३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बर्दिया राष्ट्रिय निकुञ्जमा एक महिनायता लागेको डढेलो नियन्त्रणमा आएन 

कमल पन्थी

बर्दिया — एक महिनायता बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यका र कर्णाली तटीय क्षेत्रमा फैलिएको डढेलो नियन्त्रणमा आएको छैन । पूर्वपश्चिम राजमार्ग वरिपरि लागेको डढेलो नियन्त्रण गर्ने प्रयास भइरहेपनि पूर्ण रूपमा नियन्त्रणमा नआएको निकुञ्जले जनाएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जमा एक महिनायता लागेको डढेलो नियन्त्रणमा आएन 

निकुञ्जको कर्णाली र बबई तटीयक्षेत्रको अम्रेनी, घुम्ना, रम्मापुर सेक्टर सैनावारदेखि बनखेत र चुरेको गोठी, बबई उपत्यका, तरंगा लगायत दर्जनौँ ठाउँमा डढेलो लागेको हो ।


डढेलो नियन्त्रणमा नआएपछि विगत तीन सातायता धुवाँको मुस्लोले मध्यवर्ती क्षेत्र समेत प्रभावित भएको छ । ठाकुरबाबा-१ का शंकर थारुका अनुसार डढेलोको मुस्लोले गाउँमा धुवाँले ढाकेको बताए ।


डढेलोका कारण बालबालिका र वृद्धलाई बढी असर परेको उनको भनाई छ । बबई उपत्यकाको विकट चुरे क्षेत्र भएकाले नियन्त्रणमा लिन सकिएको छैन ।' डढेलोसँगै चलेको हावाले निकुञ्जको उत्तरी भाग अझै डढेलोको जोखिममा रहेको रेन्जर पुष्पदेव श्रेष्ठले बताए ।


निकुञ्जभित्र मह काढ्ने, घाँस, दाउरा गर्ने र चोरी सिकारीले आगो लगाएका कारण डढेलो सल्केको आशंका निकुञ्जका कर्मचारीले गरेका छन् । डढेलो लगाउनेलाई निकुञ्जले पहिचान गर्न सकेको छैन ।


शनिवार सुर्खेत तरंगाकी पद्मा उपाध्यायलाई वनको सुखेको घाँसमा आगो लगाएको आरोपमा निकुञ्जले नियन्त्रणमा लिएको छ ।


चुरे क्षेत्रमा हावाहुरी र तातो लुसँगै आगोको मुस्लो नियन्त्रण गर्न निकुञ्ज सुरक्ष्ााका लागि तैनाथ नेपाली सेना, कर्मचारी लगायत संरक्षणकर्मीलाई हम्मे हम्मे परेको छ ।


वर्षेनी गर्मीयाम मौसममा हुने डढेलोले निकुञ्जमा क्षति पुर्‍याउँदै आएको छ । दमकल नपुग्ने विकट चुरे क्षेत्रमा डढेलो नियन्त्रण गर्ने अवस्था नरहेको निकुञ्जले जनाएको छ । डढेलो उत्तरको चुरे पहाडबाट सुरु भई दक्षिण क्षेत्रमा बढी फैलिने गरेको छ ।


हालसम्म डढेलोका कारण जंगली जनावरलाई पुगेको क्षतिको विवरण नआएपनि वन्यजन्तुले बासस्थान फेर्दै अन्यत्र जाने गरेको निकुञ्जले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?