बारामा चट्याङले ६ जनालाई घाइते बनायो

लक्ष्मी साह

बारा — मंगलबार साँझ असिना–पानीसँगै आएको हुरीले फेटा गाउँपालिकाको कतिपय हुरी पीडितको टेन्ट उडाएको छ भने चट्याङले ६ जनालाई घाइते बनाएको छ । कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा ५ जना र वडा १ को पर्सा टोलमा १ जना घाइते भएका हुन् ।

बारामा चट्याङले ६ जनालाई घाइते बनायो

धर्मनगरको महल इँट्टा उद्योग रहेको घरमा चट्याङ पर्दा सोही उद्योगमा काम गर्ने मजदुरहरु घाइते भएका हुन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । चट्याङले घरमा आगोसमेत लागेपछि कलैयाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । यसरी हुरीले फेटा गाउँपालिका–१, भलुही भरबलीया, वडा ३ र ६ को क्रमशः पुरैनिया र गछीया टोलको दर्जन टेन्ट उडाएको वडा ६ पुरैनियाका वडाध्यक्ष जाकिर मियाँले बताए ।



‘हुरी र पानीले बसिनसक्नु बनाएको छ,’ उनले भने, ‘भीषण पानीले कतिको टेन्टमा पानी पसेको छ भने कतिपयको हुरीले टेन्ट नै उडाएको छ । रात कसरी काट्ने भन्ने चिन्ता छ ।’ उता वडा–१, भलुही भरवलीयाका वडाध्यक्ष जयप्रकाश दासले हुरीले ५/६ जनाको टेन्ट उडाएको बताए । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झनै विजोग भएको उनले बताए ।



टेन्ट उडाएपछि बालबालिका र महिलाहरुलाई बिच्चली भएको उनले बताए । दुई साताअघि आएको टोर्नेडोले घरविहिन बनाएपछि ऊनीहरु टेन्टमा बस्दै आएका थिए । गत चैत १७ मा आएको शक्तिशाली चत्रवातपछि एकाध दिन बिराएर हावाहुरी र असिनापानी पर्दै आएको छ ।



खाना पकाउने र खाने बेलामै हुरीसँगै असिनापानी पर्नाले पेटभरी खान पनि नपाएको उनीहरु दुःखेसो पोख्छन् । ‘दिउँसो टेन्टमा घामको रापतापले बस्न नसकिने र राती बस्ने भएपनि हुरीले उडाइदिने गरेपछि हाम्रो दिनचर्या कहालीलाग्दो भएको छ,’ फेटा–६, पुरैनियाका हुरी पीडित रेक्मा खातुनले भनिन्, ‘कहाँ जाऊ के गरु ?’


मध्य तराईको बारा, पर्सा, रौतहट, सर्लाहीमासमेत हावाहुरीसँगै मेघ गर्जनकासाथ असिनापानी परेकोले गहुँ र दलहन भित्रयाउन सिकसानहरुलाई समस्या भएको छ ।


प्रकाशित : वैशाख ३, २०७६ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?