कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोडी जम्यो

ध्रुव तुलाधर

दाङ — बेलझुन्डीस्थित नयाँ सिन्थेटिक ट्र्याकमा आइतबारको दिन एक जोडीका लागि विशेष रह्यो, जसले एकैदिन आठौं राष्ट्रिय खेलकुदको स्वर्ण गलामा झुन्ड्याए ।

जोडी जम्यो

पुरुष ४०० मिटर दौडमा नीरप्रताप महतोले स्वर्ण जितेको केहीबेरमै महिला ट्रिपल जम्पमा शिला चौधरीले स्वर्ण हत्याइन् । यिनीहरू श्रीमान्–श्रीमती हुन् । दुवै एपीएफबाट खेल्छन् । शिलाले दुई दिनअघि लङजम्पमा स्वर्ण र हाइजम्पमा रजत जितिसकेकी थिइन् । फिल्डमा वर्चस्व राख्ने अभियानमा रहेकी शिला ट्रिपलजम्पमा कीर्तिमानतर्फ केन्द्रित थिइन् ।


शिलालाई विगतमा केशरी चौधरीको छाया थियो । पुलिसबाट खेल्ने केशरीले फिल्डका सबैजसो इभेन्टमा वर्चस्व राख्थिन् । केशरी अहिले विदेशतिर लागिन् । ट्रिपलजम्पको १२.२० मिटरको कीर्तिमान पनि केशरीकै नाममा छ । शिलाले स्वर्ण जित्दा ११.१४ मिटरको नाप लिइन् । यसअघिका राष्ट्रियमा शिलाले केशरीलाई पछ्याइरहेकी हुन्थिन् । केशरी र शिला दुवै प्रशिक्षक चन्द्र गुरुङका उत्पादन हुन् । प्रतियोगितामा सहसंयोजक रहेका मध्यपश्चिम क्षेत्र विकासका उपनिर्देशक गुरुङले शिलाले स्वर्ण जितेपछि भने, मेरो छाती गर्वले फुलेको छ ।’


बिहानैदेखि शिलालाई ‘बूढाबूढीले नै स्वर्ण जित्छौं’ भन्ने लागिरहेको थियो । भनिन्, ‘मनमा लागेकै कुरा पूरा भयो, एकदमै खुसी छु ।’ बृहत् राष्ट्रिय खेलकुदमा बूढाबूढी उनीहरू दुवैको स्वर्ण सफलता पहिलो हो । नीरप्रतापले ४९.९ सेकेन्डबाट पुरुष ४०० मिटर दौडको स्वर्ण जितेका हुन् । उनले अर्को सफलताका रूपमा ४ गुणा ४०० मिटर दौडमा पनि स्वर्ण थियो ।नेपालगन्ज कचनापुरकी शिला र नवलपरासी मध्यविन्दु नगरपालिकाका नीरप्रतापको ४ वर्षअघि प्रेम विवाह भएको थियो । खेलकै क्रममा भएको चिनजानी नाता गाँसिएको हो ।


एउटै विभाग, एउटै खेलक्षेत्र भएकाले पनि एकअर्का बुझ्न सजिलो भएको शिला सुनाउँछिन् । दुवैले एकअर्कालाई सहयोग गर्छन् । ‘मलाई फिल्डमा आवश्यक पर्दा उहाँ (नीरप्रताप) ले गर्नुहुन्छ, उहाँलाई रनिङका लागि मैले सपोर्ट गर्छु,’ उनले भनिन् । इभेन्ट हुने अघिल्लो दिन पनि आफूहरूबीच त्यसबारे छलफल हुने उनले सुनाइन् । उमेरमा खासै फरक छैन । नीरप्रताप २७ का हुन्, शिलाले २६ टेकिन् ।


शिलाले धोको सुनाइन्, ‘अन्तर्राष्ट्रियमा पनि यो अवसर जुर्‍यो भने त्योभन्दा ठूलो उपलब्धि मलाई अरू हुने छैन ।’ यता, पार्की दाजुभाइको सफलता पनि उस्तै छ । दुवैले एकैदिन स्वर्ण हत्याए । गोपीचन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण जिते । देशमा हुने अधिकांश हाफ म्याराथनमा सफलता पाइरहेका गोपीचन्द्रले १० हजार मिटरको स्वर्ण गुमाएका थिए । त्यसैले ५ हजारको स्वर्ण गुमाउन चाहँदैनथे ।


