२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

दक्षिण एसियाली मुलुकको मनसुन प्रक्षेपण गर्न ८ देशका मौसमविद काठमाडौंमा

काठमाडौँ — दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुन प्रक्षेपण गर्न ८ वटा देशका मौसमविद् सोमबारदेखि काठमाडौंमा भेला भएका छन् । नेपालले आयोजना गरेको साउथ एसियन क्लाइमेट आउटलुक फोरम (सास्कोफ–१४) को १४ औं सम्मेलनमा नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकाबाट मौसम विज्ञान हेर्ने विशेषज्ञ सहभागी छन् ।

दक्षिण एसियाली मुलुकको मनसुन प्रक्षेपण गर्न ८ देशका मौसमविद काठमाडौंमा

सम्मेलनमा अफगानिस्तान भने सहभागी छैन ।


हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि सम्मेलन गरी दक्षिण एसियाली मुलुकहरूको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । सामान्यतया जेठ अन्त्य (जुन १०) देखि मनसुन सुरु हुन्छ । सबै देशका मौसमविदले गहन छलफल गरी मनसुनबारे निष्कर्ष निकाल्ने गरेका छन् । केही वर्षयता उनीहरूको प्रक्षेपण मेल खाँदै आएको छ ।


सम्मेलनको संयोजन जल तथा मौसम विज्ञान विभागले गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेको सास्कोफ–१४ मा करिब ३० जना विशेषज्ञ सहभागी छन् । सम्मेलनमा विश्व मौसम संगठन (डब्लूएमओ), बेलायतको मेटिरियोलोजी अफिसका विशेषज्ञ र मौसमबारे अध्ययन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि र विज्ञ सहभागी छन् ।


विभागका पूर्वमहानिर्देक मदनलाल श्रेष्ठले दक्षिण एसियामा मनसुनको अवस्थाबारे विस्तृत छलफल गरी वर्षाको आकलनसमेत गरिने बताए । मंगलबार सकिने सम्मेलनले यो वर्षको मनसुनी अवस्थाबारे नक्सासहित प्रतिवेदन सार्वजनिक गर्नेछ ।


सास्कोफ–१३ भारतको पुणेमा भएको थियो । नेपालले सास्कोफ–२ आयोजना गरेको थियो ।


प्रकाशित : वैशाख ९, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?