बस्तीमा ठडिँदै घरहरू

अनिश तिवारी

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिकाका पिस्कर, तौथली, टेकानपुरलगायत गाउँ चार वर्षअघिसम्म दुर्गम मानिन्थे । नेवारको पुरानो थातथलो थियो, तौथली । यो गाउँ अहिले भव्य बजारमा परिणत भएको छ । ‘त्यतिखेर झुपडी थिए । भूकम्पपछि यहाँको वातावरण एकैपटक परिर्वतन भयो, अहिले भव्य र सुन्दर बस्तीमा परिणत भएको छ,’ तौथलीका वडाध्यक्ष विष्णुभक्त श्रेष्ठले भने । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ स्थित हगाममा भूकम्पपछि पुनर्निर्माण भएको बस्ती । तस्बिर : अनिश/कान्तिपुर

भूकम्पले ध्वस्तै पारेको थियो, हेलम्बु, पाँचपोखरी र थाङपाललगायत गाउँलाई । पर्यटकीय क्षेत्रका रूपमा चिनिने यी गाउँहरू पनि अहिले चिटिक्क बनेका छन् । ‘भूकम्पले यहाँको अवस्था ज्यादै नाजुक थियो, अब बदलिइसकेको छ,’ हेलम्बु गाउँपालिका शेर्माथानका टसी लामाह्योल्माले भने ।

जुगल गाउँपालिकाको तेम्बाथान रंगीन जस्तापाताका घरले सजिसकेको छ । ‘यहाँका अन्य समस्या जे भए पनि पुनर्निर्माणले भने यहाँको अवस्था बदलिएको छ,’ तेम्बाथानका कामी शेर्पाले भने । भूकम्पपछि टहरा र पालले छोपिएको गाउँ अहिले सुन्दर बस्तीमा फेरिएको छ । ‘केहीले सिमेन्ट र इँटाको घर बनाएका छन् । अधिकांशले भने ढुंगामाटोकै घर बनाएका छन्,’ जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख सन्तोष निरौलाले भने ।

'आफ्नै गाउँ फर्किआएँ’
राजधानी काठमाडौंलगायत विभिन्न ठाउँहरूमा विस्थापित भएका स्थानीय बासिन्दा गाउँ चिटिक्क बनेपछि धमाधम फर्किन थालेका छन् । ‘चार वर्षमै हाम्रो गाउँ बजार जस्तै बनिसकेछ, काठमाडौं बसेर के काम ?’ २५ वर्षपछि थातथलो फर्किएका जुगल गाउँपालिका ७ का बजिरसिंह तामाङले भने । भूकम्पमा उक्त गाउँका ५७५ घर एकैपटक भत्किएका थिए । भागाभाग हुँदा ८६ जनाले ज्यान गुमाएका थिए ।

जुगल गाउँपालिका ७ हगामका वसन्त तामाङ पनि गाउँ फिरेका छन् । ‘हामीजस्तै ४० परिवार गाउँमै फर्केका छौं, सबै सुविधा पुगेपछि अन्य स्थानमा किन बस्नु ?’ उनले प्रतिप्रश्न गरे । जुगल गाउँपालिकाका हगाम, अझै पनि सडक नपुगेको तेम्बा थानमा पनि आफ्नै घर फर्कने भूकम्पपीडित परिवारको संख्या बाक्लिँदै गएको छ ।

ऋण लिएर घर
जिल्लाका अधिकांश भूकम्पपीडितले ऋण गरेर भए पनि आवास निर्माण सम्पन्न गरेका छन् । २४ प्रतिशतसम्म चर्को ब्याजमा ऋण लिएर भए पनि आवास ठड्याउने धेरै छन् । विदेशको कमाइले घर बनाउने पनि उत्तिकै छन् । जिल्लाको पूर्वी भेगको भोटेकोसी गाउँपालिकाको लिस्तीकोटका पासाङ शेर्पा भने घर बनाउँदा लिएको ऋण तिर्न विदेश जाने तयारीमा जुटेका छन् ।

