१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रधानमन्त्रीले निम्छरा भनेपछि...

प्रमुख प्रतिपक्षी दलद्वारा संसद्‍मा नाराबाजी, होहल्ला भइरहँदा नीति तथा कार्यक्रम पारित

काठमाडौँ — सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रस्तुत अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठकमा मंगलबार नाराबाजी भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नाराबाजी गरिरहेकै बेला सरकारको नीति तथा कार्यक्रम पारित गरिएको छ । 

प्रधानमन्त्रीले निम्छरा भनेपछि...

प्रधानमन्त्री ओलीले ‘आत्रोश कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु’ भन्दै सांसदहरूको प्रश्नको जवाफ दिन सुरु गरेका थिए । लगत्तै प्रधानमन्त्रीले गैरसंसदीय भाषा प्रयोग गरेको भन्दै कांग्रेस सांसदहरूले बैठकमा नाराबाजी गरे । नाराबाजीकै बीच प्रधानमन्त्री बोल्न खोज्दा बैठक तनावपूर्ण भयो । सभामुख कृष्णबहादुर महराले विपक्षी सांसदलाई पटक–पटक ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे । कांग्रेस सांसदहरू रोकिएनन् ।


प्रधानमन्त्री ओलीले पनि रोस्ट्रमबाट केही सवालजवाफ गरे । स्थिति शान्त नभएपछि ओलीले चारवटा प्रश्नको जवाफ दिए । त्यसपछि सभामुख महराले होहल्ला र नाराबाजीकै बीचमा नीति तथा कार्यक्रमलाई निणयार्थ पेस गर्दै पारित गराए ।


प्रधानमन्त्रीलाई जंग्याउने प्रश्न

प्रतिनिधिसभाको मंगलबारको दोस्रो बैठकको सुरुमै प्रधानमन्क्री ओलीले नीति तथा कार्यत्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । तीन दिनसम्म छलफलमा उठेका प्रश्नको जवाफ उनले झन्डै एक घण्टा समय लगाएर फर्काए । त्यसपछि सभामुख महराले सांसदहरूलाई प्रधानमन्त्रीको जवाफमाथि थप प्रश्न गर्ने समय उपलब्ध गराए । राजपाका शरदसिंह भण्डारी, महेन्द्र यादव, अनिलकुमार झा, नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबाहेक प्रधानमन्त्रीमाथि थप प्रश्न गर्ने सबै कांग्रेसका सांसद थिए ।


कांग्रेसका सबै सांसदले सरकारको नीति तथा कार्यक्रमको विरोध गर्दै केही व्यंग्यात्मक खालका प्रश्न तेर्स्याए । त्यसमध्ये प्रधानमन्क्रीलाई आत्रोशित बनाउने खालको एउटा प्रश्न थियो, सांसद मीन विश्वकर्माको । विश्वकर्माले ‘२५ अर्बभन्दा ठूला परियोजना प्रधानमन्त्री मातहत राख्ने भनिएको छ । के अब २५ अर्बभन्दा बढीको भ्रष्टाचार अब प्रधानमन्त्री आफैंले गर्ने हो ?’ भन्दै सोधेका थिए ।


विश्वकर्माले कोसीमा स्टिमर चलेकोलाई पानीजहाज चलेको जस्तो देखेको प्रसंग जोडदै चार वर्षअघि नै ग्यास चुलाचुलामा पुर्‍याउँछु भनेकामा अहिले के भइरहेको छ भन्दै प्रश्न गरेका थिए ।

सांसद देवेन्द्रराज कँडेल भ्रष्टाचारको अन्त्य गर्ने नीतिको आलोचना गर्दै ‘मार्सी चामल’ लगायत को–को बालुवाटारमा हुन्छन्, तिनको लिस्ट सार्वजनिक गर्नुस्’ भनेका थिए । अर्का सांसद गगन थापाले ‘राष्ट्रपतिज्यूको सरकारको प्रधानमन्त्री’ भन्दै सम्बोधन गरे । उनले कुनै छानबिनबिनै प्रधानमन्त्रीले कसैलाई निर्दोष भन्दै हिँड्ने गरेकामा प्रश्न गरेका थिए । ‘वाइडबडीमा मन्त्रीज्यू निर्दोष, महासचिवज्यू ठगिनु नै भएछ, यो कसरी थाहा पाउनुभयो ?’ थापाको प्रश्न थियो ।


