१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता 

जयनगर-जनकपुरमा चल्ने
विमल खतिवडा

काठमाडौँ — नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।

भारतीय कम्पनीसँग दुई सेट रेल किन्ने सम्झौता 

'सम्झौता भइसकेपछि उक्त कम्पनीले अग्रिम बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ, त्यसपछि हामीले अग्रिम भुक्तानी स्वरुप पेश्की दिनु पर्ने हुन्छ,' सचिव अधिकारीले भने । पेश्की दिएको मितिबाट १ सय २० दिनभित्र रेलको सेट ल्याउनुपर्ने सम्झौता भएको छ । दोस्रो सेट रेल खरिदका लागि पेश्की रकम दिएको १ सय २० दिनमा उपलब्ध गराउनु पर्ने हुन्छ । 'हामीले जुन दिन मोभिलाईजेशन रकम उपलब्ध गराउँछौं,' उनले भने, 'त्यही दिनबाट उसले रेल उपलब्ध गराउनुपर्ने समयको गणना हुन्छ ।' भारतीय कम्पनीले रेलको सेट पठाएपछि सञ्चालनमा ल्याइने छ । 'यो काम छिट्टै गर्ने भनेर लागिपरेका छौं,' सचिव अधिकारीले भने, 'सम्झौता भएको करिब १० दिन भित्रमा पहिलो सेट ल्याउने तयारी सुरु हुने छ ।'


विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारका अनुसार जनकपुर-जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट खरिदको सम्झौता भएको हो । 'हामीले लिन खोजेको डेमो ट्रेन सेट हो, यसलाई डिजेल इलेक्टि्रक मल्टिपल युनिट भन्छ,' उनले भने, 'जुन जयनगर-जनकपुरका लागि हो ।' उनका अनुसार पहिलो सेट ३ देखि ४ महिना भित्रमा आउने छ । दोस्रो सेटका लागि भने केही समय लाग्ने छ । रेलको एक सेटमा पाँच वटा डिब्बा रहने छ । ति डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउने छन् । सरकारले रेलको सेट खरिदका लागि गत चैत्रमा विभागलाई स्विकृत दिएको थियो । मन्त्रिपरिषद्‌ले निर्णय गरी ८४ करोड ६५ लाख खर्चिएर खरिद गर्न सरकारले स्विकृत दिएको हो ।


भारतको जयनगरबाट कुर्तासम्म ३४ किलोमिटर छ । पहिलो सेट यही सञ्चालनमा आउने छ । कुर्तासम्म रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नती गरी सकिएको विभागले जनाएको छ । यो वर्ष कुर्तासम्म रेल सञ्चालन हुने छ । जहाँ भौतिक निर्माणको काम सकिसकेको छ । अर्को वर्ष कुर्ताबाट १७ किमि दूरीमा रहेको बिजलपुरासम्म रेल चल्ने सचिव अधिकारीले बताए । अहिले विजलपुरामा जग्गा प्राप्तिको काम सकिसकेको छ । निर्माणको काम सुरु गर्ने तयारी भएको उनले बताए । त्यस्तै विजलपुराबाट बर्दिबाससम्म १७ किमि रहेको छ । जहाँ जग्गा लिने काम भइरहेको छ ।


'त्यहाँबाट विस्तार गरेर महोत्तरीको बर्दिबाससम्म २ वर्षभित्र रेल ल्याउने तयारीमा छौं, जसका लागि काम भइरहेको छ,' सचिव अधिकारीले भने, 'त्यसपछि जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्ने छ ।' जुन क्षेत्रमा रेल सञ्चालनमा आउने छ । ती क्षेत्रका स्थानीय लाभान्वित बन्नेछन् । नेपाल-भारतको यात्रा छोटिने छ ।


'हामीले अब रेल सञ्चालन गर्न सक्छौं भन्ने भएका छौं, रेल सञ्चालनमा आएपछि भारतसँगको कनेक्टिभिटी बढने्छ, जसले गर्दा इण्डियन रेल्वे नेटवर्कसँग सम्बन्ध हुने छ,' उनले भने, 'रेल्वे नेटवर्क बनेपछि कसरी सञ्चालन गर्ने भन्ने कुरामा हामी अभ्यस्त हुने छौं ।' उनका अनुसार जयनगरबाट नियमित रेल सञ्चालन हुने छ । 'रेल सञ्चालनमा आएपछि रेलका बारेमा सिक्ने अवसर पाउने छौं, थप अभ्यस्त हुने छौं' उनले भने ।

प्रकाशित : वैशाख २७, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?