‘नेपालमै बसेर यत्रो ऋण तिर्न सकिँदैन, त्यसैले विदेश गएर भए पनि तिर्ने तरखरमा छु, घर नबनाई सुख पाइँदैन,’ उनले भने । भूकम्पमा लिस्तीकोटमा मात्रै हजारभन्दा बढी घर भत्किँदा ६३ जनाको मृत्यु भएको वडाध्यक्ष मुके शेर्पाले बताए । ‘घर त एकदमै बेजोड बनेका छन् तर सरकारले दिएको अनुदानमा ऋण थप्दा अब कसरी तिर्ने भन्ने समस्या छ,’ उनले भने ।

भोटेकोसी गापा मार्मिङकी सुनमाया तामाङले आवास निर्माण सक्नका लागि भए पनि बिदेसिने तरखरमा रहेको सुनाइन् । ‘घर बनाएकै तीन लाख ऋण छ, त्यही तिर्नका लागि विदेश जाँदै छु,’ उनले भनिन् । तिब्बतसँग जोडिएका सीमावर्ती गाउँका अधिकांश भूकम्पपीडितलाई ऋण तिर्नकै लागि विदेश जाने बाध्यता आइलागेको छ ।

गति लिँदै सदरमुकाम
सदरमुकाममा भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको छ । चौतारा सागाचोकगढी नगरपालिकामा मात्रै ८३ प्रतिशत घर बनिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ । ‘सदरमुकाम पुनर्निर्माणमा भन्दा पनि भोटेकोसी गापा भने पछाडि छ । त्यहाँ ४३ प्रतिशत मात्रै काम भएको छ,’ जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख निरौलाले भने ।

चौसागढी नगरमा १३ हजार ९ सय घरधुरी क्षति भएकामा ९ हजार ९ सय १२ घर बनिसकेको उनले सुनाए । भोटेकोसीमा ४ हजार २ सय २६ लाभग्राही छन् । तीमध्ये १ हजार ८ सयले मात्रै घर निर्माण गरेका छन् । त्यसैगरी हेलम्बु गाउँपालिकामा ५ हजार ४ सय २२ भूकम्पपीडित छन् ।

त्यहाँका ३ हजार ९ सय ४३ ले घर बनाएका छन् । पाँचपोखरी थाङपालमा ७ हजार ३ सय ५९ पीडितमध्ये ३ हजार ७ सय १८ परिवारले घर बनाएका छन् । जुगल गाउँपालिकामा ५ हजार ६ सय ६६ मध्ये ४ हजार ९६ ले आवास बनाइसकेका छन् ।

एकीकृत बस्तीको लहर
मेलम्ची नगरपालिकाको गिरानचौरमा धुर्मुसुन्तलीको एकीकृत बस्तीझैं जिल्लाका विभिन्न स्थानमा त्यस्ता बस्ती बनाउने चटारो चलेको छ । चौतारा सागाचोकगढी नगरपालिका ११ झ्याडी टोलमा अभिनेत्री श्वेता खड्काको पहलमा ५६ माझी परिवारका लागि एकीकृत बस्ती बनेको छ । इन्द्रावती गाउँपालिका ११ बिस्देउटारमा ओरेक नेपालले सुविधा सम्पन्न आवास ठड्याएको छ ।

त्यसबाहेक जनहित ग्रामीण सेवा समिति र अक्सफामको सहयोगमा हेलम्बु गाउँपालिकाको तेम्बाथानमा १९ परिवारका लागि ह्योल्मो एकीकृत बस्ती तयार भइसकेको छ ।

स्थानीयको समन्वयमा अझै मेलम्ची नगरपालिकामा नम्डोडोलिङ एकीकृत बस्ती, जरायोटार एकीकृत बस्ती, थाक्ले गरी ३ वटा एकीकृत बस्ती निर्माणाधीन छन् । स्थानीयको पहलमा केही स्थानमा एकीकृत बस्तीको प्रयास पनि गरिएको छ ।

