कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सम्पदा निर्माण झन् खस्किँदै‌

प्रशान्त माली

ललितपुर — भूकम्पले दुई तलामा सिमित बनेको पाँच तले मन्दिर जस्ताको तस्तै छ । गजुरको भाग त्रिपालले छोपेको छ । मन्दिरमा पानी चुहिदाँ टुडाल, खम्बा र मूर्ति खिया लागेको छ । मन्दिरमा स्केट फोल्डिङ राख्ने बाहेक केही काम भएको छैन ।

सम्पदा निर्माण झन् खस्किँदै‌

यो पाटनको विश्व सम्पदामा सुचिकृत कुम्भेश्वर मन्दिरको दृश्य हो । भुकम्पले क्षतिग्रस्त पाटन स्वठ टोलको तीन तले राधाकृष्ण मन्दिरमा घाँस उम्रेको छ । मन्दिर भुस्याहा कुकुरको बासस्थान बनेको छ ।


पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर अझै टेकोको भरमा छ । ठेकेदारको लापरवाहीका कारणले बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ मन्दिर पनि पुनर्निर्माण सम्पन्न हुन सकेको छैन । मत्स्येन्द्रनाथ मन्दिर २ वर्षमा सम्पन्न गर्ने गरि २०७३ मा प्रेरा/थेगिम/तुल्सी जेभीले भ्याटसहित ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएको थियो ।


यी भूकम्प गएको चार वर्ष वितिसक्दा पनि पुनर्निर्माण हुन नसकेका ललितपुरका केही सम्पदाका उदाहण हुन् । ०७२ बैशाख १२ को भूकम्पले जिल्लामा एक सय ४४ वटा सम्पदामा क्षति पुर्‍याएको थियो । जसमध्ये ३१ वटा सम्पदा पूर्ण क्षति, ६८ वटा आंशिक क्षति र ४५ वटामा सामान्य क्षति भएको थियो ।


पाटन दरबार क्षेत्रका १० वटा मठमन्दिरबाहेक अन्य क्षेत्रका सम्पदा पुनर्निर्माण सन्तोषजनक छैन । कुम्भेश्वर मन्दिरका मूलपुजारी माधवश्याम शर्मा भन्छन्, 'मन्दिर पुनर्निर्माण कछुवाको भन्दा पनि कम गतिमा भइरहेको छ । पुर्खाले मन्दिर ढल्नबाट बचाउँन गजुरदेखि दोस्रो तलासम्म एउटै खम्बा राखिएको छ । मन्दिरमा राखिएको त्रिपाल हावाहुरीले उडाउदा पानी छिरेर खम्बामा खिया लागेको छ । तै पनि टुलुटुलु हर्ने बाहेक केही गर्न सकेको छैन ।'


उनले बर्खाका बेलामा मन्दिरमा बस्न समेत डर लाग्ने गरेको बताए । 'यस्तैस्थित रहिरहेमा दैनिक नृत्य र बेलुकाको आरती पूजा बन्द गर्नुपर्ने अवस्था आउँछ,' उनले भने, 'सर्वसाधारणलाई मन्दिर प्रवेशमा समेत रोक लगाउनुपर्ने अवस्था आउँछ ।'


उनले मन्दिरको नाजुक अवस्थाका बारेमा ठेकेदार र नियमन गर्ने निकायलाई पटक पटक जानकारी गराएको बताए । 'तर, कसैले चासो दिएन,' उनले भने, 'ठेकेदार आउँछ, एक दुई दिन काम गरे जस्तो गर्छ । फेरि महिनौ‌ं दिन बेपत्ता हुन्छ ।' उनले मन्दिर समयमै पुनर्निर्माण नहुदाँ स्थानीयले पुजारीको आलोचना गर्ने गरेको बताए । पुरात्तत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय प्रमुख सन्दिप खनालले मन्दिर पुनर्निर्माण गराउन कार्यालयले पहल गरिहेको बताए । 'ललितपुर महानगरले पनि पहल गरिरहेको छ,' उनले भने, 'प्राविधिक कारणले ढिलाई हुनु स्वाभाविक हो ।' मन्दिर पुननिर्माणको ठेक्का धर्मएस/तुल्सी/ड्रामा जेभी (संयुक्त) ले २०७४ पुस मसान्तभित्र सम्पन्न गर्ने गरि २०७३ साउन १० मा भ्याटसहित २ करोड ८५ लाख ९३ हजार ४० रुपैयामा पाएको थियो । तर, ठेक्का अवधि सकिदाँ पनि एक चौथाई पनि काम भएको छैन । मन्दिरको पुनर्निर्माण पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले क्षमापूजा गरेर सुरु गरेका थिए । मन्दिर १४ औ शताब्दीमा जयस्थिति मल्लको पालामा बनेको हो ।


