कर्मचारी नहुँदा भर्ना अभियान प्रभावित

प्रकाश बराल

बागलुङ — सबैजसो स्थानीय तहका शिक्षा शाखा रित्तै भएपछि यो वर्ष विद्यार्थी भर्ना अभियान अन्योलमा परेको छ । वैशाख २ देखि १४ सम्म विद्यार्थी स्वागत र भर्ना, १५ देखि ३० गतेसम्म घरदैलो अभियानमार्फत बालबालिका भित्र्याउने कार्यक्रम यसपटक सञ्चालनमा छैन ।

‍स्थानीय तह आफैं स्वायत्त भएकाले उनीहरूले अभियान सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए । ‘हामीले सबै विद्यालयमा पत्राचार गरेर अभियान चलाउनु भनेका छौं,’ उनले भने, ‘हामीले अनुरोध मात्र गर्ने हो, निर्देशन दिने अवस्था छैन ।’

सबैभन्दा धेरै बालबालिका विद्यालयबाट बाहिर रहने तथा भर्नामा आउन नसक्ने गाउँपालिका तहमा हुन्छन् । ६ वटै गाउँपालिकाका शिक्षा शाखामा अधिकृत अझै आइसकेका छैनन् । ‘भएका पनि सरुवा भएर गएका छन्, मेरो सरुवा हुनुअघि प्रधानाध्यापकको भेला राखेर भर्ना अभियान चलाउन आग्रह गरेको थिएँ,’ गलकोटका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भने, ‘अर्को तहमा हाजिर हुन जाँदै छु । उता कस्तो छ, बुझ्नैपर्नेछ ।’

धेरै बालबालिका विद्यालयबाहिर रहेको अनुमान गरिएको तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकालगायतमा शिक्षा हेर्ने एकजना पनि कर्मचारी छैनन् । जिल्लाका सामुदायिक विद्यालयमा बर्सेनि झन्डै १२ हजारसम्म भर्ना हुने गरेका थिए । यो वर्ष कति भर्ना हुन्छन् भन्ने तथ्यांक निकाल्ने संस्थासमेत नभएको उपाध्यायले बताए । ‘सबै नगर र गाउँपालिकाको तथ्यांक आएपछि मात्र हामीले बताउन सक्छौं,’ उपाध्यायले भने, ‘अधिकार र काम–कर्तव्यको उचित बाँडफाँटसमेत भएको छैन ।’

अघिल्ला वर्ष झन्डै ५८ हजार बालबालिकालाई भर्ना भएकै दिन पुस्तक उपलब्ध गराउने कार्यक्रमसमेत बनेको उनले स्मरण गरे । यो वर्ष कति पुस्तक आएको छ भन्ने यकिन नभएको उनले बताए ।

महिनाभरि अभियान
पर्वतमा भने सोमबारबाटै विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ९० हजार नयाँ विद्यार्थी विद्यालयमा भर्ना गराउने सरकारी लक्ष्यले १० दिनको अवधि सार्वजनिक गरेको छ । सामुदायिक विद्यालय भने वैशाखभर अभियानमा रहने भएका छन् ।

शिक्षक र विद्यालय व्यवस्थापन समिति पदाधिकारी घरघरै पुगेर विद्यार्थी ल्याउने तयारीमा छन् । बोर्डिङ स्कुलका कारण आएको भर्ना दरको कमी हटाउन सामुदायिकले प्राध्यापन प्रणाली र पाठ्यक्रममा सुधार पनि गरेका छन् । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मामा गएपछि केहीले छुट्टै संयन्त्र गठन गरेर भर्ना अभियान सञ्चालनको तयारी गरेका छन् ।

कुश्मा–१४, आर्थरको पञ्चकोसी मावि, फलेबास–५ खानीगाउँको भवानी विद्यापीठ, फलेबासकै शिशु निकेतन र कार्कीनेटाको अन्नपूर्ण माविलगायतले अघिल्लै वर्षबाट शिशु कक्षा र अंग्रेजी माध्यमको पाठ्यक्रम सञ्चालन गरिसकेका छन् ।

