पैंचोका भरमा प्रहरी

'महँगो हुनाले किनेर खान सकिँदैन, खाद्य डिपो टाढा हुनाले गइरहन भ्याइँदैन । स्थानीयले पैंचौ दिए भात पाक्छ, नदिए चाउचाउ खान्छौं ।'
वसन्तप्रताप सिंह

धुली, बझाङ — बझाङको उत्तरी सीमास्थित धुली प्रहरी चौकीमा गत आइतबार बिहान प्रहरीहरूको फूर्तिफार्ती बेग्लै देखिन्थ्यो । एकजना प्रहरी जवान खरको झुप्रोमुनि भान्सामा भात पकाउँदै थिए । कोही आलुको तरकारी काटदै थिए । एकजना सिलौटामा मसला पिस्दै थिए । 

सीमा प्रहरी चौकी धुलीको भान्सामा खाना पकाउँदै गरेका प्रहरी जवान । तस्बिर : वसन्तप्रताप सिंह । कान्तिपुर

प्रहरीका अनुहार चम्किलो हुनुको कारणबारे जिज्ञासा राखिनसक्दै जवान सुराज कुँवरले फ्याट्ट भनिहाले, 'दुई छाकपछि भान्सामा भात पाक्दै छ । सब मुख मिठ्याएर बसेका छन् ।'


गाउँभरि खोज्दा पनि चामल पैंचो नपाएपछि प्रहरीको भान्सामा अघिल्लो दिन दुई छाक भात पाकेको रहेनछ । उनीहरूले चाउचाउ खाएर रात बिताउनुपरेछ । आइतबार बिहान वडाध्यक्षको घरबाट एक बोरा (४० किलो) चामल पैंचो खोजेर ल्याएपछि भात पाकेको रहेछ । 'विकट ठाउँ छ सर पैंचो पाएको दिन भात खाने हो, नभए चाउचाउ, बिस्कुटले नै चलाउँछौं,' हवल्दार भवानीदत्त भट्टले भने ।


जिल्लाकै विकट साइपाल गाउँपालिका र चीनको तिब्बतसँग जोडिएको उत्तरी सीमाको सुरक्षाका लागि बझाङ जिल्लाको अन्तिम मानव बस्ती धुलीमा सीमा प्रहरी चौकी छ । यो चौकीका प्रहरीहरू चामल र नुनका लागि स्थानीय बासिन्दाले दिएको पैंचोमा भर पर्छन् ।


यो बस्तीबाट खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पाेरेसनको अस्थायी वितरण केन्द्र रहेको काँडागाउँसम्म आउजाउ गर्न एक दिन हिंड्नुपर्छ । स्थानीय बजारमा मोटो चामल प्रतिकिलो १ सय ८० रुपैयाँ पर्छ । मसिनो चामलको मूल्य २ सय ५० देखि माथि छ । नुन प्रतिकिलो ८० रुपैयाँ पर्छ । 'यहाँको मूल्यमा नुन, चामल किनेर खान सकिँदैन । पैंचो मागेर खान्छौं,' सीमा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्रसिंह कार्कीले भने, 'हामीसँग जनशक्ति कम भएकाले भनेका बेला नुन, चामल ढुवानी गर्न सकिँदैन ।'


सीमा प्रहरी चौकीमा २३ जना प्रहरीको दरबन्दी रहेको भए पनि कोही बिदामा र धेरैजसो काजमा रहेका कारण १२ जना मात्र छन् । कहिले ३ दिनको पैदल दूरीमा रहेको उत्तरी सीमा त कहिले चौकीबाट २ दिन टाढा रहेको धलौन गाउँमा केही न केही कामले यहाँका प्रहरीले दौडधुप गरिरहनुपर्छ । नुन, चामलको जोहो गर्ने फुर्सत विरलै हुने उनीहरूको भनाइ छ ।


साइपाल गाउँपालिकाको धुलीस्थित सीमा प्रहरी चौकी । तस्बिर : वसन्तप्रताप सिंह


'एउटा गाउँबाट अर्काे गाउँ पुग्न पनि कम्तीमा एक दिन पूरा हिंड्नुपर्छ । कतै न कतै प्रहरीको काम परेकै हुन्छ,' कार्की भन्छन्, 'अन्त काम नपरेका बेला काँडाको डिपोबाट नुन, चामल ल्याएर गाउँलेको पैंचो तिछौर्ं ।' यहाँका गाउँलेको घरमा पनि पर्याप्त नुन, चामल नहुने भएकाले पैंचो नपाउँदा चाउचाउ, बिस्कुट खाएर छाक टार्ने गरेको उनले बताए ।


यहाँका बासिन्दालाई पनि नुन, चामलको सास्ती उस्तै छ । 'हाम्रै सुरक्षाका लागि आएका हुन् भनेर कहिलेकाहीं आफू नखाएर पनि पुलिसलाई पैंचो दिने गरेका छाैं,' स्थानीय माथवीर रोकायाले भने ।


