२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

'दक्षिण एसियाको चुनौती आतंकवाद'

काठमाडौँ — दक्षिण एसियाको आर्थिक विकासमा आतंकवाद प्रमुख चुनौती रहेको सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंघेले बताएका छन् । आफ्नै देश श्रीलंकामा हालै भएको बम विस्फोटको उदाहरण दिँदै उनले यो क्षेत्रको विकासका लागि सार्कस्तरीय सम्पूर्ण देशको सहयोग र सहकार्य महत्त्वपूर्ण हुने धारणा राखे ।

'दक्षिण एसियाको चुनौती आतंकवाद'

अफगानिस्तान, पाकिस्तान, श्रीलंकाका आतंकवादी हमलाले यो क्षेत्रको विकासमा धक्का दिएको उनको आशय थियो ।


‘दक्षिण एसियाको महत्त्व विश्वले बुझेको छ,’ उनले भने, ‘यसको सुन्दर भौगोलिक अवस्थिति, पर्याप्त प्राकृतिक स्रोत, उच्च युवा जनशक्तिबारे विश्वलाई थाहा छ । दक्षिण एसियाबिना एसिया महादेशको भविष्य छैन ।’ यस्तोमा दक्षिण एसियाले अहिले आएर अनपेक्षित चुनौती झेल्न थालेको उनले बताए । श्रीलंकामा आफूले शान्तिपूर्वक जीवन बिताइरहेका बेला आतंकवादी हमला भएको अनुभव सुनाए । विस्फोटमा आफन्त गुमाएका उनले यस्तो परिस्थिति बदल्न एक–अर्काको साथ चाहिएको धारणा राखे ।


बिहीबार काठमाडौंमा आयोजित सार्क उद्योग वाणिज्य संघको ७७ औं बैठकको उद्घाटन समारोहमा इदिरिसिंघेले व्यापारिक समुदाय र उद्योग क्षेत्रको आर्थिक प्रवर्द्धनका लागि सन् १९९३ मा संघ स्थापना भएको जानकारी दिए । उद्योगीहरू राजनीतिक एजेन्डाको पछि लाग्न नहुने उनले बताए । समारोहमा सार्क क्षेत्रका प्रतिनिधि उद्योगीले श्रीलंकाको संकटप्रति सहानुभूति प्रकट गरेका थिए । नेपाल, पाकिस्तान, भुटानलगायत देशका प्रतिनिधिले आफूहरू श्रीलंकाका जनताको पक्षमा रहेको बताए ।


संघका पूर्वाध्यक्ष दासो उगेन छेसुप दोर्जीले व्यापार क्षेत्रका मानिसहरू ऐक्यबद्ध नभएसम्म दक्षिण एसियाको समृद्धि सम्भव नहुने अभिव्यक्ति दिए । यसका लागि संवाद महत्त्वपूर्ण भएको उनको भनाइ थियो । सार्क क्षेत्रका व्यापारीलाई ट्राभल भिसामा समस्या रहेकोतर्फ औंल्याए । ‘हामी अघि बढदै छौं कि पछि हटदै छौं ?’ उनले भने, ‘हामी उद्योगी/व्यापारी एकजुट भयौं भने हाम्रा सरकारले पनि हामीलाई मद्दत गर्नेछन् ।’


समारोहमा पाकिस्तानका राजदूत मजहर जावेदले हामी अघि बढ्नुको विकल्प नरहेको बताए । ‘विश्वले हामीलाई पर्खनेवाला छैन,’ उनले भने, ‘अघि बढेनौं भने हाम्रा भावी पुस्ताले हामीमाथि प्रश्न गर्नेछन् ।’


नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सार्क देशलाई जोड्न सार्क उवा संघ प्लेटफर्म हुन सक्ने बताइन् । दक्षिण एसियामा नेपाल लगानीका लागि प्रमुख आकर्षणको थलो बन्दै गएको राणाको भनाइ थियो । हालै सम्पन्न लगानी सम्मेलनबाट सार्कलगायत विश्वमै नेपालमा बन्दै गएको लगानीको वातावरणका विषयमा सन्देश गएको उनले बताइन् ।


अध्यक्ष राणाले सार्क क्षेत्रमा आपसी सम्बन्ध विस्तारमार्फत यस क्षेत्रको समृद्धि हासिल गर्ने कार्यमा सार्क उवा संघको नेतृत्वदायी भूमिकाको अपेक्षा गरिन् । ‘सार्क विकास सक्षम क्षेत्र हो जसमाथि सारा विश्वको ध्यान छ,’ राणाले भनिन्, ‘नियमित भेटघाट, छलफल र निरन्तर सम्पर्कले हामीलाई अझ भाइब्रेन्ट बनाउँछ ।’

प्रकाशित : वैशाख २०, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?