जनप्रतिनिधि रिक्त हुँदा काम प्रभावित

पद रिक्त भएका स्थानीय तहमा कहिले निर्वाचन हुन्छ भन्ने टुंगो छैन । नगर प्रमुख नहुँदा उपप्रमुखमाथि कार्यभार थपिएको छ ।
प्रदेश १ ब्युरो

विराटनगर — सुनसरीको धरान उपमहानगरका मेयरको निधन भएपछि उपमेयरको काँधमा दोहोरो जिम्मेवारी आएको छ । संखुवासभाको मकालु गाउँपालिका अध्यक्षको निधनपछि एक वर्षयता गाउँ नेतृत्वविहीन छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका पनि अध्यक्षविहीन छ ।

जनप्रतिनिधि रिक्त हुँदा काम प्रभावित

मुख्य नेतृत्व नहुँदा कतिपय काम अघि बढाउन समस्या पर्ने गरेको छ । उपप्रमुखहरूले न्यायिक समितिको नेतृत्व र अन्य कतिपय काम भ्याउनुपर्ने भएकाले जिम्मेवारी थपिएर असहज बनेको छ । पद रिक्त भएका स्थानीय तहमा कहिले निर्वाचन हुन्छ भन्ने टुंगो छैन ।


उपमहानगर नेतृत्वविहीन

धरान उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बिहान १० बजेदेखि अपराहन ५ बजेसम्म कुनै पनि कार्यक्रममा आफूलाई नबोलाउन आग्रह गरेकी छन् । औपचारिक कार्यक्रममा जाँदा समय लाग्ने र नियमित काम गर्न बाधा पुग्ने उनको बुझाइ छ । नगर प्रमुख नभएकाले उनीमाथि कार्यभार थपिएको छ ।


स्पोर्ट्स भिलेजको योजनादेखि सेउती-सर्दु करिडोरमा रिङरोड, धरानसँग बक्लौरीको ग्रामीण सडकसँग जोड्ने योजना, बसपार्क, सुकुम्बासी समस्या, खानेपानी योजना सबैमा उनले दैनिक कार्यसम्पादन गर्नुपर्छ । विकासे कार्यक्रमका लागि दैनिक ज्ञापनपत्र, मागपत्र, पूरा हुन नसकेका पुराना योजनाका फाइल उनैले पल्टाउनुपर्छ ।


कतिपय कामका लागि मन्त्रालय पनि उनैले धाउनुपर्छ । प्रमुख नहुँदा सबै जिम्मेवारी आफ्नो काँधमा आएकाले कतिपय जटिल मुद्दा आफ्नै विवेकले भ्याएसम्म जनहितमा गरिरहेको बताइन् । उनले भनिन्, 'मेयर भएका भए काम गर्न धेरै सहज हुन्थ्यो । जिम्मेवारी थपिएको छ, यसलाई चुनौती र अवसर दुवै मानेको छु ।'


२०७५ साउन १ गते नगर प्रमुख तारा सुब्बाको निधनपछि उपमहानगर प्रमुखविहीन बनेको हो । उनी नभएपछि विकास निर्माणका लागि नीति निर्माण, ऐन कानुन र कार्यान्वयन गर्ने, गराउने दायित्व उपप्रमुख भण्डारीको काँधमा थपिएको हो ।


प्रमुख हुँदा उपप्रमुखले अनुगमन समिति, न्यायिक समिति, पर्यटन समिति, महिला बालबालिका, गैरसरकारी संघसंस्थासँग समन्वयलगायत हेर्ने जिम्मेवारी थियो । प्रमुख अभावमा उपप्रमुखले सामान्य कार्यालय वा कुनै कार्यक्रम उद्घाटन गर्न प्रमुख अतिथि बन्ने निम्तोदेखि नगरको विकास निर्माण, लबिङ, बजेट विनियोजन, प्रतिपक्षको प्रश्नको जवाफदेखि धरानको गौरवका योजना सबैमा व्यस्त हुनुपरेको छ ।


'यहाँ उपप्रमुखले न्यायिक समितिमार्फत न्यायपालिका, बोर्डमार्फत कार्यपालिका र नगरसभामार्फत व्यवस्थापिका जस्ता तीनवटै अंग एक्लै हेर्नुपर्ने बाध्यता छ,' उपमहानरका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार पोखरेलले भने, 'उपप्रमुखमात्र हुँदा नीति निर्माण तह र कार्यान्वयन पक्षमा ओभर ल्याप भएको छ ।'


नीतिगत निर्देशन पाउने भएकाले प्रमुखको काम उपप्रमुखले गर्दा कर्मचारीको तहमा खासै असर नपरे पनि समग्र विकास निर्माणको कार्यान्वयनमा भने सैद्धान्तिक र संवैधानिक रूपमा पेचिलो हुने गरेको अनुभव पोखरेलले गरेका छन् । साबिक पाँचकन्या र विष्णुपादुका गाविस मिलेर धरान उपमहानगर बनेपछि जनसंख्या, क्षेत्र विस्तारसँगै कृषि, यातायात, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, भौतिक विकास निर्माणका क्षेत्र पनि बढेका छन् ।


समस्या पनि उत्तिकै बढेका छन् । गौरवका योजना पनि सञ्चालनमा छन् । धरान हवाई मैदान, सुन्दर बस्ती विकास आयोजनामा अत्याधुनिक बसपार्क, खानेपानी आयोजना, सुकुम्बासी समस्या जस्ता विषयमा उपप्रमुख एक्लैले 'डिल' गर्न समय अभावले नभ्याउँदा अनेक समस्या उत्पन्न भएका छन् ।


