साउदीमा ११ सय ६३ नेपाली कामविहीन, १० करोड तलब पाउन बाँकी

तीन महिनाभित्र फर्काउन निर्देशन
होम कार्की

काठमाडौँ — साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कन्स्ट्रक्टिङ कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन पर्खिरहेका छन् ।

समयमा कामदारलाई तलब दिन नसकेर संकटमा फसेको अजमिल कम्पनीमा झन्डै ३७ हजार विदेशी कामदार थिए । पछिल्लो एक वर्षमा मात्रै उसले २० हजार कामदार फिर्ता पठाइसकेको छ । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले नेपाली कामदार तीन महिनाभित्र फिर्ता भइसक्ने आशा व्यक्त गरे । 'श्रम कार्यालयका महानिर्देशकसँग कुरा गरेका छौं, कम्पनीलाई तीन महिनाको समय दिएको उनले बताएका छन्,' राजपुतले कान्तिपुरसँग भने ।

त्यस कम्पनीमा कार्यरत नेपालीले मात्रै झन्डै १० करोड रुपैयाँ तलब पाउन बाँकी छ । कम्पनीले धेरै तलब बाँकी रहेका नेपालीलाई पठाएको छैन । त्यहाँ मासिक एक हजारदेखि तीन हजार रियालसम्म तलब पाउने नेपाली छन् । कम्पनीले नोभेम्बरसम्मको मात्रै तलब भुक्तानी गरेको छ । फेब्रुअरीदेखि काम दिएको छैन । छाडेर जाने कामदारलाई प्राथमिकतामा राखेर स्वदेश पठाइरहेको छ । गएको एक वर्षमा मात्रै ९ हजार नेपाली स्वदेश फर्किसकेको बताइएको छ ।

'साउदीमै अर्को कम्पनीमा गएर काम गर्न चाहने नेपाली कामदारलाई रिलिज दिने व्यवस्था मिलाइएको छ,' राजपुतले भने, 'सयभन्दा बढी नेपालीले साउदीमै काम गर्न इच्छा देखाएका छन् ।' उनले इकामा -भिसा भएका) कामदारलाई छिट्टै पठाउन सजिलो हुने बताए । 'समस्या समाधानका लागि साउदी सरकारले समन्वय गरिरहेको छ । साउदीले गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह गरिरहेको छ,' उनले भने ।

कामविहीन भएका कामदारलाई कम्पनीले साउदीको विभिन्न ठाउँमा राखेको छ । सबैभन्दा बढी दमामको दहरान क्याम्पमा ४ सय ५०, जुबेलमा २ सय ५०, खोवरमा ३ सय, जेद्दाभन्दा २ सय किमि परको रबिकमा एक सय र बाँकी अन्य क्याम्पमा राखिएका छन् । ती कामदारसँग दमामस्थित नेपाली दूतावासका प्रतिनिधि हरि घिमिरे नियमित सम्पर्कमा छन् । उनले श्रम कार्यालय र कम्पनीसँग समन्वय गरिरहेको बताए । 'अलपत्र कामदारलाई यथासक्य छिटो पठाउन पहल भइरहेको छ,' उनले भने, 'कम्पनीले नेपालीसहित १५ हजार विदेशी कामदार पठाउनुपर्ने भएकाले केही समस्या देखिएको हो ।'

उनले ८० प्रतिशत नेपाली कामदार स्वदेश फिर्न सफल भइसकेको बताए । नेपाली कामदारका अनुसार पाकिस्तानी कामदारले हडताल गरिदिएपछि कम्पनीले नियमित कामदार आपूर्ति गर्न नसक्दा ठेक्का गुमेको थियो । त्यस कम्पनीमा पाकिस्तानी कामदारको बाहुल्य छ ।

दमाम क्याम्पमा रहेका हरि बुढाथोकीले खानामा समस्या देखिन थालेको बताए । '७ महिनादेखि बिना काम बस्ने साथीहरू पनि छन् । जति दिन लम्बिँदै गयो, कम्पनी थप संकटमा फस्दै गएको जस्तो लाग्छ,' उनले भने, 'भोलि के हुन्छ भनेर सधैं त्रासमा बस्नुपरेको छ ।'

उनले थोरै मात्रै कामदार पठाइने गरेको बताए । 'हजारौं कामदार अलपत्र परेका छौं, महिनामा ३०/४० जना पठाउँदा समुद्रबाट एक गाग्री पानी निकालेको जस्तो हुन्छ,' उनले भने ।

प्रकाशित : वैशाख ११, २०७६ २१:४५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सियान पुगिन् राष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी चीनको ९ दिने राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको सियान पुगेकी छन् । राष्ट्रपतिको टोलीलाई सियान विमानस्थलमा उक्त प्रान्तका उपगभर्नर हु मिङल्याङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत होउ याङकीले स्वागत गरेका थिए । 

चीनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालका अनुसार राष्ट्रपति भण्डारीसँग बिहीबार सान्सीका गभर्नर लिउ गोजङले भेटवार्ता गर्नेछन् । त्यसपछि भण्डारी बेइजिङका लागि प्रस्थान गर्नेछिन् ।
बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसियटिभ्स -बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन राजकीय भ्रमणमा निक्लेकी राष्ट्रपति भण्डारी शुक्रबार बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसियटिभ्स -बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा एक सय देशका प्रतिनिधिले भाग लिँदैछन् । शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङले ३७ देशका राष्ट्र तथा सरकार प्रमुखबीच राउन्ड टेबल बैठक गर्दैछन् । त्यसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, म्यानमारकी स्टेट काउन्सिलर आङसान सुकीलगायत चर्चित नेता पनि सहभागी हुँदैछन् । भण्डारीले उक्त राउन्ड टेबल बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि बुधबार बिहान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । राष्ट्रपति यही वैशाख १९ गते स्वदेश र्फकने कार्यक्रम छ ।

प्रकाशित : वैशाख ११, २०७६ २१:३५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT