राष्ट्रपति सीले भने–‘विकासमा साथ छौं’

लक्ष्मी लम्साल

बेइजिङ — चीनका राष्ट्रपति सी चिनफिङले नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली अभियान’ प्रति चासो देखाएका छन् । ‘नेपालले संकल्प गरेको समृद्ध नेपाल, खुसी नेपालीको अभियानमा चीनको सदैव साथ छ,’ राष्ट्रपति सीले भने, ‘चीनलाई सम्झिनुहोला, यो विकासको सहयात्रामा साथ दिन चीन तयार छ ।’

राष्ट्रपति सीले भने–‘विकासमा साथ छौं’

बेइजिङस्थित नेपाली राजदूतावासले राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा उनका तर्फबाट यहाँ रहेका नेपालीलाई शनिबार साँझ सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनियाँ राष्ट्रपतिको यो अभिव्यक्तिबारे जानकारी दिएका हुन् ।


बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) दोस्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनको अन्तिम दिन शनिबार आयोजित राउन्ड टेबल बैठकमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघको २०३० एजेन्डा कार्यान्वयन गर्न हरित तथा दिगो विकास प्रवर्द्धन विषयमा सम्बोधन गरेपछि त्यसको प्रतिक्रियामा चिनियाँ राष्ट्रपतिले ऊक्त धारणा व्यत्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । ‘चिनियाँ राष्ट्रपतिले नेपालबारे गरेको खुसीको कुरा सुनाउँछु,’ मन्त्री ज्ञवालीले भने, ‘राष्ट्रपति सी चिनफिङको नेपालप्रतिको सद्भाव र दृढ एवं प्रस्ट विचारबाट नेपाल उत्साहित भएको छ ।’


राउन्ड टेबलका तीन सत्रमध्ये राष्ट्रपति भण्डारीको सम्बोधनलाई लक्षित गर्दै राष्ट्रपति सीले हिमालय क्षेत्रको महत्त्व धेरै ठूलो रहेको तर जलवायु परिवर्तनका प्रतिकूल असरले पार्ने प्रभावप्रति चिन्ता व्यक्त गरेका थिए । चीनले आपसी सहकार्यमार्फत जलवायु परिवर्तनका नकारात्मक असरहरू न्यूनीकरण गर्न चाहेको पनि राष्ट्रपति सीले सुनाए ।


चिनियाँ राष्ट्रपतिले हिमालयपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको रूपरेखामा रहेर नेपालको विकास प्रयासमा साथ दिने प्रतिबद्धता जनाएका छन् । उनले यस सहयोगबाट नेपाल भूपरिवेष्टित अवस्थाबाट मुक्त भएर भू–सम्पर्कित अवस्थामा रूपान्तरित हुन सक्ने अपेक्षा पनि गरे ।


‘नेपाल चीनको आर्थिक विकासबाट लाभान्वित हुन चाहन्छ,’ नेपाल–चीन रेलमार्ग निर्माणलाई संकेत गर्दै मन्त्री ज्ञवालीले भने, ‘त्यसका लागि कनेक्टिभिटी सर्वाधिक महत्त्वपूर्ण छ भन्नेमा हामी दुवै राष्ट्र सहमत छौं ।’


बलियो, समृद्ध र स्थिर चीन नेपालका निम्ति पनि अवसर भएको बताउँदै मन्त्री ज्ञवालीले नेपाल पनि तिब्बत र ताइवानलगायत क्षेत्र चीनको अभिन्न अंग रहेकोमा अविचलित रूपमा प्रतिबद्ध छ । नयाँ चीन स्थापनाको ७० वर्ष र खुलापन तथा आधुनिकीकरणको ४० वर्षमा चीनले गरेको अभूतपूर्व प्रगति नेपालका लागि पनि अवसर भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले नेपालले चीनबाट थप सहकार्य र सहयोगको अपेक्षा गरेको बताए ।


समारोहमा राष्ट्रपतिका तर्फबाट मौखिक भाषण दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले गत वर्षको अप्रिलमा चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चीन भ्रमणका बेला बहुआयामिक कनेक्टिभिटीबारे कुरा भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि त्यो साकार भएको बताए ।


राष्ट्रपतिका लागि स्वागत मन्तव्य दिँदै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालका विकास प्रयासहरूमा चीनले सहयोग र समर्थन दिँदै आएको बताए । चीन नेपालको वैदेशिक लगानीको सबैभन्दा ठूलो साझेदार र पर्यटनको दोस्रो ठूलो बजार भएको उनले बताए ।


झन्डै ४ सय हाराहारीमा उपस्थित नेपालीमाझ राष्ट्रपति भण्डारीलाई बोल्न आमन्त्रण गरिएको भए पनि उनले परराष्ट्रमन्त्रीलाई प्रतिनिधित्व गर्दै बोल्न लगाएकी थिइन् । बेइजिङमा सिमसिम पानी परेर चिसो बढिरहेका बेला आसन ग्रहणपछि राष्ट्रपति भण्डारीले सहयोगीमार्फत ज्याकेट मगाएर पहिरिएकी थिइन् ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?