपछि के-के भयो ती सब बताउन उनलाई शब्द नपुगेजस्तो लाग्छ । भन्न खोजिएका कुरा पनि घाँटीमै अड्किएजस्तो लाग्छ । पछिल्लो पटक साउदी अरब पुगेको १६ महिना मात्रै भएको थियो । घरको खबर सुनेलगत्तै उनले आपतकालीन बिदा मागे र आफ्नै खर्चमा टिकट काटेर वैशाख दोस्रो साता काठमाडौं आइपुगे ।


घटना केही साता पुरानो थियो, घाउ भने आलै । शुक्रबार उनी श्रीमती, ७ वर्षकी छोरी र सानो छोरा लिएर सिनामंगलको एक अस्पताल जाँदै थिए । निन्याउरो अनुहार लगाइरहेकी छोरी संवाददातालाई देख्नेबित्तिकै आमाको छेउमा लुटपुटिइन् । छेवैको रेस्टुरेन्टमा आमाछोरीलाई अलि परै राखेर घटनाक्रमबारे जान्न खोज्दा उनले भने, 'श्रीमतीले छोरी बलात्कृत भएको खबर सुनाएपछि मेरो हंसले ठाउँ छोड्यो । मनै अडिएन, तत्कालै फर्किहालें ।'


नेपाल फर्किनुअघि उनले फोनबाटै घटनाबारे प्रहरीमा उजुरी टिपाएका थिए । तर आरोपित अहिलेसम्म पक्राउ परेका छैनन् । के गरौं र कसो गरौं भएर छटपटिएका उनीसँग छोरीमाथि भएको बलात्कारको घटनाबारे सोध्ने प्रश्न धेरै थिएनन् । उनको हतास अनुहारले धेरै कुरा बताइरहेको थियो । सुरुमा उनले आफू साउदी जानुपर्नाको बाध्यता सुनाए । 'यो छोरी जन्मिँदा पनि म साउदीमै थिएँ, छोरीको फोटो हेरेरै चित्त बुझाएँ,' उनले भने, 'दुई वर्षपछि आएर बल्ल उसको अनुहार देखें । केही समय घर बसेर फेरि साउदी गएको थिएँ ।'


प्रत्येक बिदामा आउँदा, हुर्किंदै गरेकी छोरी हेर्दै फर्किंदै गरेर उनले केही वर्ष गुजारे । 'यसरी हुर्किएकी छोरी ७ वर्ष पुग्दा यस्तो घटनामा परी' यति भनेपछि बालिकाका ३३ वर्षे पिता बोल्न सकेनन् । त्यसपछि संवाद बालिकाकी आमासँग भयो । श्रीमान् साउदी गएपछि उनी अरूका घर सफाइ गर्ने, कपडा धुने र भाँडा माझ्ने गरेर आम्दानी गरिरहेकी थिइन् ।


बिहान झिसमिसेदेखि साँझसम्म एकैदिन चारवटा घरको काम भ्याउँथिन् । एक वर्षयता उनी बानेश्वर शान्तिनगरको मिलीजुली चोकस्थित राजु खरेलको घरमा काम गरिरहेकी थिइन् । बिदाको दिन छोरीलाई सँगै लिएर जान्थिन् ।


उनले एक महिनाअघिको क्षण सम्झिइन् । काममा निस्कनै लागेका बेला छोरीले सोधिन्, 'तपाईं कुन-कुन घरमा काममा जानुहुन्छ मम्मी । त्यो घरमा चाहिँ नजानुस् है ।'


उनले सोधिन्, 'किन ?'

त्यसपछि २ कक्षामा पढ्ने छोरीले भनेका कुराले उनी छाँगाबाट खसेजस्तै भइन् ।

'तपाईं छतमा कपडा धोएका बेला त्यो मान्छेले मलाई कोठामा लगेर चकलेट दिँदै के-के गर्छ,' यही भनेकी थिइन् छोरीले । छोरीले यस्तो नराम्रो काम दुई पटक गरेको र पिसाब फेर्ने ठाउँमा दुखिरहेको बताइन् । यति सुनाएपछि निकै बेर अडिइन् र भनिन्, 'के भनाैं, तपाईंले बुझिहाल्नुभयो होला ।'


छोरीको कुरा सुनेपछि उनी के गरौं र कसो गरौंको छटपटीमा परिन् । नजिककी एकजना दिदीलाई यो कुरा सुनाइन् । ती दिदीले पनि छोरीलाई के भयो नानु भन्दै सोधिन् । छोरीले पहिलो पटक भनेकै कुरा दोहोर्‍याइन् ।


त्यसपछि उनले घरधनी राजुकी श्रीमतीलाई सबै कुरा सुनाइन् । उनले सोध्दा पनि बालिकाले उही कुरा बताइन् ।

बालिकाकी आमाका अनुसार राजुको परिवारका अरू सदस्यले पनि यो घटनाबारे थाहा पाइसकेका छन् । राजुका २०/२२ वषर्ीय छोराले थाहा पाएपछि ५० वर्ष उमेर आसपासका बाबुलाई हकारेको उनले बताइन् । 'उनीहरूले यो कुरा कसैलाई नभन्नु, इलाज गर्दिन्छु भनेका थिए तर म मानिनँ,' उनले भनिन् ।


