कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यार्चा खोज्न नागरिकता

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा बहुमूल्य जडीबुटी यार्चागुम्बु टिप्न नागरिकता अनिवार्य गरिएको छ । सुरक्षा र व्यवस्थापनका दृष्टिबाट यार्चा टिप्नेलाई नागरिकता अनिवार्य गरिएको हो । 

यार्चा खोज्न नागरिकता

मनाङमा यार्चा टिप्न जिल्लावासीमात्रै नभई अन्य जिल्लाबाट पनि जाने गर्छन् । यार्चागुम्बु टिप्ने ठाउँमा हुन सक्ने अवाञ्छित गतिविधि, अमर्यादित क्रियाकलाप, गुन्डागर्दी, चोरीडकैती, लुटपाटलगायत क्रियाकलाप रोक्न नागरिकताको फोटोकपी राखेर परिचयपत्रसहित पुर्जी दिने गरिएको छ । एक दशकअघि यार्चागुम्बु खोज्ने क्रममा नारको लेकमा स्थानीयले गोरखा केरौंजाका ७ जनाको हत्या गरेपछि यार्चा टिप्न कडाइ गरिएको छ । त्यसयता नार र फुमा बाहिरी जिल्लाकालाई यार्चागुम्बु टिप्न प्रतिबन्ध छ ।

साबिक १३ गाविसमध्ये थोंचे र धारापानीको लेकबाहेक सबै ठाउँका लेकमा यार्चा पाइने भए पनि सोमबारदेखि नम्ग्याखर्कमा यार्चागुम्बु टिप्न खुला गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप), इलाका संरक्षण कार्यालय मनाङद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्चा टिप्नेलाई पुर्जी दिने गर्छ ।

नम्ग्याखर्क तत्कालीन ३ गाविस ताचैबगरछाप, नार र चामेको सीमा भएकाले अधिकारसम्पन्न नम्ग्याखर्क व्यवस्थापन संयुक्त उपसमिति गठन गरी बर्सेनि व्यवस्थापन गरिँदै आएको छ । समितिले यार्चागुम्बुको पुर्जीका लागि टेन्डर आहवान गरी व्यवस्थापन गर्दै आएको छ । उपसमितिका अध्यक्ष याद घलेका अनुसार टेन्डरमार्फत यस वर्ष ३६ लाख २० हजार रुपैयाँ सम्झौतामा चामेका मेघबहादुर विश्वकर्माले पुर्जी व्यवस्थापन गरेका छन् ।

विश्वकर्माका अनुसार गएको वर्ष वैशाख ३ गते पुर्जी खुलाइएको थियो । यस वर्ष हिमपात र आन्तरिक व्यवस्थापनले ढिलाइ भएको उनले बताए । संकलन अवधिभर गतवर्ष करिब २ सय जनाले यार्चागुम्बु टिपेकोमा यस वर्ष ३ दिनकै अवधिमा ३ सय जनाले पुर्जी लिएको उनले बताए । उनका अनुसार उक्त लेकमा ६ सयभन्दा बढी पठाउन पाइँदैन ।

कुन लेकमा कति पठाउने भनेर कोटा तोकिएको उनले बताए । करिब ४ हजार ३ सय मिटर उचाइ भएको नम्ग्याखर्क पुग्न चामेबाट १ देखि २ दिन लाग्छ । नम्ग्याखर्कमा यार्चा टिप्ने स्थानीयका लागि ३ हजार, जिल्लाभित्रका लागि ४ हजार ५ सय र जिल्ला बाहिरका संकलकलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ दस्तुर लिने विश्वकर्माले बताए । उनका अनुसार यार्चागुम्बु खोज्न धादिङ, गोरखा, लमजुङलगायत जिल्लाबाट संकलक आएका छन् ।

एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार मनाङका २५ भन्दा बढी लेकमा यार्चागुम्बु पाइने अनुमान गरिएको छ । साबिकको गाविसस्थित संरक्षण समितिले यार्चागुम्बु संकलनको जिम्मा लिएको छ । पुर्जीबाहेक व्यापारीलाई छोडपुर्जीबापत १ किलो बराबर १० हजार रुपैयाँ रोयल्टी लिइन्छ । स्थानीय तहले निकासी करबापत प्रतिकिलो १० हजार रुपैयाँ लिन्छ । व्यवसायीले सरकारलाई प्रतिकिलो ३० हजार रुपैयाँ राजस्व बुझाउनुपर्छ ।