एक वर्षदेखि खाली

संखुवासभाको मकालु गाउँपालिकाका एक वर्षदेखि अध्यक्षविहीन छ । अध्यक्ष खडगबहादुर कटुवालको गाडी दुर्घटनामा २०७५ पुस ३० मा मृत्यु भएपछि गाउँपालिका उपाध्यक्ष चमेली राईले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् । पुस ३० मा बरुण मेला जाँदै गर्दा गाउँपालिका अध्यक्ष कटुवालसहित पाँच जनाको मृत्यु भएको थियो ।


रिक्त पदका लागि उपनिवार्चन हुने चर्चा चले पनि अहिलेसम्म निर्वाचन भएको छैन । जसका कारण स्थानीयले सोचेअनुसारको विकास पाएका छैनन् । विकासको काम पनि सुस्त रहेको स्थानीयले बताए । अध्यक्षको निधनपछि धेरै प्रशासकीय अधिकृत पनि नटिकेको नुमका दुर्गाबहादुर पराजुलीले बताए ।


सोचेअनुसारको काम पटक्कै भएको छैन, उनले भने, गाउँपालिकाको विकासले गति लिएन । जनप्रतिनिधि चर्चा बटुल्ने काममा मात्रै हिंडेको पनि उनले आरोप लगाए । कार्यवाहकको भरमा गाउँपालिका चलिरहेकाले प्रदेश र केन्द्रमा पहुँच नपुगेको उनको भनाइ छ । गाउँपालिकाले अधिकांश रकम ग्रामीण सडकमा खर्च गरिरहेको छ । शिक्षा, स्वास्थ्य र पर्यटन जस्ता क्षेत्र कम प्राथमिकतामा परेको छ । यो गाउँपालिकामा केन्द्रीय प्रसारणको बिजुली पुगेको छैन । घर भाडामा कार्यालय बसेका कारण सेवा पनि सहज ढंगले पाउन नसेकेको उनको भनाइ छ । उनले रिक्त पदका लागि उपनिर्वाचनको माग गरे ।


कार्यवाहक अध्यक्ष राई आफूले गाउँपालिकाको विकास गरिरहेको बताउँछिन् । अध्यक्ष नहुँदा पनि केही फरक परेको छैन, उनले भनिन्, गाउँवासीले विकासको महसुस गरिरहेका छन् । कार्यपालिकाबाट निर्णय गराएर विकासे काम अघि बढाइरहेको उनले बताइन् । हामीले भौतिक निर्माण, सडक विस्तारका काम गरिरहेका छौं, उनले भनिन्, सानोतिनो गुनासो त जता पनि भइहाल्छ नि ।


समृद्ध मकालु गाउँपालिका निर्माणमा जुटिरहेको उनले बताइन् । १६ महिना भयो कार्यवाहक भएर चलाएको, विकास भइरहेकै छ, उनले भनिन्, सबै काम जनतासँगको सहकार्यमा गरिरहेको छु । सबै क्षेत्रलाई मिलाएर विकासमा अघि बढेको उनले बताइन् ।

खाँदबारी नगरपालिका-३ का वडाध्यक्षको पनि हृदयाघातबाट मृत्यु भएपछि पद रिक्त रहेको छ । सोही नगरपालिकाको वडा नम्बर ५ का अध्यक्ष वैदेशिक रोजगारीमा कोरिया गएकाले उक्त पद पनि रिक्त रहेको छ ।


उपाध्यक्षलाई दोहोरो जिम्मेवारी

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको पनि उस्तै अवस्था छ । २०७५ फागुन २६ अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि अधिकांश कार्यमा बाधा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीका अनुसार अध्यक्षको निधनपछि गाउँपालिका अभिभावकविहीन भएको छ । 'उहाँ हुँदा सबै बसेर निर्णय कार्यान्वयन गर्न सजिलो थियो,' उनले भने, 'तर अहिले समस्या आएको छ ।' इलामसँग सिमाना जोडिएको यो गाउँपालिकामा ७ वटा वडा छन् । सबैमा कर्मचारी नहुँदा काम गर्न कठिनाइ छ ।


कार्यपालिका र गाउँपालिकाको बैठक बसेर निर्णय गरी योजनाका काम सञ्चालन गर्ने गरिएको छ । अध्यक्ष अभावमा कार्यवाहकका रूपमा उपाध्यक्ष देवित्रा आङदम्बेले काम गरिरहेकी छन् । कार्यभार थपिएको उल्लेख गर्दै उनले कार्यालयको नियमित कामदेखि बाहिरसम्म सबै भ्याउनुपर्ने बताइन् । सहभागिताको हिसाबले अध्यक्ष नहुँदा चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ ।


अध्यक्षको अभावमा कठिनाइ भए पनि कर्मचारी र अरू जनप्रतिनिधिको सहयोगमा काम भने अघि बढाइएको उपाध्यक्ष आङदम्बेले बताइन् । आफ्नो अध्यक्ष तत्काल छान्न पाए हुन्थ्यो भन्ने गाउँवासीको माग रहेको उनले उल्लेख गरिन् ।


प्रदीप मेन्याङ्बो (सुनसरी), दीपेन्द्र शाक्य (संखुवासभा) र ज्ञानु घिमिरे (पाँचथर)

प्रकाशित : वैशाख २२, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?