१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सिस्नुले दंग

अनिश तिवारी

सिन्धुपाल्चोक — इन्द्रावती गाउँपालिका-२ कुञ्चोक जौडाँडाकी निर्मला सुनारले सिस्नुबाट आम्दानी होला भनेर सपनामा पनि चिताएकी थिइनन् । व्यावसायिक सिस्नु खेतीमा जुटदा राम्राे आम्दानी हुने गरेपछि अहिले अरू महिलाले पनि त्यसकै सिको गर्न थालेका छन् । 'सिस्नु रोपेर कही उँभो लागिन्छ, बेकारको दु:ख किन गर्नु भनेर सबैले भन्थे, अहिले सबै चुप छन्,' सुनारले भनिन् । 

सिस्नुले दंग

जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध उनले सिस्नुको व्यावसायिक खेती नै गरेकी छन् । 'यो सिस्नुको अर्गानिक उत्पादन धूलोको प्याकेटचाहिँ इन्द्रावतीदेखि मेलम्ची बजारसम्म बिक्रीका लागि पुग्छ, मासिक १३ हजारसम्म आम्दानी हुन्छ, 'उनले भनिन् ।


दुई वर्षअघि जताततै देखिने हरियो सिस्नुको झ्याङलाई धूलो, तरकारीदेखि विभिन्न परिकार बनाएर बेचिरहँदा कुन्चोक डाँडाकी सुमिता नेपाली पनि दंग छिन् । 'सिस्नु रोपेर के प्रगति होला भन्ने लाग्दालाग्दै जुटें, अहिले राम्रो भएको छ,' उनले भनिन् ।


सिस्नु उत्पादन र बिक्रीका बारेमा दस जनाको महिला समूहले कृषि उत्पादनमा अन्यभन्दा भिन्न सिस्नुलाई रोजे । त्यसपछि बल्ल सिस्नुलाई व्यावसायिक रूपमा लैजाने हिम्मत जुटाएको उनले बताइन् । महिला सहकारीको आफ्नै भवनसँगै सिस्नुले महिला समूहलाई छुट्टै पहिचान दिएको छ ।


२५ जनाको महिला सदस्यीय सहकारीमा दस जनाले सिस्नुलाई व्यवसायीकरण गर्न विभिन्न संस्थाबाट तालिम, मेसिन पाए । दस जनाको समूहमा एक महिलाले मासिक १५ हजारसम्म आम्दानी गर्दै आएको र ठूलो बजारको खोजीमा रहेको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापामगर सुनाउँछिन् । 'उत्पादन धेरै ठूलो परिणाम हुन थालेको छ, त्यसैले बेच्ने बजारको खोजीमा छौं, यसका लागि गाउँपालिकालाई गुहारेका छौं,' उनले भनिन् ।


वरिपरि यत्तिकै उमि्रएका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरण गर्न जोड दिएको उनको भनाइ छ । 'अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नु धूलो पार्ने मेसिन दिएपछि काम धेरै सहज भयो, हाम्रो उत्पादनलाई यसले बढावा दियो,' उनले भनिन् । गाउँलेले खेतबारीमा सिस्नुको उत्पादन बढाउन थालेपछि महिला समूहमा झनै उत्साह बढेको छ ।


सिस्नुको 'अर्गानिक ब्रान्ड’

इन्द्रावती गाउँपालिकाले कृषि विकास कार्यक्रमअन्र्तगत विभिन्न अभियानलाई तीव्र रूपमा लगिरहेको जनाएको छ । कृषिमा ४८ लाख बजेट राखेको गाउँपालिकाले क्यान्डी, सिस्नुजस्ता नमुना उत्पादनलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याएको गाउँपालिका प्रमुख वंशलाल तामाङले बताए । 'सिस्नुलाई अर्गानिक सर्टिफिकेसन र ब्रान्डको कार्ययोजना लिएर अगाडि बढिरहेका छौं,' उनले भने ।


गाउँपालिका महासंघका महासचिव रहेका तामाङले अर्गानिक बनाइसकेपछि स्वदेशदेखि अमेरिकासम्म बजार खोज्न पहलकदमी लिने सुनाए । 'एक घर एक करेसाबारी' अभियानबाट इन्द्रावतीलाई कृषिबाट आत्मनिर्भर बनाउने प्रयासमा जनप्रतिनिधि जुटेका छन् ।

प्रकाशित : वैशाख २३, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?