१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेकपा स्थापना दिवस– 'कांग्रेस राजतन्त्र फर्काउन हिँड्यो’

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख विपक्षी कांग्रेसलाई राजतन्त्र फर्काउने सपना बोकेर हिंड्न थालेको आरोप लगाएका छन् ।

नेकपा स्थापना दिवस– 'कांग्रेस राजतन्त्र फर्काउन हिँड्यो’

कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा ओलीले मन्तव्यको मूल निसाना कांग्रेसलाई बनाए । ‘कांग्रेस कहाँ पुग्यो ? कांग्रेसका धेरै नेता राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको देख्दा विचित्र लाग्छ । कुनै पनि लोकतन्त्रवादीले जन्मिँदैखेरि मेरो शासक भइदेऊ भनेर निवेदन हाल्दैन,’ उनले भने, ‘यतिका वर्ष लाकेतान्त्रिक आन्दोलनको इतिहासबाट गुज्रेपछि पनि कोही जन्मिँदै शासक बन्छ भन्ने मान्यता राख्छ भने त्यो दलले लोकतान्त्रिक भन्ने नाम हटाउँदा पनि हुन्छ ।’

ओलीले ७० वर्षअघि कम्युनिस्टहरूले देखेको गणतन्त्रदेखि आफ्नै नेतृत्वमा बहुमतको सरकारलगायतका सपना पूरा भएको उल्लेख गरे । आफ्नो उपलब्धिको चर्चा गरिरहँदा उनले उपलब्धिमा भाँजो हाल्ने शक्तिका रूपमा कांग्रेसलाई चित्रित गर्न खोजे । प्रधानमन्त्री ओलीले देशभक्त, प्रगतिशील र सामाजिक न्यायका लागि मिल्ने शक्तिसँग अघि बढ्नुपर्नेमा कांग्रेस प्रतिक्रियावादीसँग साँठगाँठ गर्दै अघि बढेको आरोप लगाए ।

कार्यक्रममा कम्युनिस्ट आन्दोलनका उपलब्धिका रूपमा लोकतान्त्रिक गणतन्त्र आएको चर्चा गर्दागर्दै ओली २००७ सालदेखि नै लोकतान्त्रिक आन्दोलनमा लागेको कांग्रेसप्रति टिप्पणी गर्न थालेका थिए । ‘देशभक्त, प्रगतिशीत र सामाजिक न्यायका लागि मिल्ने शक्तिसँग मिलेर अघि बढ्नुपर्ने नेपाली कांग्रेस एकाध पटक हामीले धेरै दबाब दिएर, सम्झाएर बाध्य पार्दा मात्र सहकार्यमा आयो,’ प्रधानमन्त्री ओलीले भने, ‘नत्र प्रगतिशील शक्तिविरुद्ध फ्रतिक्रियावादी शत्तिसँग साँठगाँठ गर्ने गर्‍यो ।’

प्रतिक्रियावादी शत्तिसँग घाँटी जोड्ने तर जनताको शक्तिसँग वैरभाव राख्ने गलत नीति कांग्रेसको रहेको ओलीको आरोप थियो । ‘विगतमा कांग्रेसका कारण प्राप्त उपलब्धिहरू जोगाउन सकिएन । उसको बानी सहयात्रीहरूलाई अविश्वास गर्ने र विरोधीसँग मिल्ने छ । अहिले पनि त्यो बानी गएको छैन,’ उनले भने ।

केन्द्र, ६ वटा प्रदेश र अधिकांश स्थानीय तहमा सरकार बनाउने कम्युनिस्ट पार्टीको हैसियत निर्माण हुनु ठूलो उपलब्धि भएको प्रधानमन्त्री ओलीले बताए । ‘जनताको बल र जनताका लागि गरेका कामका आधारमा पार्टीको यो शक्ति आर्जन भएको हो,’ उनले भने, ‘कुनै बेला ‘हामी जित्नेछौं एक दिन’ भन्ने गीत गाउँथ्यौं, आज हामीले जितेका छौं ।’

पार्टी एकता प्रक्रियामा जोडिन आएको भन्दै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरे । लामो समयसम्म स्वार्थको राजनीति भएर कम्युनिस्टहरूले जित्न नसकेको तर मिलेपछि अहिलेका उपलब्धि हासिल भएको ओलीले उल्लेख गरे । कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले गरिरहेका राम्रा कामलाई नदेखेको भन्दै आलोचकप्रति ओली असन्तुष्ट देखिए । ‘गान्धारीले आँखामा पट्टी बाँधेकी थिइन् र केही देख्दिनथिन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिलेका केही मानिसले चेतनामा पट्टी बाँधेकाले सरकारको काम देखेका छैनन् ।’ उनले यस वर्षको नीति तथा कार्यक्रमले जनताले माग गरेका विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री ओलीअगाडि अध्यक्ष दाहालले सम्बोधन गरेका थिए । उनले पार्टी एकतालाई कम्युनिस्टहरूको विजयको संज्ञा दिए । पार्टी एकता हुनै नदिने र भएको एकतालाई पनि भाँड्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूसमेत लगेको आरोप लगाउँदै दाहालले त्यसलाई चिरेर अघि बढको बताए । ‘हाम्रा काम र उद्देश्यमा आशंका गरियो, गणतन्त्र, संविधान निर्माणदेखि पार्टी एकतासम्म शंकाका दृष्टिले हेरियो तर हामी उपलब्धि हासिल गर्दै अघि बढिरहेका छौं ।’

केन्द्रमा एक वर्षअघि नै एकता घोषणा भए पनि तल्लो तहमा ढिलाइ हुँदा आशंका बढ्नु स्वाभाविक भए पनि अब एकताको फलामे ढोका फोरेको दाहालले बताए । ‘जिल्ला कमिटीको नेतृत्व चयन फलामे ढोका थियो । त्यो ढोका फुटेको छ । हाम्रो मिसन पूरा भएको छ,’ अध्यक्ष दाहालले भने । अध्यक्ष दाहालले पार्टी एकताका काम केही ढिलो भए पनि अब अर्को वर्ष महाधिवेशन गर्ने गरी काम अघि बढाउने बताए ।

स्थापना दिवस कार्यक्रममा दुईजना अध्यक्षले मात्र बोलेका थिए । उनीहरूले पार्टी एकता दिवसमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै दिएको भिडियो सन्देशसमेत कार्यक्रमको बीचमा प्रसारण गरिएको थियो । एउटै स्क्रिप्ट दुई अध्यक्षले पालैपालो पढेपछि महासचिव विष्णु पौडेलले भने, ‘दुई अध्यक्षले पार्टी कसरी चलाइरहेका छन् भन्ने यसैबाट छर्लंग हुन्छ ।’

प्रकाशित : वैशाख १०, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?