फलेबास नगरपालिकाले गत वर्षबाटै नगरभित्रका सबै विद्यालयमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरिसकेको छ । सबै विद्यालयका शिक्षकलाई ३ महिने विशेष भाषा प्रशिक्षण सञ्चालन गरेको नगरपालिकाले यो वर्षदेखि कक्षा २ मा अंग्रेजी माध्यमका कक्षा सञ्चालन गर्ने जनाएको छ ।

शिक्षकलाई विशेष प्रकारको तालिम दिएर ३ वर्षदेखि मन्टेश्वरी कक्षा सञ्चालन गरेको पञ्चकोसी माविले विगतको तुलनामा फडको मारेको दाबी गरेको छ । ‘दुर्गम भएकाले पहिला हाम्रो विद्यालय पिछडिएको थियो,’ व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद शर्माले भने, ‘अहिले ईसीडीमा थेगिनसक्नु चाप छ ।’

कक्षा ३ सम्म खेलको माध्यमबाट मात्रै सिकाइने पञ्चकोसीमा अघिल्लो वर्ष पूर्वप्राथमिक (ईसीडी) कक्षामा मात्रै ३५ जना विद्यार्थी भर्ना भएको उनले बताए । प्रधानाध्यापक अर्जुन शर्माका अनुसार स्थानीय शिक्षकलाई भेगको बाँडफाँट गरेर स–साना बालबालिकालाई विद्यालयमा ल्याउने योजना बनाएको छ ।

फलेबास–३ स्थित जनसहयोगी माविले चैतमै विद्यालयको कार्यक्षेत्रका शतप्रतिशत विद्यार्थी विद्यालयको पहुँचमा आइसकेको दाबी गरेको छ । ‘हामीले चैतको २० देखि घरघरै पुगेर विद्यार्थी कन्ट्याक्टमा ल्याइसकेका छौं,’ प्रधानाध्यापक गणेशबहादुर थापाले भने, ‘अब तिनीहरूलाई भर्ना गर्ने मात्रै हो ।’

एकजना पूर्ण अपांगताबाहेक कुनै पनि बालबालिका विद्यालय बाहिर नभएको उनले दाबी गरे । कटुवाचौपारीको सार्वजनिक माविले २ वर्षदेखि अंग्रेजी माध्यम र प्राथमिक तहमा निःशुल्क दिवा खाजा खुवाउँछ । यस्तो अभियान सुरु गरेको पहिलो वर्ष निजी विद्यालय छाडेर ६२ जना विद्यार्थी आएको सार्वजनिकमा यसपटक पनि वैशाखभर भर्ना अभियान चलाइने प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले बताए । ‘नयाँ विद्यार्थी आउने क्रम राम्रो छ,’ उपाध्यायले भने, ‘अंग्रेजी माध्यम सुरु गरेपछि निजी छाडेर आउने बढेका छन् ।’ शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीहरू अभिभावकका घरघरै पुगेको उनले बताए ।

सामुदायिक विद्यालयप्रतिको विश्वास र चासो बढाउन केही स्थानीय तह र वडाले जनप्रतिनिधि र सरकारी कर्मचारीका सन्तान अनिवार्य सामुदायिकमा पढाउनुपर्ने निर्णयसमेत गरेका छन् । जलजला गाउँपालिका–९ र मोदी–२ वडामा जनप्रतिनिधि, शिक्षक, व्यवस्थापन समिति र सरकारी कर्मचारीका सन्तान अनिवार्य सामुदायिकमा पढाउनैपर्ने निर्णय भएको वडाध्यक्षहरूले बताएका छन् ।

त्यस्तै महाशिला र पैयुंले अघिल्लो वर्षबाटै सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेका छन् । यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाएको कुश्मा नगरपालिकाका नगर शिक्षा संयोजक विष्णु तिवारीले बताए ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्

२५ वर्षपछि सरुभक्त

दीपक परियार

लेखनाथ — कुनै बेला थियो, सरुभक्त नाटक लेख्थे, खेल्थे र निर्देशन गर्थे । साहित्यको हरेक विधामा कलम चलाउने उनी तिनताका नाटक निर्देशनमा खुबै जमे । ५० को दशकको सुरुवातपछि भने निर्देशनमा ब्रेक लाग्यो । लेखनलाई निरन्तरता दिइरहे ।

