१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पौडेलले दोस्रोपटक विज्ञप्ति निकाल्दै भने, 'बालुवाटारको जग्गाबारे छानबिन होस्'

काठमाडौँ — नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारमा आठ आना जग्गा सम्बन्धित कार्यालयले प्रचलित कानुनअनुसार किन्न मिल्ने एकिन गरेकाले खरिद गरेको उल्लेख गर्दै यस सम्बन्धमा यथाशीघ्र थप छानबिन गर्न माग गरेका छन् । उनले छानबिनबाट आएका निष्कर्षहरु कार्यान्वयन गर्न पनि आग्रह गरेका छन्  । 

पौडेलले दोस्रोपटक विज्ञप्ति निकाल्दै भने, 'बालुवाटारको जग्गाबारे छानबिन होस्'

उनले राज्यको आधिकारिक निकायबाट हुने छानबिन र निष्कर्षहरुमा आफ्नो पूर्ण समर्थन रहने विज्ञप्तिमार्फत जनाएका छन् । '२०६१ पुस २९ गते काठमाडौं महानगरपालिका ४ बालुवाटारस्थित ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्याल्यले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजस्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँछु' पौडेलले जारी गरेको विज्ञप्तिमा छ ।


उनले बालुवाटारको कित्ता नं ३०९ को एक पैसा एक दाम र कित्ता नं ३१५ को ७ आना २ पैसा ३ दाम गरी कुल काठ आना जग्गाको सम्बन्धमा वास्तविकता ओझेलमा पार्ने गरी समाचार प्रकाशित भएको आरोप लगाएका छन् । 'सरकारी जग्गा हडप्ने दूषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु' पौडेलको विज्ञप्तिमा छ, 'मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने विषय हो ।'


पौडेलले उक्त जग्गा नवलपरासीको बर्दघाट-१० को पूर्वपश्चिम राजमार्ग नजिक रहेको श्रीमतीको नामको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त स्रोतबाट खरिद गरेको दाबी गरेका छन् । त्यसबेला आफू मन्त्री, सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको उल्लेख गरेका छन् । उनले सार्वजनिक जग्गा संरक्षण गर्ने, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारबाही गर्न सरकारले सञ्चालन गरिरहेको अभियानमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 'बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नामममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई म हार्दिक स्वागत र समर्थन गर्दछु' पौडेलले भनेका छन् ।


उनले यो जग्गाको सम्बन्धमा २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएदेखि नै आफूले सम्पत्ति विवरणमा उल्लेख गर्दै आएको बताएका छन् । पौडेलले जग्गा सम्बन्धमा जारी गरेको यो दोस्रो विज्ञप्ति हो । यसअघि पनि उनले यो जग्गाको विषयमा आफूले सम्बन्धित निकायले खरिद गर्न मिल्ने भनेकाले किनेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

प्रकाशित : वैशाख ६, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?