कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामा अण्डा

अस्पतालले गुणस्तर मापन नै नगरी सस्तो दिएकै भरमा बिरामीको खानाका लागि यस्तो खाद्यान्न किनिरहेको छ
फातिमा बानु

काठमाडौं — अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ  । अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ  ।

वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामा अण्डा

अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्‍यो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिने सम्झौताअनुसार अस्पतालले सुयोगको टेन्डर स्वीकृत गरेको थियो । सस्तोमा दिए पनि सुयोगको योग्यता भने अस्पतालले तोकेअनुरुप थिएन ।


सुयोगले अस्पताललाई बुझाएको रासन परिणामसहितको मूल्यसूची हेर्दा पत्याउनै नसकिने छ । अहिलेको बजारभाउ अनुसार एउटा अण्डाको मूल्य १० देखि १२ रुपैयाँ पर्छ । सुयोगले अस्पताललाई प्रतिअण्डा एक पैसा तोकेको छ ।

चना प्रतिकिलो एक रुपैयाँ त्यस्तै जिरा, अदुवा ,बेसारको मूल्य पनि एकै रुपैयाँ तोकेको छ । तोरीको तेल प्रतिलिटर एकै रुपैयाँ छ भने नुन, गहुँको आँटा, चिनीको मूल्य पनि प्रतिकिलो १ रुपैयाँ नै छ । पत्याउनै नसकिने मूल्यको खाद्यान्न खरिद सम्झौता गर्न नहुने भन्दै पटकपटक विरोध गर्दा पनि अस्पतालले सुयोगकै टेन्डर स्वीकृत गरेको इकाईका एक कर्मचारीले बताए ।

उनले भने, ‘खाद्यान्न सामग्री खरिद सम्झौता गर्नुपूर्व गुणस्तर मापन गर्नुपर्छ । अस्पतालले गुणस्तर मापन नै नगरी सस्तो दिएकै भरमा बिरामीको खानाका लागि यस्तो खाद्यान्न किनिरहेको छ ।’ कर्मचारीका अनुसार यस्ता फर्मले टेन्डर हात पार्नकै लागि सामग्रीको सस्तोभन्दा सस्तो मूल्य तोक्छन् ।

टेन्डर हात परिसकेपछि एक दुई महिना तोकेकै भाउमा सामान दिन्छन् । त्यसपछि सामग्रीको बजार अभाव भन्दै अस्पतालमा सामान पठाउँदैनन् । कर्मचारी भन्छन्, ‘सामान अभाव भएपछि अस्पतालले अन्तैबाट कोटेसन (५ लाखभन्दा कम मूल्यको सिधै खरिद प्रक्रिया) मा सामान खरिद गर्छ । कोटेसनमा खरिद गरिएका सामान फेरि बजारभाउअनुसार नै महँगो हुन्छ ।’

अस्पतालको खरिद इकाई प्रमुख भगवती थपलियाको मिलेमतोमा बारम्बार खरिद कारोबार गर्दा अनियमितता भइरहने स्रोत कर्मचारी बताउँछन् ।

वीर अस्पतालका निर्देशक डा.केदार सेञ्चुरी मूल्याकंन समितिसँग छलफल गरेरै सुयोग फर्मलाई टेन्डर दिएको बताउँछन् । उनी भन्छन्, ‘ऐनअनुसार जसले सस्तोमा दिन्छ हामीले उसकै टेन्डर स्वीकृत गर्नुपर्छ । सुयोगले पत्याउनै नसकिने सस्तो भाउमा सामान दिएको हो तर सम्झौताअनुरुप बीचमा यही मूल्यमा सामान दिएन भने हामी सुयोगको टेन्डर रद्द गरिदिन्छौं ।’

एक पैसामा त कुहिएको अण्डा पनि नपाउने बताउँदै न्याम्सका उपकुलपति डीएन शाह भन्छन्, म ‘आलुप्याजको भाउ चेक गरेर बस्दिनँ । रजिस्टार, अस्पतालका निर्देशक, लेखा शाखा र मूल्याकंन समितिबाटै सुयोगलाई टेन्डर दिने सिफारिस आएपछि मैले विश्वास गरेर टेन्डर स्वीकृतमा हस्ताक्षर गरेको हुँ ।’

यति मात्रै होइन, टेन्डर कारोबारमा न्याम्सले पटकपटक अनियमितता गर्दै आएको छ । जसले सस्तोमा दिन्छ उसकै टेन्डर स्वीकृत गर्नुपर्ने नियमविपरीत न्याम्सले चमेना गृहको टेन्डर स्वीकृत गरेको छ । तीन वर्षअघि वीर अस्पतालभित्रको चमेना गृह सञ्चालन गर्न चार फर्मले टेन्डरका लागि निवेदन हालेका थिए ।

सन्तोषी खाजाघर नामक फर्मले ७ लाख २२ हजार ४ सयमा भाडा तिर्ने प्रस्ताव राखेको थियो र तर, न्याम्सले ९ लाख ६० हजार भाडा तिर्ने सर्तमा जी एन्ड बी क्याफेको टेन्डर स्वीकृत गरेको छ । हाल जी एन्ड बी क्याफेले नै वीर अस्पताल परिसरको चमेना गृह चलाइरहेको छ ।

स्रोत कर्मचारी भन्छन्, ‘सस्तोलाई नै टेन्डर दिने भए क्यान्टिनको हकमा यो किन लागू भएन । अनि रासन खरिद गर्दा सस्तोकै नाममा योग्यता नपुगेको फर्मले टेन्टर पाउँदा पनि सबै चुप छन् । गुण्स्तर नै चेकजाँच नगरी एक पैसामा पाइएको अण्डा बिरामीलाई खुवाउने ?’

न्याम्सबाट गत आर्थिक वर्षमा पनि उपकरण गर्दा खरिदमा अनियमितता भएको थियो । हिमालयन मेडिटेक सप्लाई फर्मले १५ करोड ९५ लाखमा दिन तयार भएको न्यूरो सिटी उपकरण टेन्डर अस्वीकृत गरी न्याम्सले बायोमेड इन्टरनेसनल सप्लाई फर्मसँग २० करोड ४९ लाख मूल्यमा टेन्डर स्वीकृत गरेको थियो ।

सार्वजनिक खरिद ऐन नियम अनुसार हिमालयनले पाउनुपर्ने टेन्डर बायोमेडलाई दिएपछि विवादमा परेको यो विषय अझै सुल्झिएको छैन । उपकरण खरिदमा अनियमितता गरेको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको न्यायिक समितिले न्याम्सका तत्कालीन उपकुलपति डा.गणेश गुरुङ, ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद उपाध्याय र न्याम्सको खरिद एकाई प्रमुख भगवती थपलियालाई आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।

गत वर्ष साउन ३२ गते कारबाही सिफारिस गरिए पनि हालसम्म यी पदाधिकारीलाई कुनै कारबाही भएको छैन ।

प्रकाशित : वैशाख १४, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?