सिकाउने थलोमै छोइछिटो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकाउने थलोमै छोइछिटो

दीपक परियार

लेखनाथ — बुटवलकी मनीषा विक पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययन गर्न गतसाता पोखरा विश्वविद्यालय आइन् । केन्द्रीय क्याम्पसकै आडमा रहेको निजी होस्टलमा बस्ने निधो गरिन् । आमासँगै आएकी उनलाई होस्टेल सञ्चालक जमुना सापकोटाले पूरा नाम सोधिन् । नाम-थर सुनेपछि उनी अक्मकिइन् ।


श्रीमान् विजय सापकोटासँग सल्लाह गर्नुपर्ने भन्दै पन्छिन खोजिन् । केही बेरपछि जमुनाले 'होस्टेलमा एक जनालाई मात्रै छुट्टै खाना पकाउन नसक्ने' भएकाले नराख्ने बताइन् । आफूलाई दलित भएकैले होस्टेलमा भर्ना नगरिएपछि मनीषा प्रहरीकामा पुगिन् । उनकी साथी ज्योति सुनारले जमुनाविरुद्ध उजुरी दिइन् ।


वैशाख १५ मा प्रहरीले जमुनालाई पक्रेर थुनामा राख्यो । उनलाई छुटाउन समाजसेवीदेखि जनप्रतिनिधिसम्म जिल्ला प्रहरी पुगे । दबाब थेग्न नसकेपछि ज्योतिले उजुरी फिर्ता लिइन् । 'प्रहरीले जाहेरी नै नगरी मिलाउनतिर लाग्यो,' उनले भनिन्, 'सबैको अगाडि गल्ती स्विकारेपछि एकरात राखेर उजुरी फिर्ता लिएका हौं ।' मनीषा पोखरा-३० ढुंगेपाटनमा विश्वविद्यालय नजिकै कोठा भाडामा लिएर बसिन् ।


म्याग्दीको धवलागिरि गाउँपालिका-४ भेडीखाल्टामा रहेको जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मामाथि व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा मगरको घरमा कुटपिट भयो । वैशाख ५ मा विद्यालय सञ्चालनका विषयमा स्थानीय अगुवासँग छलफल थियो, पार्वतीको घरमा ।


दलित भएर मगरको घरभित्र पसेको भन्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जाली कुटपिटमा उत्रिए । कुटपिटबाट उनको देबे्र खुट्टाको दुई औंला र पैताला जोड्ने हड्डी भाँचियो । पोखराको मणिपाल अस्पतालमा उपचार गराए ।


दुवै आरोपीविरुद्ध उनले वैशाख ७ मा किटानी जाहेरी दिए । जिल्ला प्रहरी म्याग्दीले वैशाख १५ मा मात्रै जाहेरी दर्ता गर्‍यो । बलबहादुर र जितेन्द्रविरुद्ध जिल्ला अदालतमा जातीय छुवाछूतको मुद्दा दर्ता भयो । प्रहरीले आरोपीलाई पक्रन सकेको

छैन । पक्राउ पुर्जी जारी गरेर प्रहरी खटाइसकेकोले एक-दुई दिनभित्रै पक्राउ पर्ने बताउँछन्, प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनी ।


विद्यालय भर्ना अभियान सुरु हुँदै थियो । स्याङ्जा कालीगण्डकी गाउँपालिका जैपतेका जुम्ल्याहा विद्यार्थी सप्रेया र सुपि्रया परियार भर्ना हुन मानेनन् । कारण बुझ्दा पत्ता लाग्यो, उनीहरूमाथि भएको जातीय विभेद । तीन महिनाअघि वीरेन्द्र माध्यमिक विद्यालयमा कक्षा ४ मा पढ्ने विद्यार्थी बेलटारीमा वनभोज गएका थिए । सप्रेयाले पानी भर्न खोजिन् ।


उनका साथी अपेक्षा र साधनाले पानी थाप्ने भाँडा छुन दिएनन् । आफूलाई ग्यालिन बोक्न नदिइनुको कारण सोध्दा ती साथीले शिक्षिका मनीषा न्यौपानेतिर औंला सोझ्याए । तीन महिनापछि सप्रेया र सुपि्रयाले आफूमाथि भेदभाव भएको कुरा आमा ज्योति परियारलाईर् सुनाए । आमाले विद्यालयका प्रधानाध्यापक ठगवीर रानालाई घटनाको बेलिविस्तार लगाइन् । 'विद्यालयबाट घटना लुकाउन दबाब आयो,' उनले कान्तिपुरसँग भनिन्, 'विद्यालयमै छुवाछूत भएपछि हामी तनावमा छौं ।' प्राध्यापक राना विद्यार्थीको घरमै गएर भर्ना गर्न आग्रह गरेको र शिक्षिका न्यौपानेलाई सम्झाएको बताउँछन् ।