सरकारी अनुदान, सामाजिक संघसंस्था र व्यक्तिगत लगानीमा सिन्धुपाल्चोकमा ६१ हजार घर निर्माण भएका छन् । भूकम्पअघिका झुपडी र साधारण प्रकृतिका घरहरू हेर्दाहेर्दै एकै स्वरूपका र सुविधायुक्त बनेका छन् । बस्तीहरू चिटिक्क र निकै आर्कषक देखिन्छन् । पुनर्निर्माणपछि गाउँको मुहार फेरिँदै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार ८८ हजार २ सय ४९ भूकम्पपीडितमध्ये ६१ हजारले आवास ठड्याइसकेका छन् । गैरसरकारी संस्थाको सहयोगमा झन्डै ५ हजार घर बनेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।
भूकम्पलगत्तै तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले ६६ हजार घर (९५ प्रतिशत) भत्किएको तथ्यांक सार्वजनिक गरेको थियो । पीडितले आफूहरू छुटेको भन्दै गुनासो गरेपछि घरको संख्या थपिँदै गएको छ ।

३ नगरपालिका र ९ गाउँपालिका धेरै ठाउँ सडक सञ्जालसँग जोडिएपछि पुनर्निर्माण सहज भएको हो,’ जिल्ला इकाई प्रमुख निरौलाले जानकारी दिए । अहिले पनि छुट भएका घर बनाउनका लागि प्राविधिक खटाइएको छ । पहिरोको जोखिममा रहेका केही स्थानबाहेकमा पुनर्निर्माणले गति लिइरहेको उनको भनाइ छ ।

अहिलेसम्म पहिचान गरिएका ८८ हजार २ सय ४९ भूकम्पपीडितमध्ये ८५ हजार ५ सय २३ ले सम्झौता सकेर पहिलो किस्ताबापतको रकम बुझिसकेका छन् । ७९हजार ३ सय ३८ ले दोस्रो र ६१ हजार ४ सय २५ जनाले तेस्रो किस्ता पाइसकेका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

पाहुनाको पर्खाइ

बलराम घिमिरे

रसुवा — भूकम्पले ध्वस्त बनाएको सुन्दर पर्यटकीय स्थल लाङटाङ पुनर्निर्माणपछि पुरानै अवस्थामा फर्किएको छ । विस्थापित सबै स्थानीय आफ्नै थातथलोमा फर्किएका छन् । उनीहरू पाहुनाको स्वागत गर्न आतुर छन् । 

त्यो बेला भूकम्पबाट बाँच्न सफल भएकाहरू विस्थापित भएर काठमाडौंको एलो गुम्बामा बस्न बाध्य भएका थिए । ‘साविकको लाङटाङ गाविस पुनर्निर्माण भएर भूकम्प जानुभन्दा अगाडिकै अवस्थामा पुगेको छ,’ गोसाइँकुण्ड गाउँपालिका ४ का वडाध्यक्ष सुब्पा लामाङले भने ।

लाङटाङ क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी पुनर्निर्माणको काम भइसकेको तामाङले बताए । भूकम्प प्रतिरोघि घर र होटल निर्माण भएसँगै लाङटाङ झन् सुरक्षित भएको छ । भूकम्पपछि थातथलोमा फर्केका लाङटाङवासीले पुरानै पेसा र व्यवसाय गर्न थालेको स्थानीय ढिन्डुप तामाङले बताए ।

पर्यटकीय क्षेत्र भएकाले लाङटाङवासीको मुख्य पेसा–व्यवसाय होटल र पशुपालन हो । पुनर्निर्माणको तथ्यांकअनुसार लाङटाङमा १२५ घरधुरी छन् । भूकम्पपछि पुनर्निर्माण गरिएका ८५ प्रतिशतभन्दा बढी घरमा स्थानीयले होटल व्यवसाय सञ्चालन गरिसकेको पर्यटन व्यवसायी तेम्बा लामाले बताए ।

होटल व्यवसायी गाउँ फर्केर पुरानै पेसामा जम्न थालिसकेका छन् । भूकम्पपछि क्याङजिनमा ६ वटा होटल थपिएका छन् । विगतमा पशुपालन गर्ने कृषक पनि अहिले नयाँ बनेका घरमा होटल व्यवसाय गर्न थालेका छन् ।

थाङस्यापका बाबु तामाङ पुराना चौंरी पालक हुन् । भूकम्पपछि उनले त्यो व्यवसाय छोडे । ‘भूकम्पले चौरी मरे । त्यो पेसामा धेरै दुख गर्नुपर्छ,’ उनले भने, ‘दुःख गर्ने उमेर गइसक्यो अब होटल मात्रै चलाउँछु । चौरीभन्दा होटलबाट राम्रो आम्दानी हुन्छ ।’

