कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

४ भूकम्प बेहोरेका सम्पदा

सुनसरी र धनकुटा — श्री ३ जंगबहादुर राणाको उदयलगत्तै साबिक धनकुटाको मौनाबुधुक (चौबिसे गाउँपालिका–७) का अदलसिंह चेम्जोङ काठमाडौं उपत्यकातिर लागेका थिए ।

४ भूकम्प बेहोरेका सम्पदा

उनलेजंगबहादुरलाई भेट्न खोज्नाको एउटै कारण थियो– आफ्नो काँचो इँटा प्रयोग गरेर बनाइएको घरमा खरको साटो झिंगटीको छानो लगाउन अनुमति लिनु । नभन्दै अदलसिंहले जंगबहादुरको दर्शन पाए र अनुमति पनि । यति काम पूरा गर्न उनलाई झन्डै एक वर्ष लाग्यो ।


अदलसिंह घर फर्कंदा उनका ६ दाजुभाइबीच अंशबन्डा भइसकेको रहेछ । दाजुभाइ नै छुट्टिएपछि उनले झिंगटी छानो लगाउने विचार नै त्यागिदिए । उनका बाबुबाजेलाई राजा रणबहादुर शाहले सुवाङ्गी (सुब्बा पद) दिएकाले अदलसिंह पनि ‘सुब्बा’ कहलिएका थिए ।


घर निर्माण भएको ठ्याक्कै मिति थाहा नभए पनि संवत् १९०३ मा आएको भूकम्पलाई यही घरले थेगेको अदलसिंहका सातौं पुस्तामा पर्ने कृष्णगोविन्द (केबी सर) ले बताए । यो हिसाबले पनि घर निर्माण भएको १ सय ७५ वर्षभन्दा बढी हुन जान्छ । जंगबहादुर राणा श्री ३ बन्नुअघि नै यो निर्माण भइसकेको हिसाबमा यो घरको आयु झन्डै २ सय वर्ष पुगेको देखिन्छ ।


राणा प्रधानमन्त्रीले दिएको अनुमति कागजसँगै चेम्जोङ वंशका अरू महत्त्वपूर्ण दस्तावेज पनि संवत् १९९० को भूकम्पमा परेर नष्ट भए । घर भने जस्ताको तस्तै रहिरह्यो । यो घरले संवत् १९०३, १९९०, २०४५ र २०७२ को भूकम्पसमेत बेहोरिसकेको छ ।


ढुंगे जगमाथि काँचो इँटाको गारोले बनाएको यो घरको दलिन र खांँवा खप्ट्याएर (डबल) लगाइएका छन् । दुईतले घरभित्र एकसाथ कम्तीमा ८० सदस्य अटाउन सक्छन् । दुई फुट चौडाको गारो र घर वर्गाकार भएकाले विनाशकारी भूकम्प थेग्न सकेको हुन सक्ने कृष्णगोविन्दले बताए । घर निर्माणमा प्रयोग गरिएका काठ सखुवाजस्तै देखिन्छन् ।


तत्कालीन समयमा ‘सुवाङ्गी’ पाएका चेम्जोङहरूले बसेर छलफल गर्ने, कागजपत्र लेख्ने, पाहुना आउँदा स्वागत गर्ने फराकिलो सिकुवासमेत बनाएका छन् । चेम्जोङ पुर्खाहरू सातौं शताब्दीदेखि हालको चौबिसे आसपासमा बस्दै आएकाले उनीहरूले बनाएका सांगुरीगढी, बोधेयक (पधे–लिम्बू भाषामा सालक बढी पाइने क्षेत्र–अप्रभंश भएर बोधे), हाम्बेक राजाको दरबार सबै इतिहासका पानामा हराएका छन् । यद्यपि, चेम्जोङ वंशका अदलसिंह र उनका भाइहरूले बनाएको घर भने ऐतिहासिक धरोहरका रूपमा उभिएकै छ ।


खरले छाएको छानो पुरानो भएर पानी चुहिन थालेपछि १५ वर्षअघि चेम्जोङ परिवारले एकपटक छाएका थिए । चेम्जोङ वंशको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको घर भएकाले फेरि जीर्णोद्धार गर्न आफूहरू लागिपरेको चेम्जोङ वंशकै भगिराजले बताए ।


मौनाबुधुक घर भए पनि धरानमै व्यापार व्यवसाय गरेर स्थायी रूपमा बस्दै आएका भगिराजले भने, ‘कतिपय पुराना चिज फालिन्छन्, हामी बेवास्ता गर्छौं तर यो घरले लिम्बूवानको इतिहास बोकेको छ भनेर भर्खर थाहा हुँदैछ ।’ उक्त घरको कुनै पनि बनावट नबिगारी जीर्णोद्धार गरेर संग्रहालय बनाउन सकिन्छ कि भनेर पनि सल्लाह भइरहेको भगिराजले बताए । उक्त घर हाल अदलसिंहपछिको छैटौं पुस्ता भगिश्वर चेम्जोङको अंशमा परेको छ ।

