कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ताजाकोट रुघाखोकी प्रकोप : प्रयोगशाला पुर्‍याउनै सकिएन खकार नमुना

सुर्खेत र हुम्ला — हुम्लाको ताजाकोटमा रुघाखोकी प्रभावित बिरामीको खकारको नमुना (थ्रोट स्वाब) संकलन गरिए पनि परीक्षणका लागि पठाउन समस्या भएको छ । संकलित नमुना समयमै प्रयोशालामा पुर्‍याउन नसक्दा त्यहाँ फैलिएको रोगको पहिचान हुन सकेको छैन ।

ताजाकोट रुघाखोकी प्रकोप : प्रयोगशाला पुर्‍याउनै सकिएन खकार नमुना

कर्णाली प्रदेश अस्पतालबाट खटिएको चिकित्सक टोलीले पाँचजना बिरामीको थ्रोट स्वाब लिएको छ । संकलित नमुना २४ घण्टाभित्र काठमाडौंको टेकुस्थित प्रयोगशालामा पुर्‍याउन सके रिपोर्ट राम्रो आउने उपचारमा संलग्न डा. केएन पौडेलले बताए । ‘६ घण्टाभित्र ल्याब परीक्षण गर्न सके त अझै राम्रो हुन्थ्यो,’ उनले भने, ‘ढिलो भयो भने रिपोर्ट स्पष्ट नआउन पनि सक्छ ।’


रुघाखोकी प्रभावित क्षेत्र जिल्ला सदरमुकाम सिमकोटदेखि पैदल ४ दिन दूरीमा पर्छ । त्यहाँबाट पैदल तथा गाडीमार्फत बाजुराको कोल्टी पुगेर जहाजमा नेपालगन्ज पुग्ने छोटो दूरी हो । स्थानीयका अनुसार सयममै हिँडेर कोल्टीमा पुग्नेबित्तिकै जहाज पाइयो भने पनि दुई दिनमा नेपालगन्ज पुगिन्छ । ‘यस्तो अवस्थामा समयमै नमुना पठाउन सकिने भनेको हेलिकप्टरबाट मात्र हो,’ डा. पौडेलले भने, ‘जहाजबाट पठाउन खोजियो भने हामीले खोजेको रिपोर्ट पाउनै सकिँदैन, यसले हुम्लामा फैलिएको रुघाखोकी कुन रोग हो भन्ने कुरा रहस्यमै रहन्छ ।’


संघीय सरकारसँग समन्वय गरी आइतबार प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टरबाट चिकित्सक र औषधि पठाएको कर्णाली प्रदेश सरकारले थप चिकित्सक र औषधि पठाउनुका साथै संकलित नमुना समयमै सम्बन्धित ठाउँमा पुर्‍याउनका लागि हेलिकप्टर आवश्यक रहेको जनाएको छ । ‘हिजो जसोतसो हेलिकप्टर व्यवस्था गरी प्रभावित क्षेत्रमा डाक्टर र औषधि पठायौं,’ सामाजिक विकासमन्त्री दल रावलले भने, ‘अब रोगको पहिचान र थप उपचार प्रबन्धका लागि संघीय सरकारसँग फेरि हेलिकप्टर माग गरेका छौं ।’


प्रभावित क्षेत्रमा अहिले चार चिकित्सकको टोली उपचारमा खटिएको छ । टोलीले बिरामीमा स्वाइनफलुको शंका गरेको छ । सोमबार रुघाखोकीबाट अधिक प्रभावित वडा १ र २ मा ४ सय १० जनाको स्वास्थ्य परीक्षण तथा उपचार भएको छ । तीमध्ये १ सय ३९ जना रुघाखोकीका बिरामी भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयका र्‍यापिट रेस्पोन्स टिम (आरआरटी) फोकल पर्सन श्याम आचार्यले बताए । उनका अनुसार प्रत्येक तीनमा एकजना रुघाखोकीका बिरामी छन् ।


‘यस हिसाबले महामारी भन्न नमिले पनि रुघाखोकीको प्रकोप अत्यधिक देखिन्छ,’ उनले भने, ‘यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नका लागि रोगको निदान हुनैपर्छ ।’ चिकित्सकका अनुसार स्वाइन फ्लुबाट रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति बढी जोखिममा हुन्छन् ।

प्रकाशित : वैशाख १७, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?