लाङटाङमा पशुपालन र कृषि पेसा गर्नेको संख्या थोरै छ । जंगली जनावरले गर्दा कृषि पेसा गर्न समस्या छ । बारीमा लगाएको सबै खेती बँदेलले खाइदिने कृषक बताउँछन् ।

भूकम्पका कारण आएको हिउँ पहिरोमा परी लाङटाङमा २० जना कृषकको मृत्यु भयो । ४ सयभन्दा बढी चौंरी, याक तथा नाक मरे । भूकम्प जानुभन्दा अगाडि लाङटाङमा ३० वटा चौरी गोठ रहेकोमा अहिले १८ वटा मात्र रहेको गोठ समितिका अध्यक्ष तेन्जेन लामाले बताए ।

भूकम्पपछि पर्यटकीय क्षेत्र लाङटाङमा चौंरी पाल्ने कृषकको संख्या घट्दै गएको छ । भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निर्माण नहुँदा कृषकले चौंरी पाल्न छाडेको लामाले बताए ।

विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोमा परी लाङटाङका स्थानीय बासिन्दा, स्वदेशी तथा विदेशी पर्यटक गरी २१० जनाले ज्यान गुमाउनपर्‍यो । तीमध्ये १७५ जना लाङटाङका स्थानीय थिए । अझै पनि कतिपय हराइरहेका छन् ।
बेपत्ता हुनेमा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नारायण दल गणका १० जना सेनासमेत छन् । अझै कति जना बेपत्ता छन् भन्ने यकिन तथ्यांक कसैसँग पनि छैन । यस क्षेत्रको पर्यटन व्यवसाय लगभग शून्यमा झरेको थियो । स्थानीय आफैं पर्यटन विकासका लागि पुनर्निर्माणमा जुटेका हुन् ।

लाङटाङलाई पुरानै अवस्थामा फर्काउन स्थानीयको सक्रियता झन बढेको छ । पर्यटक बस्नका लागि सुरक्षित होटल र घर बनिसकेका छन् । भूकम्पले भत्काएको गोरेटो बाटो र पुल पनि निर्माण भइसकेको छ । भूकम्पपछि पदमार्ग सुधार र होटलहरूको पुनर्निर्माण भए सँगै घुम्न आउने पयटर्कहरूको संख्यामा क्रमशः वृद्धि हुँदै गएको छ । रिमिचे, लामा होटल, रिभरसाइड, छुनामा, घोडातबेला, थाङस्याब, गुम्बाडाँडा, लाङटाङ, मुन्डु, सिन्दुम र क्याङजिनमा नयाँ घर र होटलहरू बनिसकेका छन् ।

पर्यटक आउन थाले पछि सुनसान रहेको लाङटाङ क्षेत्रमा चहलपहल सुरु भएको छ । सिजनको बेला दैनिक ७० देखि ८० पर्यटक लाङटाङ आउने गरेको होटल व्यवसायी ढिन्डुप तामाङले बताए । ‘पर्यटक संख्या बढेर भूकम्प जानुअगाडिकै अवस्थामा पुगेको छ,’ उनले भने । भूकम्प पछि बन्द भएको प्रहरी चौकी र स्वास्थ्य संस्था अहिले संचालनमा आएका छन् । क्याङजिनमा १ सय १० किलोवाटको नयां लघुजलविधुताको निर्माण सम्पन भएको छ । त्यसले लाङटाङ बस्ति झलमल भएको छ ।

भूकम्प पछि लाङटाङको अवस्था कस्तो छ भनेर हेर्न आउने पर्यटक बढेको क्याङजिनका होटल व्यावसायी ङेरुप लामाले बताए । उनले भने, ‘अब लाङटाङको यात्रा सुरक्षित छ ।’ पछिल्लो समय लाङटाङ घुम्न आउने आन्तरिक पर्यटक पनि बढ्दै गएका छन् ।

भूकम्पभन्दा अगाडिजस्तै गरी विदेशी तथा स्वदेशी पर्यटकहरूलाई स्वागत गर्न लाङटाङ फेरि तयार भएको छ । स्थानीयवासीहरू आफैं पर्यटन विकासका लागि लाङटाङको पुनर्निर्माणमा जुटेका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्