सर्वोच्चका नवनियुक्त न्यायाधीश तथा निर्वाचन आयोगका प्रमुखद्वारा सपथ ग्रहण 

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको सपथ दिलाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा सपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा रहेका छन्।

उनीहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन्। प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पनि पद तथा गोपनीयताको सपथ गराएका छन्।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको सपथ लिइन्। नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ।

राष्ट्रपति भण्डारीले उनीहरुलाई शुक्रबार सो पदमा नियुक्त गरेकी थिइन्। सर्वोच्च अदालतका न्यायाधीश न्यायपरिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो।

प्रकाशित : वैशाख ८, २०७६ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

अजङ्गको बाइक

कान्तिपुर संवाददाता

काठमाडौँ — ओइ, मेरो बाटो छोड  । ’एउटा अजङ्गको रातो बाइक बतासिएर आयो र आफ्नो गतिमा गुडिरहेको सानो बाइकलाई थर्कायो  ।

रातो बाइकले आफ्नो पछाडिको भाग उठाएर अग्लो बनाएको थियो । पांग्रा पनि गाडीको जस्तै फराकिलो थियो । त्यो कहिले दायाँ त कहिले बायाँ गर्दै नागबेलीमा कुदिरहेको थियो ।
त्यसको आवाज पनि चर्को थियो । कुद्ने बेलामा धूवाँ निस्कने ठाउँबाट धूवाँ होइन आगो निस्कन्छझैं लाग्थ्यो ।
अलि पर पुगेपछि एउटा माइक्रो बस भेटियो । उसले बाटो छोडेको थिएन । रातो बाइक अगाडि बढ्न खोज्यो । तर माइक्रोले बाटो नै छोडेन । बाइकलाई रिस उठ्यो । ऊ कराऊन थाल्यो, ‘ए माइक्रो ! मलाई
बाटो छोड ।’
माइत्रो बस पनि के कम । ऊ पनि करायो, ‘तिम्रो बाटो मैले छेकेको छु र ? जाऊ न आफ्नो बाटो ।’
‘किन बाटो ढाक्दै हिँडेको ? यो बाटो तेरो हो ?’ बाइक जंगियो ।
‘कसले छेकेको छ र ? जाऊ न त । के कराइराखेको ?’ माइक्रोले भन्यो ।
त्यसपछि बाइक हुइँकियो र छेउ च्यापेर अगाडि बढ्यो । ऊ कहिले दायाँ कहिले बायाँ गर्दै कुदिरहेको थियो । स–साना कार, ट्याक्सी, जिप, माइक्रो बस र बाइकलाई क्षणमै पछाडि पारेर गयो । कतै अलिकति ठाउँ देख्यो कि हुइँकिएर अगाडि बढिहाल्थ्यो ।
ऊ अभिमानले उन्मत्त भएर
हुइँकिरहेको थियो ।
‘यस्तो सडकमा कुद्दा त क्या मज्जा आउँछ, अझै गति बढाउँछु ।’ उसले मनमनै भन्यो र अझै गति बढायो । ऊ ट्राफिक बत्तिनेर पुग्यो । त्यही बेलामा झ्याप्प रातो बत्ती बल्यो । रातो बत्तीले खतराको संकेत गर्दै भन्यो, ‘मान्छे हिँड्ने बेला हो, सवारीसाधनहरू रोक ।’
सबै गाडी रोकिए । तर बाइकले वास्ता गरेन र भन्यो, ‘आ, रातो बत्ती बलेर के भो ? मलाई त हतार छ, जान्छु ।’
बाइक रोक्दै नरोकी अगाडि बढ्यो ।
ऊ अगाडि बढ्दा जेब्रा क्रसिङमा बाटो काटिरहेको एकजना बालकलाई लाग्यो । बालक डङरङ पछारियो ।
