कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिनोफानो गरेर बिहेको दिन बेहुला नआएपछि...

विनोद भण्डारी

विराटनगर — मोरङको रंगेली नगरपालिका ८, दर्वेशाका कमलप्रसाद साह हातमा छोरीको बिहेको निमन्त्रणा कार्ड लिएर न्याय खोज्दै प्रहरी र प्रशासन धाइरहेका छन् ।

छिनोफानो गरेर बिहेको दिन बेहुला नआएपछि...

डेढ लाख नगद र एउटा मोटरसाइकल दाइजोका नाममा लिइसकेका बेहुला विवाहको दिन जन्ती लिएर नगएपछि उनी न्याय खोज्दै धाउन बाध्य भएका हुन् । कमलले छोरीको विवाह विराटनगर महानगर १५, रानीका अजयकुमार साहसँग वैशाख ८ गते गर्ने पक्का गरेका थिए ।


त्यसैअनुसार कार्ड छापेर आफन्त र छरछिमेकलाई निम्तो पनि गरिसकेका थिए । विवाहको दिन उनी सबै तयारी गरी रातभर बेहुला र जन्तीको प्रतीक्षामा बसे । कोही आएनन् । यसपछि उनी आफूले दिएको डेढ लाख रुपैयाँ र मोटरसाइकल फर्काउन प्रहरी र प्रशासन गुहारिरहेका छन् ।


‘विवाहको छेका (छिनोफानो) असार ११ गते भएको थियो,’ कमलले भने, ‘छेका सकिएलगत्तै दुलाहा पक्षले तिलकका नाममा डेढ लाख रुपैयाँ लगे, विवाहको तिथिभन्दा साताअघि दुलाहा आएर हिरो साइन मोटरसाइकल पनि नाममा लिएर गए ।’


बिहे टुंगो गरिसकेर ती सामानसमेत लिएर गए पनि अजयकुमार जन्ती लिएर नआएको उनले बताए । आफूले बिहेका लागि तयार पारेका सबै सामान खेर गएको उनले सुनाए । बिहेमा करिब ३ सय निम्तालु बोलाइएको थियो । विवाहको दिन युवकले बेहुलीको मोबाइलमा ‘म तिमीसँग विवाह गर्दिनँ र मेरो अर्को केटी साथी छ’ भनेर म्यासेज पठाएको बेहुलीका दाजु विजयले बताए । उनका अनुसार बिहेको दिन दुलाहा नआएपछि दुवै पक्षबीच बसेर समस्या समाधान गर्ने प्रयास गर्दा बेहुला पक्षबाट विभिन्न प्रकारका धम्की दिइएको थियो ।


उता बेहुला पक्षले बेहुलीले विवाह रद्द गर्न दबाब दिएपछि आफूहरू बेहुला लिएर नगएको दाबी गरेका छन् । ‘असारमा वैशाख ८ गते विवाह गर्ने निधो गरिए पनि वैशाख ८ गतेको विवाह रद्द गरी १८ गते गर्ने दुई पक्षबीच सहमति भएको थियो,’ बेहुलाका मामा सीताराम साहले भने, ‘बेहुला पक्षले १८ गतेको कार्ड छापेर आफन्त र छिमेकलाई निमन्त्रण गरेको थियो । तर बेहुलीले बेहुलालाई फोन गरेर जसरी भए पनि बिहे रद्द गर्न दबाब दिएपछि हामी नगएका हौं ।’


उनका अनुसार बेहुली पक्षवाट बेहुलाले मोटरसाइकल लिएको साँचो हो । उक्त मोटरसाइकल फिर्ता लैजान भने पनि नलगेको उनको दाबी छ । सीतारामले नगद डेढ लाख लिएको नभई बेहुलालाई कपडा किन्न केही रकम बेहुली पक्षले दिएको दाबी गरे । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीका अनुसार बेहुलीका बाबु कमलप्रसादले विवाहको दिन बेहुलाले जन्ती लिएर नआएको भन्दै दाइजोका नाममा दिएको रकम र मोटरसाइकल फिर्ता गराइपाऊँ भन्दै निवेदन दिएका छन् । उनका अनुसार यसबारे अनुसन्धान भइरहेको छ ।


प्रकाशित : वैशाख २५, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?