विद्यालय पुनर्निर्माण सक्न अझै दुई वर्ष लाग्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माण सक्न अझै दुई वर्ष लाग्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का अनुसार भूकम्पबाट ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालय भवन क्षतिग्रस्त भएकामा ४ हजार ४ सय ७६ बनिसकेका छन् । एक हजारभन्दा बढी विद्यालय अझै बन्न बाँकी छन् । 

धादिङमा भूकम्पपछि पुनर्निर्माण गरिएको विद्यालय भवन । तस्बिर : हरिहरसिंह

आयोजना निर्देशक इमनारायण श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा १ हजार ७ सय ७२ विद्यालय निर्माणको अन्तिम चरणमा छन् । त्यसैगरी ३ सय ९८ विद्यालय निर्माणका लागि छनोट भएका छन् । ‘भूकम्प गएको एक वर्षपछि पुनर्निर्माण सुरु गरेका हौं,’ निर्देशक श्रेष्ठले भने, ‘पुनर्निर्माण सम्पन्न गर्न अझै दुई आर्थिक वर्ष लाग्नेछ । सरकारले समयमा बजेट उपलब्ध गराउन नसक्दा ढिलाइ भएको हो ।’

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले सोमबार गरेको ‘भूकम्पपछि विद्यालय पुनर्निर्माणको अवस्था’ विषयक अन्तर्क्रियमा उक्त जानकारी दिइएको हो । भूकम्पबाट क्षति भई पुनर्निर्माण सिफारिसमा परेका विद्यालयमध्ये मापदण्डअनुसार जग्गा अभाव, विद्यार्थी संख्या कम हुनु, नजिकै अर्को विद्यालय हुनुलगायत कारणले ३ सय ७० विद्यालय अर्कामा गाभिएका छन् ।

प्राधिकरणले विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी, गैरसरकारी संस्थामार्फत् पुनर्निर्माण सुचारु राखेको छ । त्यसैगरी दातृनिकाय स्वयंले पनि निर्माण गरिदिएका छन् । दातृनिकायबाट निर्मित संरचना निर्माण सम्पन्न भएपछि भवन हस्तान्तरण गर्नेछन् । कतिपय विद्यालयको जग्गा विवादले समेत निर्माण ढिलाइ भएको बताइएको छ ।

भारत सरकारको सहयोगमा सात जिल्लाका ७० विद्यालय बन्ने क्रममा छन् । विद्यालय पुनर्निर्माणमा उसले ५ अर्ब रुपैयाँ अनुदान सहयोग रहेको छ । हालसम्म नुवाकोट र गोरखाका आठ विद्यालयको निर्माण कार्य थालनी भएको र अन्य जिल्लामा सर्भे सुरु भएको जनाइएको छ ।
त्यसैगरी चीन सरकारले चार जिल्लाका सात विद्यालय पुनर्निर्माण गर्ने सम्झौता गरेको छ, जसमा काठमाडौंको दरबार हाईस्कुल र सिन्धुपाल्चोकका दुई विद्यालय बनिरहेको छ भने अन्य जिल्लाका सम्भाव्यता अध्ययन क्रममा रहेको जनाइएको छ । चिनियाँ सरकार आफैंले निर्माण गरेको विद्यालयको लागत करिब ३ अर्ब रुपैयाँ छ । उसले विद्यालय निर्माण सम्पन्न गरेपछि नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गर्नेछ ।

प्राधिकरणले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण गर्न १ खर्ब १९ अर्ब रुपैयाँ लागत इस्टिमेट गरेको छ । हालसम्म ५० अर्ब रुपैयाँ खर्च भएको आयोजना निर्देशक श्रेष्ठले जनाए । जाइका, यूएसएआईडी, एसियाली विकास बैंकलगायत दातृनिकायको अनुदान तथा ऋण सहयोगमा विद्यालय पुनर्निर्माण कार्य सुचारु छ ।

प्रकाशित : वैशाख ९, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिण एसियाली मुलुकको मनसुन प्रक्षेपण गर्न ८ देशका मौसमविद काठमाडौंमा

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुन प्रक्षेपण गर्न ८ वटा देशका मौसमविद् सोमबारदेखि काठमाडौंमा भेला भएका छन् । नेपालले आयोजना गरेको साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ–१४) को १४ औं सम्मेलनमा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाबाट मौसम विज्ञान हेर्ने विशेषज्ञ सहभागी छन् ।

सम्मेलनमा अफगानिस्तान भने सहभागी छैन ।

हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि सम्मेलन गरी दक्षिण एसियाली मुलुकहरूको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । सामान्यतया जेठ अन्त्य (जुन १०) देखि मनसुन सुरु हुन्छ । सबै देशका मौसमविदले गहन छलफल गरी मनसुनबारे निष्कर्ष निकाल्ने गरेका छन् । केही वर्षयता उनीहरूको प्रक्षेपण मेल खाँदै आएको छ ।

सम्मेलनको संयोजन जल तथा मौसम विज्ञान विभागले गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेको सास्कोफ–१४ मा करिब ३० जना विशेषज्ञ सहभागी छन् । सम्मेलनमा विश्व मौसम संगठन (डब्लूएमओ), बेलायतको मेटिरियोलोजी अफिसका विशेषज्ञ र मौसमबारे अध्ययन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि र विज्ञ सहभागी छन् ।

विभागका पूर्वमहानिर्देक मदनलाल श्रेष्ठले दक्षिण एसियामा मनसुनको अवस्थाबारे विस्तृत छलफल गरी वर्षाको आकलनसमेत गरिने बताए । मंगलबार सकिने सम्मेलनले यो वर्षको मनसुनी अवस्थाबारे नक्सासहित प्रतिवेदन सार्वजनिक गर्नेछ ।

सास्कोफ–१३ भारतको पुणेमा भएको थियो । नेपालले सास्कोफ–२ आयोजना गरेको थियो ।

प्रकाशित : वैशाख ९, २०७६ १९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्