दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् : विज्ञ

रासस

चितवन — महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो ।

दशौँ वर्षसम्म परकम्पन आउन सक्छन् : विज्ञ

उनका अनुसार जमिनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए । जमिनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पनले दिने उनले बताए ।


सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए । जमिनमुनिको शक्ति भूकम्पीय तरंगले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ । विसं १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रविन्दु भई महाभूकम्प जाँदा १० हजार ७०० ले ज्यान गुमाएको भन्दै उनले त्यसको प्रभाव भारतको दरभंगासम्म पुगेको बताए ।


विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको भन्दै उनले अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको बताए । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढीदेखि ठूला भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उनको भनाइ छ ।


भूकम्पीय जोखिम कम गर्न सरकारले जनतालाई सचेत गराउनुपर्ने पौडेल बताउछन् । भूकम्पले नभएर संरचनाले क्षति पुर्‍याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प आउँदा आपतकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । चार वर्षअघि गोरखाको बारपाकमा केन्द्रविन्दु हुने गरी गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो ।


चार वर्षमा १६ विद्यालय मात्र पुनःनिर्माण


चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ (शिक्षा) चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम हालसम्म १० प्रतिशत मात्रै भएको हो ।


कार्यालयका प्रमुख भक्तराज सेन्चुरीका अनुसार हालसम्म पुनःनिर्माण गर्नुपर्ने १५९ विद्यालयमध्ये १६ विद्यालयका ४४ कक्षाकोठा मात्रै निर्माण भएका छन् । निर्माण सम्पन्न भएका विद्यालय अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षका रहेका छन् । चालू आर्थिक वर्षमा ३६ विद्यालयका ११५ कक्षाकोठा निर्माणको काम भइरहेको छ ।


कार्यालयका इञ्जिनीयर सरोज श्रेष्ठका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित रु १८ करोड आठ लाख एक हजार ४२५ मध्ये हालसम्म रु १० करोड ५० हजार खर्च भएको छ । भूकम्प प्रभावित जिल्लामा चितवन कम प्रभावित जिल्लाको रुपमा पर्ने हुँदा शिक्षाको कार्यक्रममा पर्याप्त बजेट नआउँदा कामको प्रगति कम देखिएको उनले बताए ।


कार्यालय प्रमुख सेन्चुरीका अनुसार १५९ विद्यालयमध्ये कतिपय विद्यालय मर्मतसम्भारमा मात्रै परेका छन् । त्यस्ता विद्यालयको पनि काम भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख १३, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?