सांसद दिलेन्द्र बडुले दार्चुलामा तुइन विस्थापित गर्ने भनेर झूटा विवरण प्रधानमन्त्रीले पेस गरेको उल्लेख गर्दै विस्थापित झोलुंगे पुलको विवरण मागेका थिए । सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, डिला संग्रौला, मीना पाण्डे, पुष्पा भुसाल, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, राजेन्द्र केसी, हिरा गुरुङ, सुजाता परियार, लक्ष्मी परियार, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, प्रकाश रसाइली, देवप्रसाद तिम्सिनालगायतले सरकारको आलोचना गर्दै प्रश्नको वर्षा गराए ।


विपक्षी सांसदहरूको प्रश्नपछि प्रधानमन्त्री जवाफ दिन पुनः रोस्ट्रममा पुगे । सुरुमै प्रधानमन्त्री ओलीले प्रश्नका लागि सांसदहरूलाई धन्यवाद दिए । त्यसपछि उनले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु’ भने । लगत्तै हलबाट कांग्रेस सांसद मीन विश्वकर्माले नियमापक्ति जनाए । ओलीको ‘आत्रोश, कुण्ठा र निम्छरा’ भन्ने अभिव्यक्ति संसदीय मार्यादा अनुकूल नभएको भन्दै कांग्रेस सांसदहरूले आपत्ति जनाए । उनीहरूले उक्त अभिव्यक्ति सच्याउन र रेकर्डबाट हटाउनुपर्ने भन्दै नाराबाजी गरे ।


कांग्रेस सांसदहरूको नाराबाजीकै बीच रोस्ट्रममा उभिएका प्रधानमन्त्री ओलीले ‘रेकर्ड खोलेर सुनियोस्’ भने । कांग्रेस सांसदको आक्रोश बढेपछि सभामुखले ‘माननीयज्यूहरूले उठाएको विषयमा ध्यानाकर्षण भयो अहिले बस्नुहोस्’ भन्दै रोक्ने प्रयास गरे । कांग्रेस सांसदहरू रोकिएन । प्रधानमन्त्रीले रोस्ट्रमबाट प्रतिक्रिया दिइरहे ।


प्रधानमन्त्रीले ‘माननीयहरूलाई प्रश्नको जवाफ चाहिएको छ कि छैन ?’ भनेपछि कांग्रेस सांसदको आक्रोश अझ बढ्यो । ‘सांसदको प्रश्न सोध्ने अधिकार छ, जवाफ दिनुपर्छ, अपशब्द प्रयोग गर्ने होइन’ भन्दै कांग्रेस सांसदहरू झन् चर्किए । ‘प्रश्नको पनि सीमा र मर्यादा हुन्छ,’ प्रधानमन्त्रीले थप जवाफ दिए, ‘अपशब्द प्रयोग गर्ने होइन ।’


प्रधानमन्त्री सवालजवाफमा उत्रिएपछि कांग्रेस सांसदहरूको निसाना सभामुख महरातर्फ सोझियो । ‘संसद् तपाईंले चलाउने हो कि प्रधानमन्त्रीले, संसदीय मर्यादा राख्नुहोस्,’ उनीहरूले भनेका थिए ।


प्रधानमन्त्रीको जवाफ रोक्न माग गर्दै उनीहरूले नाराबाजी गरे । त्यही बीचमा सत्तापक्षीय सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीलाई जावफ दिन रोक्ने पाइँदैन भन्दै नियमावलीमा उल्लेखित प्रावधान पेस गरे । उता रोस्ट्रमबाट प्रधानमन्त्रीले भने, ‘मैले सभामुखलाई होइन तपाईंहरूलाई जवाफ दिने हो । म यहाँ जवाफ दिनै उभिएको हो । जवाफ किन दिन्नँ ?’


