१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पत्रकार पक्राउको विरुद्ध प्रदर्शन 

काठमाडौँ — समाचार लेखेका कारण साइबर अपराध सम्बन्धी कसुरमा पत्रकारलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाको पत्रकारहरुले विरोध गरेका छन् । प्रहरीले कास्कीबाट सञ्चालित ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

पत्रकार पक्राउको विरुद्ध प्रदर्शन 

अनलाइनमा प्रकाशित समाचारको विषयमा उजुरी परेको आधारमा उनलाई प्रहरीले पोखराबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।


अनलाइन पत्रकार संघको अगुवाईमा माइतीघरमा गरिएको प्रदर्शनमा प्रेससँग सम्बन्धित विभिन्न संघ संस्थाले साइबर अपराध सम्बन्धी ऐनको पत्रकारमाथि दुरुपयोग गरिएको भन्दै त्यसको खारेजीको माग गरे ।


पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी विपरीत पत्रकारमाथि धरपकड भइरहेको बताए । उनले साइबर अपराध सम्बन्धी ऐन पटक पटक पत्रकार विरुद्ध प्रयोग गरिनु गलत भएको भन्दै उक्त ऐनको खारेजीको माग गर्दै पक्राउ परेका पत्रकारलाई बिनासर्त तत्काल रिहाईको माग गरे । महासंघका महासचिव रमेश विष्टले पक्राउ परेका पत्रकार गिरी तत्काल रिहाई नभए देशैभर पत्रकारहरु प्रदर्शनमा उत्रिने चेतावनी दिए ।


प्रेस सेन्टरका गणेश बस्नेतले समाचार लेखेकै आधारमा पत्रकारहरुमाथि भइरहेको धरपकड रोक्न सरकारको ध्यानाकर्षण गराए । उनले यस्तो क्रम नरोकिए पत्रकारहरु थप आन्दोलित हुने उल्लेख गरे ।


प्रेस युनियनका सल्लाहकार शिव लम्सालले बैंकिङ्ग अपराध नियन्त्रणका ल्याइएको साइबर अपराध ऐनलाई सरकारले पत्रकारमाथि प्रयोग गरिरहेको प्रति विरोध गर्दै उक्त ऐन खारेजीको माग गरे ।

प्रकाशित : वैशाख ३, २०७६ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?