मनीषाले अञ्जानमा गल्ती गरेको स्विकार्दै माफी मागिन् । दुई विद्यार्थी बल्ल कक्षा ५ मा भर्ना भए । वैशाखभित्रै गण्डकी प्रदेशका जिल्लामा भएका यी तीन घटना शिक्षा क्षेत्रसँग सम्बन्धित छन् । सार्वजनिक भएका यी प्रतिनिधि घटना मात्रै हुन् ।


शैक्षिक स्थलमा विभेदका घटना हुनुमा नेपालको शिक्षा प्रणालीमै खोट देख्छन्, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य रहेका उनी शिक्षाले सूचना सिकाए पनि संस्कृति र आचरण नसिकाएको बताउँछन् । 'नेपालको शिक्षा सूचना मात्रै पढाउने खालको भयो तर चरित्र बदल्ने खालको भएन,' उनी भन्छन्, 'यसले सुसूचित गर्न सक्छ तर सुसंस्कृत बनाउँदैन ।'


मुलुकमा राजनीतिक परिवर्तन भए पनि सांस्कृतिक र चारित्रिक अवस्था पुरानै रहेकाले शैक्षिक स्थलमा जातीय विभेदका घटना भइरहेको उनको तर्क छ । 'समाजको बनोट अझै विभेदकारी छ,' उनी थप्छन्, 'व्यवस्था बदलियो, नेता र कार्यकर्ता बदलिएनन् ।' राज्यले चाहिँदो मात्रामा दण्ड नगर्दा पनि जातीय विभेदका घटनामा कमी नभएको उनी सुनाउँछन् । 'केही शिक्षक त्यस्ता छन् जो अझै दलितलाई सँगै बस्न दिँदैनन्,' उनी भन्छन्, 'सांस्कृतिक आन्दोलन गतिलोसँग नहुनुको परिणाम हो यो । शिक्षित मान्छे सुसंस्कृत पनि हुनुपर्‍यो ।'


अधिकारकर्मी रूप सुनार शिक्षकको मानसिकतामै समस्या देख्छन् । 'जातीय विभेद सामान्य घटना हो भन्ने मानसिकता बढिरहेको छ,' उनी भन्छन्, 'मुख्य समस्या नियतकै हो ।' जातीय विभेदलाई अपराध नै करार गर्दा पनि शैक्षिक स्थलमा छुवाछूत हुनुको कारण उनी कमजोर विद्यालय प्रशासनलाई मान्छन् । भन्छन्, 'एक जनामात्रै दलित शिक्षक भएका विद्यालयमा पनि विभेदका घटना भएको पाइँदैन । अहिले यो व्यवस्था पनि लागू हुन सकेको छैन ।'


प्रकाशित : वैशाख २३, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

बाकसबन्द छ पाषाण 'युग'

देवेन्द्र भट्टराई

काठमाडौँ — सन् ८० को दशकमा दाङ-देउखुरी क्षेत्रमा गरिएको पाषाणकालीन युगबारेको शोध-अनुसन्धानको प्रामाणिकतालाई बाहिरी विश्वले स्वीकारिसकेको छ । त्यही शोधको पुरातात्त्विक सामग्री भने छाउनीस्थित राष्ट्रिय संग्रहालयमा बाकसभित्र थन्किएका छन् ।

सन् ८० को दशकमा दाङ-देउखुरी क्षेत्रमा पाषाणकालीन युगबारे गरिएको शोध-अनुसन्धानमा भेटिएका पुरातात्त्विक सामग्री राखिएका बाकस र फाइलहरू छाउनीस्थित राष्ट्रिय संग्रहालयमा । अनुसन्धानकै क्रममा भेटिएको ढुंगाको तीर । तस्बिर : देवेन्द्र भट्टराई/कान्तिपुर