एक वर्षअघि गाउँपालिकाको कार्यालय रहेको ठाउँ काँडासम्म नेपाल सरकारको ढुवानी अनुदानमा खाद्य संस्थानले चामल, पिठो लगायतका खाद्यान्न र साल्ट टे्रडिङ कर्पाेरेसनले आयोडिनयुक्त नुन वितरण गर्ने व्यवस्था गरेको भए पनि धुली र बलौडी गाउँका बासिन्दाको महँगोमा चामल र नुन खानुपर्ने बाध्यता हटेको छैन । करिब २ सय परिवारको बसोबास रहेको यी दुई गाउँबाट डिपोसम्म पुग्न एक दिन पैदल हिंड्नुपर्छ ।


आयोडिनयुक्त नुन महँगो हुने भएकाले यहाँका अधिकांश बासिन्दाले तिब्बतबाट आयात गरिएको ढिके नुन खाने गरेका छन् । 'मान्छेले बोकेर ल्याएको नुन, चामलको ढुवानी भाडा निकै महँगो हुने भएकाले धुली र बलौडीका बासिन्दाले सरकारले ९ रुपैयाँमा दिएको नुनलाई समेत ८० रुपैयाँ तिरेर खानुपरेको छ,' साइपाल वडा नं. ४ का अध्यक्ष जयसिंह रोकायाले भने । प्रकाशित : वैशाख २३, २०७६ २०:५४

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

वर्ल्ड ट्रेड सेन्टरले तिरेन भाडा

२ करोड ३७ लाख रुपैयाँ बाँकी मिनाहा गराउन लबिइङ
कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको त्रिपुरेश्वरस्थित जग्गामा वर्ल्ड ट्रेड सेन्टर सञ्चालन गरेको युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिले सम्झौताअुनसार भाडा तिरेको छैन । ३२ वर्षका लागि जग्गा भाडामा लिएको प्रालिले मासिक भाडाबापत २ करोड ३७ लाख रुपैयाँ त्रिविलाई नबुझाएको हो । उक्त रकम उठाउन त्रिविले समेत कुनै पहल गरेको छैन । 

प्रालिले २०६३/०६४ देखि २०७४/७५ सम्मको भाडा एक करोड ६१ लाख र जरिवाना ७६ लाख बुझाउन बाँकी रहेको हो । सम्झौतामा प्रत्येक महिनाको भाडा १५ गतेभित्र बुझाइसक्नुपर्ने उल्लेख छ । तोकिएको समयमा भाडा नबुझाए २० प्रतिशतका दरले जरिवाना लाग्ने व्यवस्था छ ।

विश्वविद्यालय र प्रालिबीच २०५९ माघ २ गते सम्झौता भएको थियो । त्यसपछि त्रिविको जग्गामा सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गरेर वर्ल्ड ट्रेड सेन्टर सञ्चालन गरिएको छ । त्यहाँबाट प्रालिले मासिक लाखौं कमाउँछ । उसले विभिन्न समयमा भएका बन्द/हडताल र २०७२ सालको भूकम्पका बेलाको भाडा भुक्तानी नगरेको हो ।

स्रोतका अनुसार प्रालिले बक्यौता रकम मिनाहा गर्न त्रिविको उच्च तहमा लबिइङ गरिरहेको छ । महालेखापरीक्षकको प्रतिवेदनमा समेत उक्त रकम असुल गर्न ताकेता गरिएको छ । प्रालिले पहिलेको भाडा रकम बाँकी राखेर अहिलेको रकम भने भुक्तानी गर्ने गरेको छ । उसले मासिक ५ लाखको दरले भाडा रकम बुझाउँछ । त्रिवि सामान्य प्रशासन महाशाखाका प्रमुख शुभाषचन्द्र कँडेलले भने, ‘प्रालिले पछिल्लो समय नियमित रूपमा रकम बुझाउँदै आएको छ, अहिले समस्या छैन । भूकम्पका बेला र त्यसअघिको केही रकम भने लिन बाँकी छ ।’
भाडा रकम उठाउन त्रिविले सम्झौता गर्ने पक्षलाई लगातार पत्राचार गरेको उनले बताए । जग्गा भाडामा दिनुअघि त्रिविको केन्द्रीय कार्यालय र जनप्रशासन क्याम्पस त्रिपुरेश्वरको सोही जग्गामा थिए ।

कार्यालय र क्याम्पस बल्खु र कीर्तिपुर सारेर जग्गा भाडामा दिँदा विद्यार्थीले विरोध गरेका थिए । त्रिवि उपकुलपति तीर्थराज खनियाँले जग्गा बहाल लिने काम प्रक्रियामै रहेको जनाए । ‘बन्द, हडताल र भूकम्प देखाएर रकम रोकिएको हो,’ उनले भने, ‘किस्ता गरेर पुरानो रकम पनि उठाइरहेका छौं ।’ रकम नतिरे प्रालिले सम्झौताका बेला राखेको धरौटीबाट समेत असुल गरिने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २३, २०७६ २०:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×