कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु

फातिमा बानु

काठमाडौँ — बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा गम्भीर भएकी बालिकाको गएराति मृत्यु भएको छ । सर्लाहीकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाएपछि स्वास्थ्य गम्भीर थियो ।

गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु

शल्यक्रियामा डा. नवीनचन्द्र गौतमले बालिकाको मृत्यु भएको पुष्टि गर्दै के कारणले मृत्यु भएको हो अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, 'बालिकाको ज्यान गयो । हामी दुःखी छौं । के-कसरी यस्तो भयो छानविन हुन्छ ।'


मृतक बालिकाका आफन्त भने अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आक्रोशित बनेका छन् । अस्पतालले सम्बनधित चिकित्सकलाई कारबाही र बालिकाको परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने पक्षमा छन् । बालिकाको शव अहिले गंगालाल अस्पतालमै छ ।


मृतकका आफन्तले गंगालाल परिसरमा आन्दोलन गरिरहेका छन् ।


यस्तो भएको थियो


मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह 'ओ' पोजिटिभ छ । रगत चढाइएको रिपोर्टमा भने 'ए' पोजिटिभ लेखिएको छ । मुटुमा समस्या भएपछि वैशाख १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । १७ गते उनको शल्यक्रिया गरिएको थियो ।


अवस्था गम्भीर भएपछि अस्पतालले बिरामीलाई भेट्न नदिएको आफन्तको गुनासो छ । गलत रगत चढाइएकोबारे खोजीनिती गर्न थालेपछि बिरामी पक्ष र अस्पताल प्रशासनसबीच विवाद भइरहेको छ । अस्पतालले बालिकाको रगत समूह 'ए' पोजिटिभ नै थियो भन्ने जबर्जस्ती पुष्टि गर्नका लागि रगतसम्बन्धी तीनवटा रिपोर्टमा केरकार गरी आफैंले लेखेको 'ओ' पोजिटिभको ठाउँमा 'ए' पोजिटिभ बनाएको भेटिएको छ ।


बालिकालाई शल्यक्रियामा लगिनुअघि बिरामीका आफन्तसँग लिइएको सहमतिमा डा. ज्योतिन्द्र शर्मा, डा.रवीन्द्रभक्त तिम्ले र डा. नवीनचन्द्र गौतमले शल्यक्रिया गर्ने उल्लेख छ । अस्पतालका निर्देशक समेत रहेका डा. शर्माले भने शल्यक्रियामा आफू संलग्न नभएको बताए ।


'यो घटनाबारे मलाई धेरै थाहा छैन, अस्पतालमा छानबिन समिति बनाएर अनुसन्धान गराउनेछु,' उनले भने, 'अनुसन्धानपछि जसबाट गल्ती भएको छ, उसलाई कारबाही गरिनेछ । बच्चाको शल्यक्रिया नै जटिल थियो । ओपन हर्ट सर्जरी जटिल नै हुन्छ ।।'

प्रकाशित : वैशाख २३, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?