इन्टरनेटका कारण 'ग्याङफाइट घट्यो', प्रतिशोध साध्न हतारिने प्रवृत्तिले अपराध भने बढ्यो

जनकराज सापकोटा

काठमाडौँ — सामान्य निहुँमा तन्नेरीबीच झगडा, धारिलो हतियारको प्रयोग र हत्या । काठमाडौं उपत्यकामा पछिल्ला ५ महिनामा यस्तै तीन घटनामा तीन जनाको ज्यान गयो । पछिल्लो घटना हो, गत शुक्रबार राति पुल्चोकको । 

इन्टरनेटका कारण 'ग्याङफाइट घट्यो', प्रतिशोध साध्न हतारिने प्रवृत्तिले अपराध भने बढ्यो

राति ८ बजेतिर पुल्चोकको गल्लीमा दुई समूहबीच सुरु भएको विवाद एकैछिनमा हात हालाहालमा परिणत भयो । त्यही बेला एकजनाले २० वर्षीय अंशल शाक्यको छातीमा चक्कु प्रहार गरिदियो । नजिकै रहेको अस्पताल पुर्‍याउँदा पनि उनको प्राण रोकिएन ।


यो घटनाको कारक अल्लारे प्रेमको प्रसंग जोडिएको थियो । प्रहरी परिसर ललितपुरका अनुसार अभिषेक शाही एक वर्षअघि एउटी केटीसँग प्रेममा थिए । मनमुटाव भयो र सम्बन्ध टुट्यो । तिनै केटीसँग पछिल्लो समय कृष्ण तामाङ प्रेममा थिए । यही कुराले अभिषेक र कृष्णबीच विवाद सुरु भएको थियो । अंशल अभिषेकको ग्याङमा थिए ।


प्रहरीले दुवै समूहका ५–५ जनालाई पक्राउ गरेको छ । अभिषेक समूहलाई प्रहरीले सार्वजनिक स्थानमा अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै मुद्दा चलाएको छ भने कृष्ण समूहलाई कर्तव्य ज्यानमा । प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी नारायण चिमोरियाका अनुसार पक्राउ पर्नेमा २० देखि २५ वर्ष उमेर समूहका छन् ।


ग्याङफाइटमा व्यक्तिको ज्यानै गएको यसअघिको घटना चैत अन्तिम साता भएको थियो । प्रहरी परिसर काठमाडौंको टोलीले २५ वर्षका एक युवालाई बाफलको पुलमुनि मृत अवस्थामा फेला पार्‍यो । अनुसन्धानले देखायो, हत्यामा उनकै साथी संलग्न थिए । प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार नसाको सुरमा आफ्नै साथीले हत्या गरेको देखिन्छ । प्रहरीले हत्यामा संलग्न युवालाई पक्राउ गरे पनि मृतकको परिचय खुल्न सकेको छैन ।


पुल्चोककै जस्तो घटना ८ मंसिरमा तीनकुने गैरीगाउँस्थित सुकुम्बासी बस्तीमा भएको थियो ।


दुई समूहबीचको झडपमा खुकुरी प्रहार हुँदा २३ वर्षीय बिक्की लिम्बूको मृत्यु भएको थियो । सामान्य विषयमा परेको भनाभन झडपमा बदलिएको थियो । यी तीनै घटनामा प्रतिशोध साध्न ज्यानै लिनसम्म पछि नपर्ने ग्याङ–प्रवृत्ति देखिन्छ ।


प्रहरी अधिकृतहरू भने यिनलाई छिटपुट घटना मान्छन् । आजकलका तन्नेरीहरू इन्टरनेटको सहज पहुँचका कारण बदलिएको उनीहरूको अनुमान छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी बोगटीका अनुसार पछिल्ला वर्षहरूमा ग्याङफाइटका घटना कम भएका छन्, ज्यानै लिने सांघातिक झगडाका घटनामा हवात्तै कमी आएको छ । ‘साक्षर पुस्ताको बढदो संख्या र सुलभ इन्टरनेटका कारण ग्याङ बनेर हिँड्ने र प्रतिशोधमा उत्रने प्रवृत्ति निकै घटेको छ,’ उनी भन्छन् ।


पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको अनुभवमा दशकअघि काठमाडौंमा फस्टाएको रात्रिजीवन, डिस्को र अवैध जुवा अनि अवैध कारोबारीलाई सघाउने ग्याङमा संलग्न तन्नेरीबीच निश्चित उद्देश्यका निम्ति झगडा हुन्थ्यो । त्यस्तो झगडामा प्रायः हतियारकै प्रयोग हुन्थ्यो । प्रविधिको विस्तार र सामाजिक रूपमा व्याप्त निराशाका कारण तन्नेरीहरू बदलिएको उनी औंल्याउँछन् ।


‘तत्काल प्रतिक्रिया जनाइहाल्ने र छिटो परिणाम खोज्ने हतारो भने बढेको छ,’ हालैका तीन घटनाको विश्लेषणमा उनी भन्छन्, ‘आवेग सम्हाल्न नसक्ने र प्रतिशोध साध्न हतारिने प्रवृत्तिले यी घटना भएको देखिन्छ ।’


इन्टरनेटको पहुँच सहज भएपछि ग्याङफाइटका घटना कम भएको भन्ने तर्कमा उनी सहमत छन् ।


प्रकाशित : वैशाख २५, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?