कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कागजपत्र नभएपछि हुरीमा ज्यान गुमाएका १८ जनाका परिवारले राहत पाएनन् 

राहत पाउन मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणित, जन्म दर्ता, विवाह दर्ता, नागरिकता र हुरीले मृत्यु भएको प्रमाणित कागजात हुनुपर्ने प्रदेश सरकारले मापदण्ड बनाएको
राहत वितरण गर्न मुख्यमन्त्री आउन लागेको बारे स्थानीय तह र सुरक्षा निकाय नै अनविज्ञ
लक्ष्मी साह

बारा — चैत्र १७ गते आएको हावाहुरीमा परी मृत्यु भएका २८ जनालाई राहत वितरण गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कलैया पुगेपनि सबै पीडितले राहत भने पाएनन् । प्रदेश २ का मुख्यमन्त्री राउत शुक्रबार मन्त्री, सांसद र नेता कार्यकर्ताको साथमा गाडीको लावालस्करसहित कलैयाको जिल्ला समन्वय समितिको सभाकक्षमा पुगेका थिए । 

कागजपत्र नभएपछि हुरीमा ज्यान गुमाएका १८ जनाका परिवारले राहत पाएनन् 

अमेरिकी ‘एन्टा’ भन्ने संस्थाको ब्यानर मुनि मुख्यमन्त्री गद्दीले राहत वितरण गरे । ती अमेरिकी संस्थाले प्रत्येक मृतक परिवारलाई ५० हजारको दरले राहत दिन प्रदेश सरकारलाई अनुरोध गरेपछि मुख्यमन्त्री त्यहाँ आफ्नो सरकारबाट पनि घोषणा गरिएको राहत लिएर पुगेका थिए । तर प्रदेश सरकारले घोषणा गरेको उक्त राहत सबै मृतक परिवारले भने पाउन सकेनन् । केवल १० जनाले मात्र पाए । बाँकी १८ जना रित्तै हात फर्कन पर्‍यो ।

१८ मृतक परिवारको साथमा प्रदेश सरकारले तोकेको मापदण्डअनुसारको कागजात नभएपछि उनीहरुले शुक्रबार मुख्यमन्त्रीबाट राहत पाउन सकेनन् । राहत पाउने आशमा गाउँबाट टन्टलापुर घाममा सदरमुकाम कलैया पुगेका मृतक परिवार रित्तै फर्किए । उक्त राहत पाउन मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणित, जन्म दर्ता, विवाह दर्ता, नागरिकता र हुरीले मृत्यु भएको प्रमाणित कागजात हुनुपर्ने प्रदेश सरकारले मापदण्ड बनाएको थियो ।


‘मुख्यमन्त्री, सांसद र नेताहरुको अनुहार मात्र हेरेर फर्कियौं, राहत पाएनौ,’ एकै परिवारका ४ जना गुमाएका फेटा गाउँपालिका–६, पुरैनियाका मृतकका आफन्त रुस्तम अन्सारीले भने, ‘हामीसित कागजात थिएन, एकदिन अघि मात्र राहत लिन जानु भनेर गाउँपालिकाबाट खबर पाएको थियौं । त्यसैले गएको हो ।’


कागजातहरुको साथमा मृतकको नजिकको नातेदारलाई लिएर पछि आउनु होला भनेर फर्काइदिएको उनले बताए । यसैगरी श्रीमती र बुहारी गुमाएका फेटा गाउँपालिका–६, पुरैनियाका फैजुल हक मियाँले बुहारी बबिया खातुनको राहत नपाएको बताए । ‘बुहारीको नागरिकता, विवाह दर्ता, मृत्य दर्ता थिएन, त्यसैले बुहारीको राहत दिएन,’ श्रीमतिको मात्र दियो,’ उनले भने, ‘सबै कागजात लिएर जनकपुर आउन भन्नुभयो ।’


‘२० परिवारलाई राहत दिन मुख्यमन्त्रीज्यूले ३ लाख दरको २० वटा चेक लिएर आउनु भएको थियो, तर त्यो पनि सबैलाई दिइएन, जम्मा १० मृतक परिवारलाई प्रति मृतक ३ लाखको दरले चेक हस्तान्तरण गर्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले भने, ‘खासमा अमेरिकी संस्थाको राहत दिन पुग्नु भएको थियो, तर आफ्नै सरकारले घोषणा गरेको राहत पनि लिएर जाऔं भनेर आउनु भएको थियो । तर मृतक परिवारसँग कागजात अभावको कारण चेक ल्याइएको २० जनामध्ये १० जनाले मात्र पाए ।’ भीषण हुरीले यहाँ २८ जनाको मृत्यु भएको छ ।


जिल्ला प्रशासनबाट वा स्थानीय तहबाट हुरीले मृत्यु भएको प्रमाणित कागजात उपलब्ध नभएको उनले बताए । ‘स्थानीय तहले मापदण्डअनुसारको कागजात नबनाइदिएकोले सबै मृतक परिवारले राहत पाउन सक्नुभएन्, अर्को चरणमा पाउनुहुन्छ,’ उनले भने, ‘मुख्यमन्क्री ज्यूले राहत वितरण कार्यत्रममा उपस्थित स्थानीय तहका प्रमुखलाई कागजात तुरुन्त बनाइदिन निर्देशन दिनुभयो ।’


मुख्यमन्त्री लालबाबू राउतले अमेरिकी संस्था ‘एन्टा’ को आग्रहमा राहत बाँडन कलैया आएपनि जिल्ला प्रशासन कार्यालका अधिकारीहरु बेखबर थिए । ‘मुख्यमन्त्री आउनुभएको जिल्ला प्रशासन कार्यालयलाई थाहा भएन,’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने, ‘हामीलाई राहत दिनेबारे कुनै जानकारी भएन, कसले पायो, कसले पाएन, थाहा भएन ।’


यस विषयमा प्रतिक्रिया लिन प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई पटकपटक फोन सम्पर्क गरे पनि त्यो सफल हुन सकेन । मुख्यमन्त्रीको साथमा भौतिक विकास मन्त्री जितेन्द्र सोनल र संघीय समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादव, रामसहाय यादव, पर्साका प्रदीप यादव, बाराका प्रदेश सांसद पारस साह, फोरम पार्टीका जिल्ला सह इन्चार्ज शिवनाथ पटेललगाएतका थिए ।


प्रकाशित : वैशाख ८, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?