२५ वर्षपछि सरुभक्तको निर्देशनमा तयार भएको नाटक ुबाकस’ मा अभिनय गर्दै कलाकार । तस्बिर : दीपक/कान्तिपुर 

३० देखि ४० को दशकमा पोखरेली नाटकलाई जुरुक्कै उचालेका उनै सरुभक्त २५ वर्षपछि पुनः निर्देशनमा फर्किएका छन् ।

उनको लेखन र निर्देशन रहेको नाटक ‘बाकस’ पोखरामा मञ्चन भइरहेको छ । पोखरा थिएटरको प्रस्तुतिमा गन्धर्व नाटकघरमा । सरुभक्त निर्देशनको स्वाद नभुलेका दर्शक थिएटर फर्किएका छन् । नाटकका हस्तीको ‘कमब्याक’ हेर्न नयाँ दर्शक थिएटरसम्म तानिएका छन् ।फेरि एकपल्ट पोखरेली नाटक सरुभक्तमय भएको छ ।

निर्देशनमा उनलाई नयाँ पुस्ताका निर्देशक परिवर्तनले सघाएका छन् । पोखरेली नाटकमा सरुभक्तलाई पहिलो पुस्ता मान्ने हो भने तेस्रो पुस्तामा पर्छन्, परिवर्तन । सरुभक्तपछि अनुप बराल,प्रकाश घिमिरे दोस्रो पुस्ताका हुन् । दुई पुस्ता मिलेर काम गर्दा सामुहिक रुपमा काम गर्ने भावना बलियो हुने ठान्छन्, सरुभक्त । ‘अहिले नयाँ प्रयोग पनि गर्न खोजिएको हो,’ उनी भन्छन्, ‘मेरो क्षमताले भ्याएसम्म काम गरेको छु ।’

पोखरेली रंगमञ्चको पुनर्जागरणपछि धेरैले उनलाई निर्देशनमा फर्कन आग्रह गरे । नाटकमा सक्रिय हुन उनीमाथि दबाब पर्‍यो । नाटक लेखिरहेकै थिए, निर्देशनलाई पनि जोडे । २०३४ मा पहिलो नाटक गर्दा उनी २२ वर्षका मात्रै थिए । एकांकी नाटक ‘डढेलोले खाएको वन’ को लेखन र निर्देशन आफैंले गरे, अभिनय पनि देखाए ।

पोखरेली युवा सांस्कृतिक परिवारकोस्थापना दिवसमा मञ्चन भएको नाटकले लाहुरेको कथा बोल्यो । एक वर्षपछि युवा नाटक परिवार (युनाप) ले जन्मलियो । उनैको लेखन निर्देशनमा पृथ्वीनारायण क्याम्पसमा ‘श्राप परेको घर’ मञ्चन भयो ।

उनलाई चिनाउने नाटक थियो, ‘एउटा घरको कथा होइन ।’ २०३६ को राष्ट्रिय नाटक महोत्सवमा उनको उक्त पहिलो पूर्णांकी नाटकले उत्कृष्ट निर्देशक र अभिनयमा प्रशंसा पुरस्कार पायो । तर उनले दुवै पुरस्कार बहिष्कार गरे । ‘उत्कृष्ट नाटक घोषित हुन्छ भन्ने सबैको अनुमान थियो,’ तीन दशकअघिको क्षण सम्झँदै उनले भने, ‘चयन समूहको निर्णयप्रति असन्तुष्टि जनाएर बहिष्कार गर्‍यौं ।’ उनको नाटकमा उनीसँगै अभिनयमा थिए, अर्जुनजंग शाही, उषा शेरचन, प्रकट पंगेनी ‘शिव’, तीर्थ श्रेष्ठ । ४० को दशकसम्म युनापमै उनी सक्रिय रहे ।

