२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

वर्ल्ड ट्रेड सेन्टरले तिरेन भाडा

२ करोड ३७ लाख रुपैयाँ बाँकी मिनाहा गराउन लबिइङ

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको त्रिपुरेश्वरस्थित जग्गामा वर्ल्ड ट्रेड सेन्टर सञ्चालन गरेको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले सम्झौताअुनसार भाडा तिरेको छैन । ३२ वर्षका लागि जग्गा भाडामा लिएको प्रालिले मासिक भाडाबापत २ करोड ३७ लाख रुपैयाँ त्रिविलाई नबुझाएको हो । उक्त रकम उठाउन त्रिविले समेत कुनै पहल गरेको छैन । 

वर्ल्ड ट्रेड सेन्टरले तिरेन भाडा

प्रालिले २०६३/०६४ देखि २०७४/७५ सम्मको भाडा एक करोड ६१ लाख र जरिवाना ७६ लाख बुझाउन बाँकी रहेको हो । सम्झौतामा प्रत्येक महिनाको भाडा १५ गतेभित्र बुझाइसक्नुपर्ने उल्लेख छ । तोकिएको समयमा भाडा नबुझाए २० प्रतिशतका दरले जरिवाना लाग्ने व्यवस्था छ ।


विश्वविद्यालय र प्रालिबीच २०५९ माघ २ गते सम्झौता भएको थियो । त्यसपछि त्रिविको जग्गामा सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गरेर वर्ल्ड ट्रेड सेन्टर सञ्चालन गरिएको छ । त्यहाँबाट प्रालिले मासिक लाखौं कमाउँछ । उसले विभिन्न समयमा भएका बन्द/हडताल र २०७२ सालको भूकम्पका बेलाको भाडा भुक्तानी नगरेको हो ।


स्रोतका अनुसार प्रालिले बक्यौता रकम मिनाहा गर्न त्रिविको उच्च तहमा लबिइङ गरिरहेको छ । महालेखापरीक्षकको प्रतिवेदनमा समेत उक्त रकम असुल गर्न ताकेता गरिएको छ । प्रालिले पहिलेको भाडा रकम बाँकी राखेर अहिलेको रकम भने भुक्तानी गर्ने गरेको छ । उसले मासिक ५ लाखको दरले भाडा रकम बुझाउँछ । त्रिवि सामान्य प्रशासन महाशाखाका प्रमुख शुभाषचन्द्र कँडेलले भने, ‘प्रालिले पछिल्लो समय नियमित रूपमा रकम बुझाउँदै आएको छ, अहिले समस्या छैन । भूकम्पका बेला र त्यसअघिको केही रकम भने लिन बाँकी छ ।’

भाडा रकम उठाउन त्रिविले सम्झौता गर्ने पक्षलाई लगातार पत्राचार गरेको उनले बताए । जग्गा भाडामा दिनुअघि त्रिविको केन्द्रीय कार्यालय र जनप्रशासन क्याम्पस त्रिपुरेश्वरको सोही जग्गामा थिए ।


कार्यालय र क्याम्पस बल्खु र कीर्तिपुर सारेर जग्गा भाडामा दिँदा विद्यार्थीले विरोध गरेका थिए । त्रिवि उपकुलपति तीर्थराज खनियाँले जग्गा बहाल लिने काम प्रक्रियामै रहेको जनाए । ‘बन्द, हडताल र भूकम्प देखाएर रकम रोकिएको हो,’ उनले भने, ‘किस्ता गरेर पुरानो रकम पनि उठाइरहेका छौं ।’ रकम नतिरे प्रालिले सम्झौताका बेला राखेको धरौटीबाट समेत असुल गरिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २३, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?