‘बाइकले हान्यो । ऊ त्यो रातो बाइकले । समात समात’ मानिस कराउन थाले ।
कोही भने बालकलाई उठाउन लागे । उसको हातखुट्टामा चोट लाग्यो । टाउकोबाट रगत बग्यो ।
‘भाग, बाइक भाग । अब तेरो ज्यानको खैरत छैन ।’ मनमनै यस्तो सोचेर बाइक पछाडि पुलुक्क हेर्‍यो र बेतोडले भाग्यो ।
‘ए, त्यो रातो बाइक रोक’ नजिकै बसेको ट्राफिकले सिठ्ठी फुक्यो । तर बाइक रोकेन ।
बालकलाई एम्बुलेन्समा राखेर अस्पताल लगियो ।
एकछिनपछि हरियो बत्ती बल्यो । बत्तीले सबै गाडीलाई भन्यो ,‘ल सबै जना गुड्न थाल ।’
सबै गाडी सरर अगाडि बढे । बाइक धेरै पर पुगिसकेको थियो ।
पर पुगेको बाइक खुसी भयो र मनमनै भन्यो, ‘धन्न, मेरो ज्यान बच्यो ।’ त्यही बेला पछाडि प्रहरीका दुइटा सेता बाइक रातो बत्ती बाल्दै उसलाई पिछा गर्दै थिए । उसले आफ्नो अगाडि रहेको छेउको ऐनाबाट ती बाइकलाई देख्यो ।
‘ए, जंगे बाइक ! रोकिहाल् । नत्र..’ एउटा सेतो बाइकले चेतावनी दिँदै भन्यो ।
त्यसपछि ऊ हडबडायो । मनमनै सोच्यो, ‘ल, अब के गर्ने होला । प्रहरीको बाइकले पो समात्न आएको छ त ।’ जंगे आफ्नो ज्यान जोगाउन बेतोडले भाग्यो ।
रातो जंगे बाइक अगाडि अगाडि, प्रहरीको सेता साइरन जडेको बाइक पछाडि पछाडि कुदिरहेका थिए । सडकमा कुदिरहेका अरू बस, ट्रक, माइक्रो, बाइक, कार आदि
छक्क परिरहेका थिए । उनीहरू बाटोको छेउ लागेका थिए ।
‘त्यो रातो जंगे बाइकलाई त समाते हुन्छ,’ एउटा माइक्रोले भन्यो ।
‘हो । त्यो त सार्‍है मात्तिएको र घमण्डी छ । त्यस्तालाई त समात्नै पर्छ,’ सँगै गुडिरहेको कारले भन्यो ।
जंगे तेज रफ्तारमा थियो । सेता प्रहरी बाइक पछाडि थिए । उनीहरूले त्यसलाई समात्न सकिरहेका थिएनन् । तैपनि लखेटिरहेका थिए ।
लखेट्दा लखेट्दै एउटा दोबाटो आइपुग्यो । एउटा सिधै अगाडि जाने बाटो थियो । अर्को मोडिएर मुनि जान्थ्यो । अलि पर गएपछि एउटै बाटोमा पुगिन्थ्यो ।
‘म यिनीहरूलाई झुक्याउँछु, मुनिको बाटो जान्छु’ मनमनै यसो भनेर त्यो मोडिएर मुनिको बाटो लाग्यो ।
सेता बाइकहरू एकक्षण अलमलिए । त्यसले गर्दा जंगे झन् पर पुग्न भ्यायो । ‘पख्, तँलाई जंगे ।’ भनेर उनीहरूले फेरि लखेट्न थाले ।
जंगे भने ठिक्क पर्‍यो भन्दै पछाडि हेर्दै जिस्काउँदै अगाडि बढिरहेको थियो । एकक्षणपछि अगाडिबाट रातो बत्ती बाल्दै साइरन बजाउँदै दुइटा प्रहरी भ्यान आए र उसको बाटो छेके ।
‘ल अब कता जाने होला ?’ जंगे अकमक्कियो । पछाडि फर्कूं सेता बाइक, अगाडि बढूँ भ्यान । ऊ त्यही रोकियो । त्यसपछि एउटा भ्यानबाट उत्रेर एकजना प्रहरीले बन्दुक तेर्स्यायो । जंगे बाइकले आत्मसमपर्ण गर्‍यो ।
‘एक पटकलाई मलाई माफ गरिदिनुस्, अबदेखि यस्तो कहिल्यै गर्दिनँ ।’ जंगेले बिन्ती गर्दै क्षमा माग्यो । तर प्रहरी भ्यानले उसलाई डोरीले बाँध्यो र पछाडि राखेर लडायो । अनि चौकीतिर लग्यो ।

श्यामकृष्ण खुलिमुली

प्रकाशित : वैशाख ८, २०७६ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्