उनका प्रतिद्वन्द्वी कर्णाली प्रदेशका दुर्गा बुढा र प्रदेश ४ का अनिश थापा नै थिए । १० हजारमा दुर्गाले स्वर्ण र अनिशले रजत जित्दा गोपीचन्द्र तेस्रोमा खुम्चिएका थिए । त्यसको बदला उनले आइतबार लिए । यसमा पनि दुर्गा नै अघिअघि दौडिरहेका थिए । अन्तिम ल्यापको २०० मिटर बाँकी छँदा दुर्गालाई पछाडि पार्दै गोपीले स्वर्ण जितेका हुन् । एपीएफ प्रशिक्षक धनीराम चौधरीले भने, ‘उसको कमजोर पक्ष औंल्याउँदै जे भनेको थिएँ, गोपीले त्यही गरे । उनी राम्रा फिनिसर हुन् । त्यसैले स्वर्ण गुमाएनौं ।’


यो जितमा सबैभन्दा खुसी थिए त उनकै भाइ शिवराज । दाइले दौड पूरा गरेपछि ट्र्याकभित्र पस्न खोज्दा शिवराजले गालीसमेत खानुपरेको थियो । जबकि अरू दौडिरहेका थिए । उनले पछि भने, ‘दाइलाई जुत्ताले पोल्यो होला भनेर हतारिएर भित्र जान खोजेको थिएँ । त्यस्तो भयो । दाइका लागि यो स्वर्ण एकदमै महत्त्वपूर्ण थियो । अरू केही सोच्नै भ्याइनँ ।’


पछिल्लो समय एकपछि अर्को म्याराथन दौडले गर्दा गोपीचन्द्रको मध्यम दूरीको दौड बिग्रिरहेको थियो । त्यसले पनि उनलाई यो सफलता आवश्यक थियो । गोपीले भने, ‘एकपछि अर्का म्याराथन सहभागिताले गर्दा आराम पाइरहेको थिइनँ । आराम भयो भने मिडिल डिस्टेन्समा पनि पहिलो सफलतालाई निरन्तरता दिन्छु भन्ने थियो । सफल भएँ ।’ उनको यो व्यक्तिगत उत्कृष्ट टाइमिङ पनि हो । पहिलो १४.५८ सेकेन्डमा ५ हजार मिटर पूरा गरेका गोपीले यसपल्ट १४.४४ सेकेन्डमै पार गरेका छन् ।


गोपीका भाइ शिवराजले भने ४ गुणा ४०० मिटर रिलेमा स्वर्ण र ४०० मिटर दौडमा रजतपदक जितेका थिए । व्यक्तिगततर्फ आफ्नै विभागका नीरप्रतापसँग पछाडि परेका थिए उनी । ४०० मिटर दूरी शिवराजले ५०.५ सेकेन्डमा पूरा गरे । रिलेमा उनले नीरप्रताप, आशिष चौधरी र सत्यबहादुर बुढासँगको टिमबाट स्वर्ण जितेका हुन् । उनीहरूले ३ मिनेट ३४.१ सेकेन्डको टाइमिङ सेट गरे ।


कैलाली धनगढीका दाजुभाइ एपीएफका खेलाडी हुन् । दुवै सशस्त्र प्रहरीमा जागिरे भएपछि एपीएफबाट दौडतिर सक्रिय भए । उमेरमा दुई वर्षले जेठो–कान्छो छन् । गोपी २८ का भए । दुवै दाजुभाइले सातौं राष्ट्रियमा पनि पदक जितेका थिए । त्यतिबेला गोपीले दुई स्वर्ण जित्दा शिवले कांस्यमा चित्त बुझाउनुपरेको थियो । तत्कालीन जल्दाबल्दा धावक हरि रिमाललाई पछाडि पार्दै गोपीले सातौंको १० र ५ हजार मिटरको स्वर्ण जितेका हुन् ।


जुनियरस्तरमा राम्रो गरेपछि शिव तत्कालीन एपीएफका प्रशिक्षक सुशीलनरसिंह राणाको नजरमा परेका थिए । चार वर्षयता सशस्त्रमा आबद्ध छन् । गोपीको भने सशस्त्रसँग नाता जोडिएको १० वर्ष भइसक्यो । सुशील गुरु र दाइको प्रेरणाबाट आफू दौडतर्फ थप आकर्षित भएको शिवराजले सुनाए ।


‘यसलाई निरन्तरता दिँदै देश र विभागका लागि थप सफलता हासिल गर्ने लक्ष्य छ,’ उनले भने । १८ औं एसियाली खेलकुदमा म्याराथन बीचमै छाडेका गोपीचन्द्रले अन्तर्राष्ट्रियस्तरमा मलेसियन च्याम्पियनसिपमा १५ मिटरमा र ५ हजार मिटरमा रजतपदक जितेका थिए ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?