सभामुखले ध्यानाकर्षण भयो भन्दै अघि बढ्न खोजेपछि कांग्रेस सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी गरिरहे । यही बीचमा प्रधानमन्त्री ओलीले चारवटा प्रश्नको हतारहतार जवाफ दिए । दार्चुलामा चारवटा पुल बनाएको, द्वन्द्वका घाउहरू समाप्त हुने, मानव अधिकार आयोगले संवैधानिक अधिकार प्रयोग गर्न पाउने र गरिबमा लागि ८ हजार घर बनेको बताएर प्रधानमन्त्रीले जवाफ सके ।


नीति तथा कार्यक्रम पारित

प्रधानमन्त्रीको जवाफ सकिएपछि नीति तथा कार्यक्रममा सांसदहरूले हालेको संशोधनलाई सभामुख महराले निर्णयार्थ पेस गरे । उनले सांसद प्रेस सुवाललाई संशोधन फिर्ता लिन समय दिए । सुवालले पहिले संसद् शान्त गर्न सभामुखलाई आग्रह गरे । सभामुखले नमानेपछि उनले आफ्नो प्रस्ताव फिर्ता लिन नचाहेको जानकारी दिए । राजपाका राजेन्द्र महतोलाई संशोधन फिर्ता लिन आग्रह गरे । उनको उपस्थिति नदेखेपछि सभामुख महराले निर्णयार्थ प्रस्तुत गरे ।


संशोधन हाल्ने राजपाका लक्ष्मणलाल कर्ण र चन्दा चौधरीले संसदको तनावपूर्ण अवस्था रहेकै बेला आफ्नो प्रस्ताव फिर्ताबारे निर्णय नगर्ने अडान बैठकमा राखे । सभामुख महराले भने उनीहरूको प्रस्ताव निणयार्थ पेस गरे । कांग्रेस सांसद मीनेन्द्र रिजाललाई उभिएर विरोध गरिरहेकै अवस्थामा प्रस्ताव फिर्ताको समय सभामुखले दिए । त्यो समय सदुपयोग गर्दै उनले प्रधानमन्त्रीको कार्यशैलीको थप विरोध गरे ।


‘यसरी संसद् चल्दैन । यसरी संविधान पालना हुँदैन भन्ने आशंका व्यक्त गरेरै हामीले संशोधन प्रस्ताव दर्ता गरायौं,’ रिजालले भने, ‘प्रधानमन्त्रीबाट संसद्को गरिमा कायम भएन । सभामुखले त्यो कायम गर्न सक्नुभएन ।’


सभामुखले प्रधानमन्त्रीको प्रतिष्ठाका लागि संसदलाई कमजोर बनाउने भूमिका निभाएको सांसद रिजालले आरोप लगाए । उनले भने, ‘एउटा व्यक्तिको प्रतिष्ठाका लागि संसद् झुक्नुपर्ने,

नागरिक झुक्नुपर्ने ! यो लोकतन्त्र होइन । यो संविधानसम्मत होइन ।’


उनले सदनमा देखिएको गतिविधिका विषय कांग्रेसले आम नागरिकका बीचमा पुर्‍याउने बताए । त्यसपछि उनले विरोधकै अवस्थामा आफ्नो प्रस्ताव फिर्ता लिन नचाहेको बताए । त्यसपछि नीति तथा कर्याक्रम बहुमतले पारित भयो ।


कांग्रेस नेताहरूले मंगलबार भएको संसदभित्रको घटनाको विरोध गरेका छन् । बैठकपछि कांग्रेस सांसदले गगन थापाले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । ‘प्रतिपक्ष उठिरहेको अवस्थामा सभामुखले विरोध हुँदाहुँदै नीति तथा कार्यक्रम पास गरियो, सभामुख कार्यपालिकाको छाया बन्नुभयो,’ थापाले भने ।


प्रकाशित : वैशाख २५, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?