१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

क्याप्टेन विजय लामालाई प्रवक्ताबाट पनि हटाइयो 

शुक्रबार नागरिक उड्डयन प्राधिकरणले ग्राउन्डेड गरेको थियो लामालाई
सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई सोमबारदेखि प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । गैरजिम्मेवारी अभिव्यक्ति दिएपछि विवादमा तानिएका क्याप्टेन लामालाई प्रवक्ताबाट हटाइएको पत्र निगमले सोमबार प्राधिकरणलाई पठाएको हो ।

क्याप्टेन विजय लामालाई प्रवक्ताबाट पनि हटाइयो 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पुस ३ गते तत्कालीन प्रवक्ता अशोक सिग्देललाई जिम्मेवारीबाट हटाइ क्याप्टेन लामालाई दिएका थिए । एक्टीभ पाइलटलाई प्रवक्ताको जिम्मेवारी दिँदा उडान सुरक्षामा असर पर्ने जनाउँदै त्यसताकादेखि नै प्राधिकरणले कार्यकारी अध्यक्षको निर्णयमा असन्तुष्टी जनाउँदै आएको थियो । यसैबीच निगमको कार्यकारी अध्यक्षको सचिवालयले लामालाई प्रवक्ताबाट हटाइएको जनाउँदै चाँडै अर्को निर्णय हुने जनाएको छ ।

चैत १९ गते राति निगमको दुबई उडान रद्दबारे पाइलट लामाले एक अनलाइन टिभीलाई 'आफ्नो मानसिक र शारिरीक अवस्था ठिक नभएको' अभिव्यक्ति दिएपछि उनलाई प्राधिकरणमाहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो । उक्त पत्रबारे लामाले बुझाएको स्पष्टिकरण पत्र चित्तबुझ्दो नभएपछि आइतबार प्राधिकरणले लामालाई ग्राउन्डेड गरेको थियो । 'विजय लामालाई प्रवक्ताबाट नहटाएसम्म जहाज उडाउन नदिनु' भनेर पत्र पठाएका थियौं,' ती अधिकारीले भने, 'सोमबारै निगमले उनलाई प्रवक्ताबाट हटाएको पत्र प्राधिकरणमा पठाएको छ ।'


क्याप्टेन लामा नेपालको हवाई उड्डयन कानुनबारे जानकार नभएको प्राधिकरणले जनाएको छ । 'क्याप्टेन लामा नागरिक उड्डयन नियम अनुसार जहाज उडाउन फिट देखिएनन् । उनलाई हामी पहिला कानुनको कक्षामा राख्दै छौं । त्यसपछपि पनि उनको गैरजिम्मेवारी अभिव्यक्ति सुनिएमा मेडिकल जाँच गराउने छौं ।' उनले आफैं तनावमा रहेको स्वीकार गरेकोले प्राधिकरणले उनलाई जाँच्नुपर्ने दायित्व रहेको ती अधिकारीले बताए ।


क्याप्टेन लामालाई निगमले सोमबार प्रवक्ताबाट हटाएको पत्र ।

क्याप्टेन लामाले उक्त अन्तर्वार्तामा पाइलट लगायत उड्डयनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई 'आफ्नो इजाजतपत्र खारेज गर्न' चुनौती दिएका थिए । गत सोमबार बुझाएको स्पष्टिकरणपत्रमा उनले आफू पाइलटबाहेक नायक, पत्रकार, समाजसेवी, प्रशिक्षक पाइलट रहेको उल्लेख गर्दै स्पष्टिकरणमा कानुनी आधार नभएको जिकिर गरेका थिए ।


एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो। लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका छन् ।


क्याप्टेन विजय लामालाई प्राधिकारणले पठाएको ग्राउण्डेड गरेको पत्र ।

विमान उडाउने मुख्य जिम्मेवारी रहने पाइलटले नै आफू तनावमा हुने गरेका लगायतका मानसिक र शारिरीक समस्याबारे व्यक्त गरेकाले उनलाई स्पष्टिकरण सोधेको थियो । त्यसअघि एयर ट्राफिक कन्ट्रोलरहरुको पेशागत संगठन नाट्काले विज्ञप्ति जारी गर्दै लामालाई कारवाहीको माग गरेको थियो ।


क्याप्टेन लामाले प्राधिकरणलाई दिएको जवाफी पत्र ।

निगममा ३२ वर्षदेखी कार्यरत लामा नवौं तहका वरिष्ठ क्याप्टेन हुन् । हाल उनी एयरबसको वाइडबडी उडाउँछन् ।

प्रकाशित : वैशाख १६, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?