राधाकृष्ण मन्दिर पुनर्निर्माणको जिम्मेवारी पाएका ठेकेदार अहिले सम्पर्कविहीन छन् । मन्दिर चार करोड लागतमा बनाउने गरि बिनायक राम निर्माण कन्स्ट्रक्सले ठेक्का पाएको थियो । स्वठ टोल सुधार समितिका अध्यक्ष सविनराज जोशीले ठेक्कापट्टा रद्द गरेर ठेकेदारलाई कारबाही गर्न पटक पटक सम्बन्धित निकायको ध्यानआर्कषण गराएको बताए ।


'धेरै पटक डेलिगेसन गए,' उनले भने, 'पुरात्तत्व अधिकृत, सम्बन्धि साइट इन्जिनियर र ठेकेदारसँग पनि पटक पटक बैठक बसे । तर, केही सिप लागेन ।' स्मारक संरक्षण कार्यालय प्रमुख खनालले बीचमा हराएका राधाकृष्णका ठेकेदार सम्पर्कमा आएकाले कारबाही प्रक्रिया अगाडि नबढाएको बताए ।


'मन्दिर बनाउने जिम्मा पाएका दुई जना ठेकेदारबीच कुरा नमिल्दा ढिलाइरहेको थियो । अहिले एक जनाले मात्र बनाउने सहमती भएको छ,' उनले भने, 'अबको तीन महिनामा देखिने गरि काम हुन्छ ।' सुरुमा मन्दिरमा ठेकेदारले जग राखेको नमिलेको भन्दै स्थानीयले फेरि राख्न लगाएका थिए । त्यसपछि कुनै पनि काम अगाडी बढेको छैन ।


नेवार व्यापारीले आराध्यदेवका रुपमा पुजिने भीमसेन मन्दिर स्थानीयले पुनर्निर्माण गर्ने भनेको थियो । यसका लागि ललितपुर उद्योग वाणिज्य संघले जिम्मा लिएको थियो । पुरातत्त्व विभागले पुननिर्माणका लागि स्वीकृति दिन ढिलाइ गरेकाले समयमा पुनर्निर्माण गर्न नसकेको संघको भनाई छ ।


भूकम्पयता मन्दिरमा हुने भजनकीर्तन बन्द छ । सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाएको छ । ललितपुर उद्योग वाणिज्य संघ महासचिव एंव भीमसेन मन्दिर पुनर्निर्माण समितिका सदस्य सचिव मनोज बहादुर न्याछोय् भन्छन्, 'समितिले काम गर्ने आधिकारिक जिम्मेवारी पाएको ४ महिना मात्र भयो । संघले पुनर्निर्माण गर्न १० लाख रुपैया सिड मनीको रुपमा राखेका छौ । अब मन्दिर केही दिनमै भत्काउने तयारी भइरहेको छ ।'


पाटन दरवार क्षेत्रका दुई मणिमण्डप पार्टी, विश्वेश्वर, मल्लकालिन राजा योग नरेन्द्रको मूर्ति, सिंह स्तम्भ, तलेजु, कृष्ण मन्दिर, बहादुर शाह भवन, सुन्दरीचोकको पूर्वी भाग पुनर्निमाण सम्पन्न भइसकेको छ । चार नारायण र हरिशंकर मन्दिर पुनर्निर्माण जारी छ । काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक रोहित रञ्जितकारले हरिशंकर मन्दिरमा छानाको काम भइरहेको बताए । 'चारनारायणको बुट्टाको काम भइरहेको छ,' उनले भने ।

प्रकाशित : वैशाख १४, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?