जर्मन अनुसन्धाता डा. गुर्डुन कर्भिनसले सन् १९८३ देखि झन्डै २० वर्ष समय खर्चेर शिवालिक क्षेत्रका रूपमा चिनिने दाङ-देउखुरी उपत्यका र चुरे भेगमा गरेको शोधमा ढुंगेयुगको मानव सभ्यता झल्कने सयौं प्रमाण संकलन गरेकी थिइन् । नेपाली सहायक शोधकर्मीलाई साथ लिएर गरिएको अनुसन्धानको विस्तृत विवरण 'पि्रहिस्टोरिक कल्चर्स इन नेपाल' -२००७) शीर्षकमा दुई भाग पुस्तक जर्मनीबाट प्रकाशित भइसकेको छ । 'शिवालिक' भित्र नेपाल, भारत, पाकिस्तानको पहाडी क्षेत्र समेटिए पनि आदिम युगको विकासक्रम सम्झाउने ढुंगे हातहतियार, जीवजन्तुको अवशेष वा आकृति भने सबैभन्दा बढी दाङ-देउखुरी उपत्यकामा पाइएको थियो ।

'डा. कर्भिनसले दाङ-देउखुरी गएर उत्खनन/शोध गरेपिच्छे पाइएका सामग्री यहाँ ल्याएर जतनसाथ राख्नुहुन्थ्यो,' संग्रहालयका टेक्सिडर्मी अधिकृत हरिकृष्ण श्रेष्ठले कान्तिपुरसँग भने, 'उहाँकै नाममा संग्रहालयको एउटा कोठा छुट्याइएको थियो । कोठाभरि अहिले कतै बाकसमा त कहीं सूचीकृत गरिएका 'बक्स' मा पाषाणकालीन सामग्री राखिएको छ ।' डा. कर्भिनस सन् १९८३ देखि २००१ भित्रका ३५ महिनासम्म फिल्ड वर्कमा थिइन् ।

ती सामग्री सन् १९८८ मा पहिलो पटक गणबहालको गोएथे इन्स्टिच्युटमा प्रारम्भिक प्रदर्शनीसमेत गरिएको थियो । भारतीय नागरिकसँग बिहे गरेकी डा. कर्भिनसको पुनास्थित कोरिगन पार्कमा सन् २००६ को जनवरी १ मा हत्या भएपछि उनका शोध-सामग्री र अनुसन्धान बाकसभित्रै थन्किए । टेक्सिडर्मी अधिकृत श्रेष्ठका अनुसार अर्का पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठको सहयोगमा संग्रहालयमा संकलित डा. कर्भिनसका शोध-सामग्रीको सूचीकरण गर्न थालिएको थियो । तर शुक्रसागरको पनि गतवर्ष निधन भएपछि डा. कर्भिनसका नाममा खोलिएको संग्रहालयको कोठामा ताल्चा लागिरहेको छ । 'प्रतिनिधिमूलक रूपमा हामीले डा.कर्भिनसले जम्मा पारेका केही पुरातात्त्विक सामग्री ५ वटा बोर्डमा मात्रै प्रदर्शनीमा राखेका छौं,' उनले भने, 'अरू केही फोसिल सामग्री प्राकृतिक विज्ञान संग्रहालयमा पनि प्रदर्शनमा छन् । बाँकी भने बाकसमै छन् ।'

जर्मन रिसर्च फाउन्डेसनको सहयोगमा डा. कर्भिनसले नेपाल आएर पाषाणकालीन सामग्री तथा अवशेष अध्ययनमा रुचि देखाएपछि त्रिभुवन विश्वविद्यालयको जियोलोजी विभागमार्फत सहायक अनुसन्धानकर्मी पाएकी थिइन् । ८० को दशकमा
चुरे क्षेत्रमा पाइने अवशेषबारे थेसिस गरेका विद्यार्थी लीलानाथ रिमाललाई सहयोगीका रूपमा डा. कर्भिनसले लिएकी थिइन् । 'डा. कर्भिनसले दाङ-देउखुरी उपत्यका र चुरे क्षेत्रको प्राग-वातावरणबारे अध्ययन गरेकी हुन्,' झन्डै १० वर्षसम्म डा. कर्भिनसको शोध-अनुसन्धानमा सहयोगी बनेर फिल्डमा हिँडेका रिमाल भन्छन्, 'भौगर्भिक हिसाबको विकासक्रम र मानव सभ्यताकै आदिम चरणबारे अरू कसैले नगरेको शोध उनले गरेकी थिइन् ।'

