१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संसारकै उत्कृष्ट र्‍याफ्टिङ नदी अहिले बगर

अनिश तिवारी

सिन्धुपाल्चोक — साहसिक जलयात्राका लागि विश्वमै चिनिएका सुनकोसी र भोटेकोसी नदीमा क्रसर व्यवसायी र ठेकेदारले जथाभावी दोहन गरिरहेका छन् । बगरमा जताततै खाल्डैखाल्डा छन् । नदीको बीचबाट टिपर र एक्साभेटरले बाटो बनाएपछि जल पर्यटन संकटमा परेको व्यवसायीको गुनासो छ ।

संसारकै उत्कृष्ट र्‍याफ्टिङ नदी अहिले बगर

जल पर्यटनका लागि विश्वमै चिनिएका सुनकोसी र भोटेकोसी नदी मरुभूमिजस्तो भएका छन् । क्रसर व्यवसायी र ठेकेदारले एक्साभेटर लगाएर गिट्टी–बालुवा निकाल्दा नदीको धार बदलिएको छ । यी नदीमा पर्यटकीय आकर्षण घट्न थालेको छ । ‘चरम दोहनले नदीको प्राकृतिक संरचना ध्वस्त भएको छ,’ सुनकोसी बीच एडभेन्चर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाले भने, ‘तटीय क्षेत्रमा टिपर र एक्साभेटरको लर्को देखिन्छन्, र्‍याफ्टिङ गर्ने ठाउँ नै छैन ।’


भूकम्पपछि सुनसान बनेका महँगा होटेल र रिसोर्ट चार वर्षपछि तंग्रिने अवस्थामा पुगेका बेला एक्साभेटरको आतंक मच्चिएको उनले बताए । ‘अहिले दैनिक डेढ सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक र्‍याफ्टिङका लागि आउने गरेका छन्, विदेशीहरू बगरमा टेन्ट राखेर सुत्न खोज्छन्,’ थापा भन्छन्, ‘जताततै खाल्डैखाल्डा र एक्साभेटरको चर्को आवाजका कारण बस्न सक्दैनन् ।’


२०५१ सालमा पहिलोपटक भोटेकोसी नदीमा एडभेन्चर ‘र्‍याफ्टिङ’ मा होमिएका पर्यटन व्यवसायी मेघ आलेले नदीको अवस्था देख्दा दुःख लागेको बताए । ‘सुनकोसी र भोटेकोसीको त्यतिबेलाको सौन्दर्य कहाँ उड्यो कहाँ, अहिले जताततै क्षतविक्षत देखिन्छ, दुःख लाग्छ,’ उनले भने । २०५३ सालमा जल पर्यटनको पर्मिट लिएपछि आफ्नो नेतृत्वमा ब्रिटिस टोलीसहित पहिलो पटक भोटेकोसीमा र्‍याफ्टिङ गरेको उनले सुनाए ।


राजधानीबाट करिब ७० किलोमिटर दूरीमा रहेको नदी किनारमा रमाउन वार्षिक ६० हजारभन्दा बढी स्वदेशी र २० हजार विदेशी पर्यटक आउने गरेका छन् । उनीहरूमध्ये धेरैजसो जलयात्राको आनन्द लिन खोज्छन् । साहसिक जलयात्रा र रिसोर्टमा अप्रत्यक्ष–प्रत्यक्ष रूपमा ११ सय जनाले रोजगारी पाइरहेका छन् ।


‘पर्यटकले यहाँ हेर्न आउने प्राकृतिक सौन्दर्य र साहसिक जलयात्रा हो, त्यही पनि दोहनले कुरूप बनाएको छ,’ सुनकोसी बीच रिसोर्टका सञ्चालक अञ्जन खडका भन्छन्, ‘जथाभावी दोहन हुँदा नदीको सौन्दर्यसँगै पर्यटन व्यवसाय धरापमा परेको छ ।’ सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । ‘यसैगरी तीव्र दोहनलाई बेवास्ता गरिरहने हो भने यो कसरी सम्भव हुन्छ ?,’ उनले प्रश्न गरे ।


सुनकोसी र इन्द्रावती नदी किनारमा दैनिक झन्डै ५० वटा एक्साभेटर र टिपर भेटिन्छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लाभर गरी २१ वटा क्रसर उद्योग दर्ता भएका छन् ।


सुनकोसीमा ७ र इन्द्रावतीमा १४ वटा क्रसरले नियमित दोहन गरिरहेका छन् । नदीको बीचबाट टिपर र एक्साभेटरले बाटो बनाएपछि सुनकोसीको जल पर्यटनलाई धक्का पुगेको व्यवसायीको गुनासो छ । ‘कानुन पालना गराउनेहरू नै मिलेपछि कसको के लाग्छ,’ पर्यटन व्यवसायी थापा भन्छन्, ‘ठेकेदार र क्रसरले दोहन बढाएपछि नदी क्षेत्रमा आउने पर्यटकको आकर्षण बढदैन । स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोबिना नदी दोहन सम्भव छैन ।


चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले नदी दोहनले पारेको असरबारे छलफल गर्न खोज्दा व्यवसायी सम्पर्कमा नआएको बताए । लाखौं कमाइ गरेर बसे पनि रिसोर्टहरूले समन्वय नगरेको उनले बताए । रिसोर्टहरू कानुनी दायरामा नआएको उनले बताए । नगरपालिका र गाउँपालिकाले बगरलाई ठेक्कामा लगाएर बर्सेनि करोडौं रुपैयाँ राजस्व संकलन गर्दै आएका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?