कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

४ वर्षदेखि टहरामै

बारपाक पुनर्निर्माण ८५ प्रतिशत सकिादा पनि दलित समुदायको बस्तीलाई कसैले वास्ता गरेन
हरिराम उप्रेती

बारपाक, गोरखा — बारपाक प्रवेशद्वारमै छन् दलित समुदायका २५ घर । उनीहरू त्रिपाल र टिनको टहरोमा रात काटेको ४ वर्ष भइसकेको छ । हुरी चलोस् या वर्षा, बस्तीका बासिन्दाको मन आत्तिन थाल्छ ।

४ वर्षदेखि टहरामै

‘हुरी बतास चलेपछि मरिन्छ कि भन्ने डर लाग्छ, पानी परे मझेरीमा भल बग्छ,’ ७५ वर्षीया सुकमाया सुनारले भनिन्, ‘यहाँ पहिरोको डर त छैन, तर टहरोमा बस्दा घरमा बसेजस्तो नहुने रहेछ ।’ बस्तीका आधा घरमा त्रिपाल र आधामा जस्ताका छाना छन् ।


भुइँको चिसोले वृद्धवृद्धा र बालबच्चा बिरामी परिरहन्छन् । चार वर्षअघि भुइँचालोका बेला पाएको त्रिपाल पनि च्यातिन थालेको सुकमायाले बताइन् । ‘त्रिपाल कहाँ प्वाल पर्छ, त्यही टाल्ने गरेका छौँ, त्यति गर्दा पनि केही सीप लाग्दैन,’ उनले भनिन् ।


दुनियाँका नजरमा भूकम्पको केन्द्रविन्दु बारपाकको पुनर्निर्माण लगभग सकिइसकेको छ । तथ्यांकले पनि पुनर्निर्माण ८५ प्रतिशत सकिएको देखाउँछ । तर बाँकी १५ प्रतिशतभित्र रहेका दलित समुदायले न त घर बनाउन सकेका छन्, न उनीहरूका बारेमा कसैले सोधखोज नै गरेको छ । उनीहरूका लागि पुनर्निर्माण सुरु भएकै छैन । अरू बासिन्दा नयाँ घरमा सर्दै गर्दा बारपाक सुलिकोट गाउँपालिका–१ दलित बस्तीकी सरिता विक टहरो पुनर्निर्माण गर्दैछिन् ।


खाँबा गाड्ने र जस्तापाताले छाउने काममा छिमेकीले सघाएका छन् । अबको दुई दिनमा निर्माण सकिए भूकम्पको चौथो वार्षिकीका दिन सरिताको परिवार घर होइन, टहरोमा सर्नेछन् । टहरो उडाएपछि एक सातायता ७० वर्षका ससुरा र दुई बालबच्चासहित सरिता छिमेकीको शरणमा छिन् । ‘भुइँचालोले भत्काएको घरको काठपात ल्याएर बनाएको झुपडीले ओत त दिन्थ्यो,’ उनले भनिन्, ‘पोहोर पनि छाना उडाएपछि हारगुहार गरेर बनाएँ, यो वर्ष फेरि उडायो, रात काट्न बनाउनैपर्‍यो ।’


निमेक गरेर बचाएको १० हजारले टहरो पुनर्निर्माण सक्ने उनको योजना छ । ‘छरछिमेकीले पनि सघाएका छन्, किलाकाँटी किन्नैपर्‍यो, खाजामा पनि केही त खर्च हुन्छ,’ उनले भनिन् । पटक–पटकको हावाहुरीले उडाएको जस्ता जीर्ण बन्दै जाँदा सरिता चिन्तित छिन् । उनले भनिन्, ‘जस्तामा काँटी ठोक्दा–ठोक्दै धेरै ठाउँमा प्वाल परेको छ, अब त आकाशबाट परेको पानी पनि के ओत्ला र ?’