घटनाको केही दिनपछि मात्रै यसबारे थाहा पाएकी आमाले के गरौं र कसो गरौंमै केही दिन बिताइन् । महानगरीय प्रहरी वृत्त बानेश्वरमा उनले १८ वैशाखमा अरोपित किटेर लिखित निवेदन दिएकी छन् । उनले घटनापछि छोरी लगातार टोलाएको, झर्को मानेको र राति राम्ररी नसुतेको बताइन् । भनिन्, 'हिजो रातभर सुत्नै सकिन । खाली दुख्यो दुख्यो भन्छे ।' उनका अनुसार छोरीको योनीबाट लगातार पानी बगिरहेको छ । उनले यसबारे प्रहरीलाई पनि सुनाएकी थिइन् । प्रहरीले नै उपचारका लागि अस्पताल लैजान सल्लाह दिएपछि उनी शुक्रबार बिहानै श्रीमान्, छोरी र सानो छोरासहित अस्पताल जाँदै थिइन् ।


प्रहरीका अनुसार विपन्न वर्गकी उनी एक वर्षदेखि उक्त घरमा काम गर्दै आएकी थिइन् । छोरीमाथि भएको त्यो अपराधसँगै उनले अर्को कुरा पनि सुनाइन्, 'त्यो घरधनीले मलाई पनि जबर्जस्ती गर्न खोजेको थियो ।' उनले तीन-चार पटक नै आफूलाई एकान्तमा पारेर जबर्जस्ती गर्न खोजेको तर आफू जेनतेन उम्किएको बताइन् । 'तर कामबाट निकालिनुपर्ने डर र ठूला मान्छेसँग जोरी खोज्न नसकिने ठानेर मैले यो कुरा कसैलाई भन्न सकिनँ । मलाई जबर्जस्ती गर्न नसकेपछि छोरीमाथि त्यस्तो गरेछ' भन्दाभन्दै उनका आँखाका चेप रसाए ।


घटनापछि बालिकाको व्यवहारमा धेरै परिवर्तन आएको ३३ वर्षे आमाले बताइन् । 'सधैं हाँस्ने खेल्ने र उपि|mने छोरी हिजोआज जोसुकै केटा मान्छे देख्दा पनि तर्किन्छे,' उनले भनिन् । उनका अनुसार पछिल्लो दुई दिनयता उनी स्कुल जान पनि डराएकी छन् ।

काम गर्न गएको घरधनीबाट पछिल्लो दुई महिनाको काम गरेको पैसा आफूले नपाएको, पीडिकको छोरीको सुत्केरी स्याहर्दाको रकम पनि नपाएको र उल्टै आफूसग २० हजार सापटी मागेर तीन महिनादेँख फिर्ता नगरेको उनले बताइन् ।


'सबै कुरा सहेको थिएँ,' उनले भनिन्, 'छोरीको कुरा सुनेपछि त मनै भाँचियो ।' यति भनेपछि केहीबेर टोल्हाएकी उनले मोबाइल खोलिन् र फोटो ग्यालरीमा रहेका केही तस्बिर देखाइन् । तस्बिरमा कलिली छोरीको गोप्य अंगमा घाउ देखिन्थ्यो । उनले भनिन्, 'भोलि प्रमाण होला भनेर राखेकी ।'


महानगरीय प्रहरी वृत्त बानेश्वरमा डीएसपी गोविन्द काफ्लेका अनुसार उजुरी परेलगत्तै घटनाबारे अनुसन्धान थालिएको छ । किटानी जाहेरीपछि बालिकाको बयान, घटनास्थल निरीक्षण र पीडित बालिकालाई थापाथलीस्थित परोपकार प्रसूति गृहमा स्वास्थ्य परीक्षण गराएको काफ्लेले बताए । स्वास्थ्य परीक्षण रिपोर्ट पढेको स्रोतले कान्तिपुरसँग भन्यो, 'बालिकाको योनीमा कोरिएको देखिन्छ । केही समयअघि बलात्कार भएको संकेत मिल्छ ।'


प्रहरीमा उजुरी परलगत्तै आरोपित घरधनी फरार रहेको र उनको खोजी कार्य जारी रहेको डीएसपी काफ्लेले बताए । स्रोतका अनुसार फरार घरधनी काभ्रेको नाला क्षेत्रमा लुकेर बसेको सुराक पाएपछि प्रहरी त्यहाँ पनि पुगेको थियो । तर आरोपित फेला परेनन् । डीएसपी काफ्लेले अदालतबाट पक्राउ पुर्जी लिएर खोजी जारी राखेको र प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखासँग पनि समन्वय गरेर अनुसन्धान अगाडि बढाइराखिएको बताए ।


पीडित बालिकाका बाबुको भने साउदीको एक महिनाको छुट्टी सकिने दिन आउन लागिसकेको छ । 'मन त्यसै त्यसै भुटभुटिएको छ,' उनले भने, 'त्यो मान्छे पक्राउ परेर मुद्दा चलेपछि जान पाए ढुक्क हुन्थ्यो ।' सुरुमा एक्लै परिएला कि जस्तो डर लागे पनि अहिले स्थानीय आमा समूह र अरूले पनि साथ दिएको उनले सुनाए ।

प्रकाशित : वैशाख २९, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?