नेता राईको चेतावनी, 'फोरम सरकारबाट बाहिरिन्छ'

काठमाडौँ — सत्तारूढ संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् ।

नेता राईको चेतावनी, 'फोरम सरकारबाट बाहिरिन्छ'

'संविधान संशोधनसहितको राजनीतिक सहमतिमा सरकारलाई दुई तिहाइ बनाउन सघायौं,' किराँत राई समाधिस्थल व्यवस्थापन समितिको तेस्रो अधिवेशनमा शनिबार नेता राईले भने, 'प्रधानमन्त्रीलाई सहमतिअनुसार संविधानको बाधक एउटा चुकुल खोलिदिनोस् भनेर पटकपटक सम्झायौं । नसुनेरै एक वर्ष बित्यो ।'


नेता राईले राष्ट्रिय जनता पार्टी संविधानको बाधक धारा संशोधन नभएकैले सरकारबाट बाहिरिएको बताए । 'सुखी नेपाली बनाउने हो भने सबैलाई समानुपातिक हक दिइनुपर्छ, आर्थिक समृद्धिको नाराले मात्र समानता आउन सक्दैन,' उनले भने, 'प्रधानमन्त्री अरूलाई समान देख्ने अवसर दिनु हुन्न । उहाँ बयलगाडाको गतिमा अगाडि बढिरहनुभएको छ । त्यसैले अब हाम्रो पार्टी सरकारबाट बाहिरिन्छ ।' उनले मुलुकमा अहिले पनि पुरानै बेथिति दोहोरिइरहेको बताए ।


किराँत राई यायोक्खाका अध्यक्ष दिवस राईले मृत्युपछि समाधिस्थ गर्ने परम्परा भएका आदिवासी किराँत जातिलाई पशुपति वनकाली क्षेत्रको विकल्पमा सरकारले जग्गा उपलब्ध गराउनुपर्ने बताए । अधिवेशनले नयनकृष्ण राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रकाशित : वैशाख १४, २०७६ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?