यहाँ हुनेखानेले करोडसम्म खर्च गरेर घर पुनर्निर्माण सकेका छन् । तर उनीहरू हरेक वर्ष त्रिपाल र जस्ता हावाहुरीले उडाउने समस्या सामना गरिरहेका छन् । निमेक गरेर गुजारा चलाउनु उनीहरूको दैनिकी हो । रकम अभावमा जग्गा किनेर घर बनाउन आँट उनीहरूमा छैन । ‘पुर्ख्यौली पेसा आरन हो, विष्टको काम गर्छौं, बिहानबेलुकीको छाक टरेको छ, खेती गर्न जग्गा पनि छैन,’ कान्छा कामीले भने, ‘सबै गरिब हौँ, साहुहरूले बिल्डिङ बनाए, गरिब हुनुको दुःख, थोत्रो टिन बारेर बस्नुपरेको छ ।’ यहाँका अधिकांश पीडितले आरनसहितको घरको माग गरे । ‘यहाँ बतास आए नि डर, पानी परे नि डर भयो, पहिलेको घर फर्किए पहिरोको डर,’ स्थानीय तीर्थराज विकले भने, ‘हामीलाई गरिखाने आरनसहितको घर चाहिएको छ ।’


भूकम्प आएपछि उनीहरू सुरक्षित स्थानको खोजीमा थातथलो छाडेर बारपाक प्रवेशद्वारमा रहेको कृषि, जलाधार र पशु कार्यालयअन्तर्गतको सरकारी जग्गाामा सरे । दलितबस्तीको करिब सात रोपनी खण्डहर जग्गामा ‘भूकम्प स्मृति जीवित संग्रहालय’ बनाउने पुनर्निर्माण प्राधिकरणले तयारी गर्‍यो । तर स्थानीयबीच मत बाझियो । केहीले थातथलो छाड्न मानेनन् । केही खण्डहर भूमिमा नफर्कने अडानमा सार्वजनिक जग्गामै बसिरहे । त्यसपछि संग्रहालय बनाउने तयारीबाट पुनर्निर्माण प्राधिकरण पछि हट्यो ।


‘पाँच घर पुरानै ठाउँमा फर्किएका छन्,’ स्थानीय उत्तम विकले भने, ‘माथि (पुरानो बस्ती) गएर बस्न मन गर्नेलाई माथिकै जग्गा दिए हुन्छ, सार्वजनिक जग्गामा बसेकालाई यही जग्गा दिनुपर्छ भन्ने हाम्रो माग हो ।’ पुरानो बस्ती भौगर्भिक हिसाबले बस्न अयोग्य रहेको उत्तमको दाबी छ । ‘जबर्जस्ती यो जग्गा लिन खोजेका होइनौँ, माथिको जग्गासँग साट्ने भनेका हौँ,’ उनले भने, ‘एकपल्ट मरेर बाँचेको ठाउँमा फेरि मर्न जाने कुरा भएन ।’


खुला संग्रहालय बनाउने चर्चा भएसँगै खण्डहर जग्गाको लालपुर्जा यहाँका आधाजसो समुदायले प्राधिकरणलाई बुझाएका छन् । ‘पहिलेको बस्तीमा माथि पनि भीर तल पनि भीर, फेरि बस्तीभित्र धाँजा फाटेको छ,’ उनले भने, ‘त्यहाँ गए रातमा निद्रा पनि पर्दैन, डरैडरले बस्नुभन्दा यहाँको टहरोमा ढुक्क त भएको छ ।’ २०५६ सालमा उक्त बस्ती पहिरोको जोखिममा परेपछि केही बासिन्दा थातथलो छाडेर पुनः फर्किएका थिए ।


भूकम्पपीडतको लाभग्राही सूचीमा परेका यहाँका पीडितले पहिलो किस्ताको ५० हजार पनि बुझेका छन् । ‘जग्गा नभएकाले घर नबनाएका हौँ,’ उनले भने, ‘यसका लागि वडा कार्यालय, गाउँपालिकाले पहल गर्नुपर्थ्यो, तर बेवास्ता गरियो । पुनर्निर्माण प्राधिकरणलगायत सरकारी कार्यालय आफ्ना मागप्रति सकारात्मक रहे पनि स्थानीयस्तरबाट पहल नभएको उनको आरोप छ । अहिले बस्दै आएको जग्गामा घर बनाउन पाउनुपर्ने उनीहरूको सामूहिक माग छ ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?