खानी तथा भूभर्ग विभागमा २४ वर्षसम्म भूगर्भविदका रूपमा काम गरेर हालै अवकाश पाएका रिमालले पाएका सामग्रीको अभिलेखीकरण भए पनि इतिहासको अध्ययन र प्राप्त दस्तावेजको उपयोग भने हुन नसकेको उनले बताए । 'अहिले संघीय राज्य र प्रशासनमा आफ्नो क्षेत्रलाई चिनाउने कुरा पनि उठिरहेको हुन्छ तर दाङ-देउखुरीमा प्राग-ऐतिहासिक संग्रहालय बनाउन र शिवालिक पहाडलाई जोगाउन सकेमा यस्ता गम्भीर अध्ययन-शोधको अर्थ रहन्थ्यो,' उनले भने ।

'चुरे क्षेत्र संरक्षणबारे सरोकार उठ्दा पनि मैले त्यो बृहत् अध्ययनबारे कुरा उठाएको हुँ तर सुन्ने कसले ?,' उनले भने । रिमालले यस्तै उत्खनन र इतिहासका आधारमा भारतमा हिमाञ्चल प्रदेशको रिमाउर जिल्लामा 'शिवालिक फोसिल पार्क' बनाइएको जानकारी दिए । त्यहाँ आदिम युगका हातहतियार र जीवजन्तुको अवशेषका आधारमा प्रतीकात्मक आकृति बनाएर राखिएको उनले बताए ।

डा. कर्भिनसले नेपाल आउनुअघि अपि|mकी मुलुकमा 'फोसिल' बारे अनुसन्धान गरेकी थिइन् । नेपाल आउने क्रममा उनले आफ्नो कामबारे तत्कालीन श्री ५ को सरकार, काठमाडौंस्थित जर्मन दूतावास र जर्मनीस्थित नेपाली दूतावासलाई अवगत गराएकी थिइन् । अपि|mकाको इथियोपियामा उनले 'लुसी' प्रजातिको पुर्खाको अस्थिपञ्जर पत्ता लगाएर ख्याति पाएकी थिइन् ।

दाङ-देउखुरीमा उत्खनन थालेपछि नर्वेजियन अर्को विदेशी अनुसन्धानकर्मीको समूहले डा. कर्भिनसविरुद्ध तत्कालीन सरकारलाई उजुरी गरेकाले उनी विवादमा तानिएकी थिइन् । उनी नेपाल रिसर्च सेन्टरसँग पनि आबद्ध थिइन् । 'डा. कर्भिनसलाई देशनिकाला गर्न 'पर्सना नन-ग्राटा' सम्मको पहल थालिएको थियो, खासमा अर्को नर्वेजियन पुरातत्त्वबेत्ताको समूहले डा. कर्भिनसमाथि देखाएको प्रतिशोध र रिसइबीका कारणले यो तहमा बदला लिन खोजिएको थियो,' तत्कालीन जर्मनीका लागि नेपाली राजदूत नोबलकिशोर राई सम्झन्छन्, 'मैले उनका बारेमा विस्तृतमा बुझेर तत्कालीन गृहमन्त्री केपी शर्मा ओली (२०५१ तिर) लाई सिधै फोन गरी यथार्थ बताएको थिएँ ।

त्यसपछि मात्रै उनको पर्सना नन-ग्राटा स्थगित भएको थियो ।' प्राध्यापक राईले डा. कार्भिनसलाई 'एकदमै आधिकारिक र तथ्यपरक अनुसन्धानविद्' भन्दै दाङ-देउखुरीदेखि चुरे भेगको उत्खनन तथा भेटिएको प्रमाणका आधारमा हाम्रो धरातलको मानव सभ्यता र विकासक्रमको तस्बिर आउने बताए । 'तर यो इतिहास र उत्खनन हामीले अरूलाई बुझाउन सकेनौं, आफैंले पनि बुझेका छैनौं,' राईले भने ।

संग्रहालयका टेक्सिडर्मी अधिकृत श्रेष्ठले पछिल्ला वर्ष डा. कर्भिनसको शोध-सामग्री र संकलनलाई व्यवस्थित गर्न वा थप प्रदर्शनीमा ल्याउन विशेष बजेट नछुट्याइएको जानकारी दिए ।

प्रकाशित : वैशाख २३, २०७६ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×