सबैभन्दा पछि नार र फुको लेकमा असार पहिलो सातादेखि पुर्जी काटेर यार्चागुम्बु खोजिन्छ । बाहिरी जिल्लाकालाई प्रतिबन्ध लगाएको उक्त ठाउँमा स्थानीयलाई प्रतिव्यक्ति ३५ हजार तोकिएको छ । एक्यापका अनुसार मनाङमा गत वर्ष १ सय २९ किलो यार्चागुम्बुको छोडपुर्जी दिइएको थियो । एक किलोको ११ लाखदेखि १६ लाख रुपैयाँसम्म बिक्री गरिएको व्यापारीले बताएका छन् । धेरै समय हिमपात भएकाले यसपटक यार्चागुम्बु बढी भेटिन सक्ने एक्याप प्रमुख तिरुवाले बताए ।

यार्चा टिप्न कडाइ

यार्चागुम्बु संकलन गर्ने क्षेत्रमा मादक पदार्थ -रक्सीजन्य पदार्थ) सेवन गर्न, जुवातास खेल्न, वादविवाद तथा झगडा गर्न प्रतिबन्ध लगाइएको छ । 'विगतका वर्षमा रक्सी खाने, रक्सीसँग यार्चागुम्बु साट्ने, यार्चागुम्बु बाजी राखेर जुवातास खेल्ने प्रवृत्ति देखियो । यसले वादविवाद भयो । यसलाई प्रतिबन्ध लगाएका छौं,' नम्ग्याखर्क व्यवस्थापन उपसमितिका अध्यक्ष याद घलेले भने । यस्तै, काँचो दाउरा संकलन, डढेलो लगाउन तथा वन्यजन्तुको सिकार गर्न पनि रोक लगाएको उनले बताए ।

समितिका सचिव अपिल लामाका अनुसार बिनापुर्जी यार्चागुम्बु संकलन गरेको पाइएमा जफत गरेर जरिवाना गरिनेछ । बिनापुर्जी यार्चागुम्बु संकलन गरेको पाइएमा स्थानीयलाई ७ हजार र तत्कालीन ताचैबगरछाप, नार र चामे गाविस बाहेककालाई २५ हजार जरिवाना गर्ने र यार्चागुम्बु पनि जफत गर्ने निर्णय भएको छ ।

उनका अनुसार संकलकको नागरिकताको फोटोकपी र एउटा फोटो राखेर पुर्जी दिने गरिएको छ । उनीहरूलाई फोटोसहितको परिचयपत्र, पुर्जी वितरण गरिन्छ । 'हामी अनुगमनमा जाँदा परिचयपत्र र पुर्जी साथमा हुनुपर्छ । नत्र चोरीनिकासी गर्न लागेको ठहर्छ,' उनले भने । कुनै पनि हातहतियार बन्देज गरिएको छ ।

सुरक्षा व्यवस्था कडा

मनाङको नारस्थित लेकमा २०६६ जेठमा गोरखाका ७ जनाको हत्या भएपछि यार्चागुम्बु संकलन गर्ने सिजनमा अन्य समयमा भन्दा सुरक्षा सतर्कता बढाइने गरिएको छ । स्थानीय प्रशासन, स्थानीय तह, एक्याप, संरक्षण क्षेत्र व्यवस्थापन समितिसहित बसेको संयुक्त बैठकले यार्चागुम्बु संकलन स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको डीएसपी खडगबहादुर खत्रीले बताए ।

यार्चागुम्बु संकलन तथा निकासीको समयमा केही वर्षअघि अत्याधुनिक हतियारसहित मानिस भेटिएका थिए । सुरक्षा स्रोतका अनुसार यार्चागुम्बु संकलनका बेला घटना, दुर्घटना हुने र हतियारको त्रास देखाउन सक्ने भन्दै सुरक्षा सतर्कता बढाइएको हो । नम्ग्याखर्कमा यार्चागुम्बु टिप्न जानेलाई प्रहरीले नार र फु जाने बाटोको पुलमा क्युपार सीमा प्रहरी चौकीबाट खटिएका प्रहरीले खानतसाली गर्दै पठाउने गरेका छन् ।

प्रकाशित : वैशाख २२, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?