त्यति बेला पोखरामा नाट्यकर्म गरिरहेका अनुप बरालसँगको सहकार्यले उनलाई लेखकका रूपमा बढी चिनायो । प्रतिविम्ब नाट्य समूहमा दुवैको जोडी जम्यो । उनको लेखन र बरालको निर्देशनमा बनेको नाटक ‘थाङ्ला’ लाई खुब रुचाइयो । २०५१ मा राजधानीको सर्वनाम थिएटरलेे गरेको अन्तर्राष्ट्रिय नाटक उत्सवमा मञ्चन भएको नाटक ‘अग्निपर्खाल’ पछि भने उनले निर्देशनबाट विश्राम लिए । अघोषित रूपमा निर्देशनबाट संन्यास लिए ।

उनी आफूलाई मूल रूपमा नाटक लेखक भन्न रुचाउँछन् । उनले पछिल्लो क्रममा लेखनलाई नै जोड दिए पनि । नाटक संग्रह ‘युद्ध ः उही ग्यास च्याम्बरभित्र’, ‘इथर’, ‘गाउँघरका नाटकहरू’, ‘बालबालिकाहरूको नाटक’ लगायत प्रकाशित गरे । ‘थाङ्ला’, ‘सिरुमारानी’, ‘निरमाया’ लगायत उनका नाटक मञ्चन भए । ‘२५ वर्षपछि आउँदा खास नयाँ अनुभूति भएको छैन,’ उनी भन्छन्, ‘नयाँ कलाकारसँग काम गर्दा केही नयाँ अनुभव बटुलेको छु, सहज रूपमै लिएको छु ।’

युवावस्थामा नाटकमा लिप्त हुँदाको रोमाञ्चक अनुभूति बिर्सेका छैनन् उनले । आफू बाँच्नुको सार्थकता रंगमञ्चलाई मान्छन् । ‘रंगमञ्च मेरो लागि एउटा छुट्टै विश्व हो,’ नोस्टाल्जिक हुँदै उनले भने, ‘त्यति बेलाको जीवन मेरो सर्वप्रिय जीवन थियो ।’

'बाकस’ मा राष्ट्रवाद
‘पागलबस्ती’ उपन्यासमा जस्तै सरुभक्तको नाटकमा पनि प्रयोगवाद झल्किन्छ । ‘बाकस’ लाई उनी समसामयिक प्रयोगात्मक नाटक भन्छन् । नाटकमा उनले राष्ट्रवादलाई बलियोसँग प्रस्तुत गरेका छन् ।

‘बाकस’ ती युवाको कथा हो, जो सपना बोकेर बिदेसिन्छन् र बाकसमा बन्द भएर फर्कन्छन् । तिनै ‘बाकस’ माथि टेकेरनेताले कसरी राजनीति गर्छन्, नाटकमा देखाइएको छ । वर्तमान व्यवस्थामाथि व्यंग्य छ । देशलाई आमाको रुपमा प्रतिविम्बित गरिएको छ । आमा आईसीयूमा हुँदाराजनीति गर्नेहरू कति गैरजिम्मेवार, लाचार र स्वार्थी हुन्छन् भन्ने नाटकमा उजागर गर्न खोजिएको छ ।

नाटकमा नेताको पछि दौडिएर लाभ लिने पत्रकार पनि छन् । निःस्वार्थ रूपमा देशको चिन्ता गर्ने पत्रकार पनि छन् । नाटकको मियोमाती पात्र छन् जो रहस्यमयी बाकस बोकेर यताउता भौंतारिन्छन् । मानिसले उनलाई पागलको संज्ञा दिन्छन् । सबै दुर्भाग्यबाट मुक्त हुने आशा त्यो बाकसभित्र बन्द छ । तर एक दिन उनको धैर्यता टुट्छ । बाकसलाई माटोमुनि गाडेर आफू पनि बिदेसिन्छन् ।

यद्यपि आशाको बाकस पुरिए पनि नष्ट हुन नदिई जोगाउने कोही न कोही निस्कने सन्देश नाटकमा छ । नाटकले भन्छ, ‘एक दिन आमालाई रोगमुक्त बनाउने सन्तान जन्मनेछ, धैर्य गर, आशा राख ।’ सरुभक्तको पुनरागमनलाई सार्थक बनाउन कलाकारले मिहिनेत गरेका छन् । वैशाख ६ बाट मञ्चन सुरु भएको नाटक २१ सम्म चल्नेछ ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्