कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कानून व्यवसायीले नै झुक्याएर जग्गा आफ्नो नाममा लिएपछि...

रासस

बाँके — पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन् । कानुनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा कानून व्यवसायीले झुक्याएर महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ ।

डुडुवा गाउँपालिका–२ बेतहनीकी उषा कुर्मीको एक बिघा १५ कठ्ठा चार धुर जग्गा उच्च अदालत बार एशोसिएसन बाँकेका अध्यक्षसमेत रहेका कानून व्यवसायी विकास आचार्यले आफ्नो नाममा गराएको पीडितले बताएकL छन् । बेतहनीकै नान भन्ने दुर्गाप्रसाद बर्मा, रामबहादुर बर्मा र आशाराम बर्माको मिलेमतोमा कानून व्यवसायी आचार्यले उषाको करोडौँ मूल्यको जग्गा आफ्नो नाममा गराएको पीडित कुर्मीको भनाइ छ ।


उषाकी आमा लामो समयदेखि पायल्सको बिरामी छिन् । छिमेकी दुर्गा, राम र आशारामले जग्गा बिक्री गरेर उपचार गराइदिने बताएपछि उषाले उनीहरुकै पहलमा आचार्यलाई दुई कठ्ठा साढे चार धुर जग्गा दुई लाख ५० हजार रुपैयाँमा बिक्री गरेकी थिइन् । उषा लेखपढ गर्न नजान्ने भएपछि जग्गा पास गर्ने क्रममा २५ लाखमा एक बिघा १५ कठ्ठा चार धुर जग्गा बिक्री गरेको सहीछाप गराएर करोडौँ मूल्यको जग्गा झ्वाम पारिएको हो ।

सो जग्गा उषाका बुवा जगदीशले यसअघि नै छोरीको नाममा नामसारी गरिदिएको बताए । उषाको नाममा रहेको कित्ता नं १८, २४, २०, ३१, ३२, ९८, १०८, १३२, १४४, १४९ र ५०८ गत २०७४ मंसिर १८ गते विकास आचार्यको नाममा पास भएको छ । दुर्गा, राम र आशारामले जग्गा बिक्री गराइदिएपछि उषाकी आमालाई उपचार गराइदिन्छौँ भन्दै उषा र उनका बुबालाई भारतमा लगेर करीब छ महिना उनीहरुले बन्धक बनाएको पीडितले बताइन् ।


'चिकित्सक आउँछ भन्दै हामीलाई एउटा घरमा बन्धक बनाइयो, तर चिकित्सक पनि आएनन् । म माथि दुर्गा र रामले पटक–पटक बलात्कारसमेत गरे,' जसोतसो त्यहाँबाट भागेर वैशाख १० गते बेतहनी आएकी उषाले भनिन्, 'भागेर ज्यान जोगायौँ । घर आउँदा आफ्नो घरजग्गाको आम्दानी सोधखोज गर्दा, यो जग्गा तिम्रो होइन, बिक्री भइसक्यो भनेर छिमेकीले भनेपछि आफू छाँगाबाट खसेजस्तै भएँ ।' अहिले उषा आफ्ना वृद्ध बुबाआमासँगै न्याय खोज्दै अड्डाअदालत र प्रहरी प्रशासन धाइरहेकी छन् ।


तर, कानुन व्यवसायी आचार्यले प्रक्रिया पु¥याएर आफूले खरीद गरेको बताए । सो जग्गा पहिले पनि अदालतमा रोक्का भएको र पछि आफूले पैसा बुझाएर फुकुवा गरी खरीद गरेको उनले बताए । 'पीडितलाई पीरमर्का परेको भए, बसेर मिलाउन सकिन्थ्यो,' उनले भने, 'अहिलेसम्म पीडित मसँग आउनुभएको छैन । यो मेरो पेशागत व्यवसायलाई धमिल्याउने खेल भएको छ ।' केही दिनअघि आचार्यकै ल फर्मबाट अख्तियारले तीन लाख घुससहित उच्च अदालत नेपालगञ्जका टाइपिष्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गरेको थियो ।

प्रकाशित : वैशाख २६, २०७६ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?