५२ ढोके दरबारमा 'अंशबन्डा’

बजारको मध्यभागमा इँटाले बनेको एउटा पुरानो भवन छ । चारैतिर ढोका, कलात्मक शैली र पुरानो संरचनाले त्यसको ऐतिहासिक महत्त्वको झल्को दिन्छ । भूकम्पका कारण र उचित संरक्षण अभावमा जीर्ण देखिने उक्त भवन ५२ ढोके दरबारका रूपमा परिचित छ । धनकुटा–६ स्थित डेढ शताब्दी पुरानो भवनमा ५२ ढोका छन् ।


राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा बनेको भवन राजा त्रिभुवनका सौतेनी झाइ यक्षविक्रम शाहका लागि निर्माण गरिएको थियो । यक्षवित्रमलाई दलबल र सानसम्पत्तिसहित सरकारी सुविधा दिएर राजधानी निकाला गरिएको थियो । उनलाई धनकुटा पठाइने क्रममा दरबारसमेत बनाएर बसोबास गराइएको इतिहासविद् प्राध्यापक गोपालबहादुर भट्टराईले बताए ।


यक्षविक्रमलाई हालको परिचय होटल छेउदेखि निशान मन्दिर र भीमसेन हनुमान गुठी क्षेत्रको महत्त्वपूर्ण जग्गा सरकारी तबरबाट उपलब्ध गराइएको थियो । शाही परिवारले नारायणहिटीमा राजालाई गोढधुवा, टीकाभेटी, सलामीभेटी, साउने, फागुलगायतका रकम बुझाउनुपर्थ्यो ।


राजालाई सर्वसाधारणबाट दर्शनभेट गर्ने सुविधा पनि थियो । इँटालाई मास र चुनाले जोडेर भवन निर्माण गरिएको थियो । झिंगटीको छानो, फराकिलो चोक, चारैतिर झ्यालैझ्यालले सजिएको दरबार आफैंमा आकर्षक शैलीको थियो । यो दरबार व्यक्तिगत रूपमा रहेकाले यक्षविक्रमका खलकले अंशबन्डा गर्दै आएका छन् । ३६ इन्च बाक्लो गारो लगाएकाले कैयौं ठूला भूकम्पलाई समेत धानेको स्थानीयको भनाइ छ ।


५२ ढोके दरबार माक्र लामो समय यक्षवित्रमका सन्तान श्यामराजा शाह लगायतले अंशको आधारमा भोगचलन गर्दै आएका छन् । यद्यपि दरबारको एउटै भवन पनि अंशका आधारमा बाँडिएपछि अब यसको अस्तित्व लोपोन्मुख अवस्थामा पुगेको स्थानीय बताउँछन् ।


केही वर्ष पहिलेसम्म सग्लो अवस्थामा रहेको दरबार पछिल्लो अवस्थामा आधा भाग बिक्री भइसकेको छ । स्थानीय एक निजी विद्यालय रहेको आधा झाग दरबार व्यक्तिको नाममा बित्री भएको छ । अंशबन्डा गरिएकाले दरबार आधा खण्ड बिक्री गरिएको श्यामराजा बताउँछन् । ‘व्यक्तिगत सम्पत्ति भएकाले बिक्री हुनु स्वाभाविक हो,’ उनले भने, ‘संरक्षण गर्न भने जरुरी छ ।’


उक्त भवनको झिंगटी हटाएर हाल जस्ताले छाइएको छ । कतिपय ढोका पर्खाल लगाएर बन्द गरिएको छ । बिक्री गरिएको भवनको आधा भागमा गाँसेर टहरा र सटर बनाइँदा यसको मौलिकता लोप हुने अवस्थामा पुगेको छ ।


विद्यालयले खरिद गरेपछि पुरातत्त्व विभागमा संरक्षणका लागि पहलसमेत गरिएको प्रिन्सिपल केशव श्रेष्ठले बताए । यस्तै, संरक्षणका लागि स्थानीय प्रशासन र पुरातत्त्व विभागमा जानकारी गराउँदासमेत उचित चासो जान नसकेको स्थानीय नगेन्द्रभक्त श्रेष्ठले गुनासो पोखे ।


पुरातत्त्व विभागले गरेको सोधअनुसन्धानमा राणाकालीन वास्तुकलामा निर्माण भएको १३७ वर्ष पुरानो यो दरबार २०७२ को भूकम्पबाट ‘सामान्य क्षति मात्रै भएको’ पुष्टि भइसकेको छ ।


यो भवन भत्काउन खोजेको थाहा पाएपछि विभागले स्मारकका रूपमा रहेको यस्तो भवन आफूखुसी भत्काउन नहुने प्रावधान प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा रहेको उल्लेख गर्दै मर्मत/सम्भार, जीर्णोद्धार गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?