कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नारायणी अस्पतालमा अख्तियारको छापा

भूषण यादव

वीरगन्ज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार वीरगन्जको नारायणी अस्पतालमा छापा मारेको छ । १३ गुणा बढी मूल्यमा केमिकल्स खरिद, महँगो किलिया मेसिन सुटुक्क साटिएको, पुरानो मितिमा कागजात मिलाएको, बिनाप्रतिस्पर्धा करिब चार दर्जनलाई दैनिक ज्यालादारीमा नियुक्ति गरेको समाचार प्रकाशित भएपछि हेटौंडास्थित अख्यितारको टोलीले छापा मारेको हो । 

नारायणी अस्पतालमा अख्तियारको छापा

अख्तियारका देवकुमार राई नेतृत्वको टोलीले बुधबार करिब साढे ५ घन्टा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हक, स्टोरका दामोदर अधिकारी, प्रयोगशालाका हिराबाबु पाण्डे, सचिन्द्र यादव, फार्मेसीका विजय यादवलगायत अन्य कर्मचारीसँग बयान लिएको थियो । अख्तियार स्रोतका अनुसार केमिकल्स खरिदको कागजातको प्रतिलिपि अनुसन्धानका लागि लगिएको छ । पुरानो मितिमा खरिद आदेश र टिप्पणी आदेश बनाएको कागजातसमेत परीक्षणका लागि लगिएको छ । स्रोतका अनुसार पूर्वफार्मेसी प्रमुख विजय यादवले मेसुले दबाब दिएर गत असोज महिनाको मिति राखेर दुई साता अगाडि कागजातमा हस्ताक्षर गराएको लिखित बयान दिएका छन् ।


नारायणी अस्पतालले १३ गुणा बढी मूल्यमा औषधि खरिद गरेको उजागर भएपछि अनियमितता ढाकछोप गर्न अस्पताल प्रशासनले पुरानो मितिमा कागजात मिलान गरेको थियो । मेसु हकले असोज १९ को मिति राखेर गत चैत २९ गतेको पत्र यादवसँग बनाएका थिए । त्यही पत्रको आधारमा स्टोरले टिप्पणी र खरिद आदेश तयार पारेको थियो । टिप्पणी आदेशको पत्रमा दर्ता चलानी छैन । फार्मेसी प्रमुखले असोज १९ को मितिमा मेसुलाई सूचित गरेको पत्रमा नारायणी अस्पताल उल्लेख गरेका छन् । जबकि फागुन ७ गते पछि मात्र नारायणी उपक्षेत्रीय अस्पतालको नाम नारायणी अस्पताल भएको हो । 'सप्लायर्सले हाइड्रोजन पर अक्साइड उपलब्ध नगराएपछि सोझै बजारबाट खरिद गर्न फार्मेसी प्रमुखले असोज १९ मा मेसुलाई गरेको पत्रचारमा नारायणी अस्पताल लेखिएको छ,' प्रशासनका एक कर्मचारी भन्छन्, 'जबकि फागुन ७ सम्म नारायणी उपक्षेत्रीय अस्पताल नै लेख्ने गरिएको थियो, झन्डै ६ महिना अगाडि नै फार्मेसी प्रमुखलाई अस्पतालको नाम परिवर्तन भएको कसरी जानकारी भयो । खरिद आदेश, टिप्पणी आदेश पत्रको फोरन्सीक परिक्षण गरे सत्य तथ्य बाहिर आउँछ ।'


हाइड्रोजन पर अक्साइड केमिलक्स ६५ रुपैयाँमा सकार गरेका सप्लायर्सले अस्पताललाई उपलब्ध नगराएपछि ९ सय ४ रुपैयाँमा खरिद गरिएको थियो । जबकि अस्पतालभन्दा करिब सय मिटर दूरीमा रहेका पसलहरुमा हाइड्रोजन पर अक्साइड ५ सय २८ रुपैयाँमा बिक्री हुने गरेको छ । मेसु डा.एनामुल हकले आफूलाई ९ सय ४ रुपैयाँमै हाइड्रोजन पर अक्साइड पाएको बताउँदै आएका छन् । मेसुले ६० बोतल हाइड्रोजन परअक्साइड मात्र खरिद गरिएको बताए पनि अस्पताल स्रोतका अनुसार असोज महिनामै थप १०० बोतल हाइड्रोजन पर अक्साइड खरिद गरिएको छ । बजारमा ५ सय ६० रुपैयाँमा पाइने सोडियम हाइपोक्लोराइड अस्पतालले १५ सय रुपैयाँमा खरिद गरेको छ ।


यसैगरी, अस्पतालको प्रयोगशालामा रहेको थाइराइड परीक्षण गर्ने मेगुल्मी ८०० किलिया मेसिन साटिएको समाचार प्रकाशित भएपछि गत वैशाख ६ गते साँझ करिब साढे ९ बजेको समयमा अस्पतालकै एम्बुलेन्समा राखेर प्रयोगशालामा ल्याएको छ । यसअघि उनले पुरानै किलिया मेसिन सञ्चालनमा रहेको दाबी गरेका थिए । मेगुल्मी ८०० किलिया मेसिनका नेपालका लागि एकमात्र सुपर डिलर सुदीप इन्टरनेशनलका सञ्चालक भक्त हमालले नारायणी अस्पतालको मेसिन बिग्रिएकोबारे आफूलाई कुनै जानकारी नआएको बताएका छन् । 'सप्लायर्सले हामीबाटै मेसिन लाने हो,' कान्तिपुरसँग फोनमा उनले भने, 'बिग्रिएको खण्डमा हाम्रै प्राविधिकले मर्मत गर्छन्, नारायणी अस्पतालको किलिया मेसिन मर्मतका लागि हामी कहाँ आएको छैन ।'


अनुज सप्लायर्स हेटौंडाको फर्ममा वीरगन्जको सिटी सर्जिकलका सञ्चालक दिपक अग्रवालले किलिया मेसिन नारायणी अस्पताललाई सप्लाई गरेका थिए । बिनाप्रतिस्पर्धा दैनिक ज्यालादारीमा मेसुले गराएका नियुक्तिको विषयमा समेत अख्तियारले छानबिन थालेको छ । अहेव मो.इमरान मिकरानीलाई मेसुले फार्मेसीमा नियुक्त गरेका छन् ।


यो पनि

नारायणी अस्पतालमा अनियमितता, १३ गुणा बढी मूल्यमा औषधि खरिद


प्रकाशित : वैशाख ११, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?